खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राई मृत फेला परेकी छन्।
साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शनिबार राति करिब ८ः३० बजे घरदेखि करिब ५० मिटर पूर्व रहेको छागें खोलामा मृत फेला पारेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार राई शनिबार अपराह्न घरबाट निस्किएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षक किशोरकुमार हजारी थारुको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई खोलाबाट सुरक्षित रूपमा निकालेर मृतकको घरमा राखेको जनाएको छ।
प्रहरीका अनुसार शवको मुचुल्का, पोस्टमार्टमलगायत आवश्यक कानुनी प्रक्रिया आइतबार (आज) गरिने जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।