• ट्रेण्डिङ:

एस.ई.ई अफवाह र यथार्थ

एस.ई.ई अफवाह र यथार्थ

रोदिक खबर

२७, श्रावण २०७८
  • 9.5K
    SHARES
  • एस.ई.ई अफवाह र यथार्थ

    विश्वभर आतंक मच्चाइरहेको कोरोना कहरले देशको अवस्था अहिले भयावह भएको छ । विकसित, विकासोन्मुख तथा अल्पविकसित देशका धनी गरिव, शिक्षित अशिक्षित महिला तथा पुरुष र सबै तह र तप्काका व्यतिmहरु यसबाट अछूतो रहन सकेनन । यसले कलकारखाना, उद्योग व्यापार, अर्थ, पर्यटन, संघ संस्था तथा विद्ययालयहरु उत्तिकै धरासायी बनेका छन ।

    शैक्षिक संस्थाहरु त यती धरासायी बनेकी जसको क्षतीपूर्तिको लागि देशले लामो समय र ठूलो धनरासी व्यतित गर्नुपर्ने भएको छ । हरेक देशको अर्थतन्त्र त यति नाजुक भयो कि अब उक्त देशहरुले भिख माग्नुपर्ने अवस्था आउन लागेको छ । लाखौं विद्यार्थीहरुको भाग्य र भविष्यमाथि प्रश्नचिन्ह खडा भएको छ । यसले पार्न गएको शैक्षिक क्षतिलाई अंक गणितमा तुलना गर्न पनि मुस्किल भएको छ  ।

    गत सालदेखि नै प्रायः गरेर पठनपाठन कार्य सुचारु रुपमा हुन सकेन र थोर बहुत भएतापनि विषयवस्तुको ज्ञान तथा सिप भन्दापनि परीक्षामूखी मात्र भएको छ । त्यो पनि प्रयाप्त हुन सकेन । केहि शहर बजारमा जुम क्लाउडको माध्यमबाट भयो त्यो पनि सबै स्थानमा हुन सकेन । भएको पनि नेटको समस्या तथा विधुतीय अवरोधका कारण प्रभावकारी रहेन भन्ने वास्तबिकता छर्लङ भएको छ ।

    गत साल देखि नै राष्ट्रिय परीक्षा वोर्डले एसईई परीक्षा सम्वन्धित विद्यालयहरुले नै लिएर प्राप्त ग्रेडलाई बोर्डमा पठाउने निर्देशन जारी गरेपछि हरेक विद्यालयले सोही बमोजिम परीक्षा गरेर तथा ल्याकत परीक्षा गर्न अक्षम विद्यालयलहरुले अर्ध वार्षिक परीक्षाको आधारमा मूल्याङ्कनका अन्य साधनहरुको प्रयोग गरि भरपर्दो र विश्वसनीय नतिजा पठाएका थिए । यो साल पनि नियती त्यस्तै भैइदियो र गत सालको जस्तै गर्न गराउन परीक्षा वोर्ड तथा विद्यालयलहरु बाध्य भए ।

    केहि दिन अगाडि मात्र राष्ट्रिय परीक्षा वोर्डले विद्यालयलहरुले पठाएको ग्रेडको आधारमा यो वर्षको नतिजा सार्वजनिक गरेको छ । यो विषयमा विभिन्न सामाजिक संजालमा धेरै टिका टिप्पणी तथा बहस र दोहोरो अन्तरक्रिया भएका छन । यसमा खास गरी ब्यङरग, आलोचना, घोचपेच अन्तर विरोध तथा दोषारोपण जस्ता कुराले सन्जाल तताएको छ ।

    चिया गफमा कुरा सुन्न पाइन्छ फलानो विद्यालयलको त विद्यार्थी एकदम कमजोर थिए तर ल हेर्नुस त उसको विद्यालयलको त ४.० जिपिए पो आएछ, शिक्षकको हातमा परेको के बाँकी राख्थे भएभरको ग्रेड पो दिएछन् । यस्तै÷यस्तै अफवाहका रोइलोहरुले सञ्जालले माहौल तताएका छन् ।

    हामीले त यथार्थ नतिजा पठाएका थियौं थुइक्क पछि परियो अरुले जस्तो गरेको भए हुने रहेछ । अरु विद्यालयलले जस्तै जिपिए पठाएको भए तपाँईहरुको के जान्थ्यो भनेर केहि अभिभावकहरु पनि शिक्षकसँग आक्रोस पोखेको सुन्न भोग्न र देख्न समेत पाइयो । अझ केहि विद्यालयलहरुले त असंभव हुने जिपिए पठाएकोले नतिजा रोकिएको हो भन्ने जस्ता उडन्ते कुरा पनि सञ्जालमा देख्न पाइयो ।

    यी र यस्तै किसिमका अफवाहहरुले अहिले शिक्षक भएको नाताले केहि वास्तविकताहरु ओकल्न वाध्य बनायो । तपाईहरु तमाम आदरणीय अभिभावकहरु, बुद्धिजीवी तथा शिक्षा प्रेमीहरु, संचारकर्मी तथा सामाजिक अभियन्ताहरु अनि रातो दिन सामाजिक सञ्जालमा लाग्नु हुने व्यतिmत्वहरु अनि यूट्यूबर तथा टिकटकरहरु तपाईहरुको सूचनाको हकको विवकपूर्ण प्रयोग गर्नु भयो यसमा हामी तमाम शिक्षकको गुनासो छैन तरपनि हामी यति भन्न मात्र बाध्य भयौं कि मूल्याङकन पक्रिया एउटा नियमित प्रक्रिया हो । कुनै पनि विद्यार्थीको वर्षभरिको यथार्थ लेखाजोखा जावो तीन घण्टे परीक्षाले मात्र गर्न सक्छ भन्ने कुरामा हामी विस्वास राख्दैनौ.।

    कक्षा कोठामा अब्बल ठहरिएको विद्यार्थी परीक्षा हलमा सामान्य विरामीको कारण अथवा मनोवैज्ञानिक रुपमा कमजोर भएर तथा अन्य कारणवस हतोत्सायी बनेर लेख्न सकेन, अव के त्यो विद्यार्थी कमसल नै ठहरियो त ? त्यहि परीक्षाको आधारमा उ असफल बनेर एक वर्षको लागि पछि पर्दा उसको लागि न्याय भयो होला त ? पक्कै यो नियमसंगत काम भएन । हो निरन्तर मूल्याङ्कन प्रणालीको मूल ध्येय पनि यहि नै हो ।

    कुनै पनि कक्षाको अन्तिम परीक्षालाई नै सर्वोपरि ठानेर गरिएको मूल्याङ्कनले यथार्थ नतिजा कदापी दिन सक्दैन । विद्यालयलाई परीक्षाको जिम्मा दिदा पनि हचुवाको भरमा दिएको भने पक्के छैन । निश्चित मापदण्ड तोकेर त्यसको परिधि भित्र रही सहि कार्य गर्नको लागि निर्देशन भएको छ ।

    परीक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु जस्तो कक्षा कार्य, हाजिरी, व्यवहार परिवर्तन, परियोजना कार्य, सिर्जनात्मक कार्य, अनुशासन, सामाजिकरण, उसमा भएका प्रतिभाहरुको पहिचान, उसको उमेर, स्तर, तह, रुचि, इच्छा, आवश्यकता जस्ता हरेक पक्षको गहनतम अध्ययन गरेर तथा विद्यालयले लिएका आन्तरिक परीक्षाहरुमा उनीहरुको सहभागिता तथा प्राप्तांकको विश्लेषण जस्ता व्यापक मापदण्डहरुलाई समावेश गरेर भरपर्दो, विश्वसनीय बैध र सान्दर्भिक किसिमले नतिजा पठाएको कुरा यथार्थ हो यसमा सायद दूईमत छैन ।

    हामीले त्यतिमात्र ग्रेड दिएका थियौं जति हाम्रा विद्यार्थीले बहन गर्न सामथ्र्य राख्थे । हामीले अब्बल विद्यार्थीलाई पछि पार्ने कार्य पनि गरेनौ अनि अलि कम्जोर विद्यार्थीलाई पनि हिनताबोध हुने गरि तथा पछिका दिनहरुमा सुधार आउने बाटो नै बन्द हुने गरि अंकन गरेका थिएनौ र अब पनि गर्दैनौ किन कि हामी शिक्षकहरु सिकाउन मात्र होइन मूल्याङ्कन गर्न पनि आफूमा गतिम्लो सामथ्र्य राख्दछौं । हामी समाजका वकिल पनि हौ, सामाजिक अभियन्ता पनि हौ ।

    कोरोनाको कहरबाट मानसिक रुपमा विक्षिप्त भएका हाम्रा भविष्यका कर्णधार विद्यार्थीहरुलाई सामाजिक सञ्जालमा अफबाह तथ हावादारी गफ जोतेर परिश्रम विनाको फल जस्ता हिनतावोध हुने किसिमका फतुरहरु लेखेर उनिहरुको मानसिकतामा आँच आउने तथा मनोवैज्ञानिक असर पुग्ने किसिमका अभिव्यतिm ओकल्नु पक्कै पनि विवेकपूर्ण कार्य होइन ।

    यस्तो कुराले विद्यार्थीहरुको मात्र होइन तमाम शिक्षकहरुको क्षमता तथा कार्य कुशलतामा पनि प्रश्नचिन्ह खडा गरेको छ अनि मानहानी हुने काम भएको छ । हामी तमाम शिक्षकहरुको मान मर्दन भएको छ तथा पेशागत सक्षमतामा “अ” जोड्ने कुकाम भएको छ । विगत तथा आगतको कार्यअनुभवबाट हामी यो कुरामा विस्वास गर्न थालेका छौ की अवका दिनहरुमा विद्यालयबाट नै गरिने मूल्याङ्कनले चाहिँ बास्तबिक लेखाजोखा गर्न सक्दो रहेछ ।

    किनकी हामीले त पुस्तकरुपी विद्यार्थीको पन्ना पन्ना अध्ययन गरेका हुन्छौं । उसको बानी व्यवहार, स्वास्थ्य अवस्था चालचलन पारिवारिक अवस्था उसको हैसियत, रुचि, क्षमता, चाहना तथा उसमा भएको अन्तरनिहित क्षमताको पहिचान गरिसकेका हुन्छौं र उसको भविष्यको संभावना पनि देखेका हुन्छौं ।

    हुन सक्छ यसको कार्यान्वयन पक्षमा कहि कतै कुनै विद्यालयबाट झिना मसिना कमी कमजोरी पनि भए होलान तर यो पक्ष गौण रहन्छ यसैलाई गोलमटोल रुपमा पस्किनु भने हुदैन । विद्यालयलाई यो कामको जिम्मा दिनु भनेको एउटा त कोरोनाको माहामारीको संभावित खतराको रोकथामको कुरा थियो भने अर्को कुरा शिक्षकको पनि मूल्याङ्कन क्षमता माथिको कसी लाउनु पनि हो । हाम्रो लागि यो चुनौतिको विषय पनि थियो, हामी आत्तिएका पनि थियौ यत्रो जिम्मेवारीको भारलाई कसरी सुरक्षित तवरले अवतरण गर्ने होला भनेर । तर यसमा हामी सहि नतिजा दिने कुरामा कटिबद्ध थियौ र त्यसै गर्याैं ।

    कदाचित बिचलित भएनौ अनि पानी र दुधको शुद्धताको लागि हामीले ल्याक्टोमिटर बनेर काम गरर्यौं । यो हामी समस्त शिक्षकहरुको साझा धारणा र विवेक हो भन्दा सायद अतिसयोक्ति नहोला ।

    आगामी दिनहरुमा यस्ता खाले अभिव्यक्ति सञ्जालमा छरपष्ट बनाएर शिक्षकको मानमर्दन, विद्यार्थीको मनोवल तथा मानसिकतामा दरार अनि समस्त शैक्षिक प्रणाली माथि नै आँच आउने किसिमका अभिव्यक्ति दिएर आफ्नो विद्धताको खिलाप गर्नु हुने छैन । जय शिक्षा,जय शिक्षक जय विद्यार्थी । (लेखक  खत्री भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका शिक्षक हुन्) 

    प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १६:४५:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको