• ट्रेण्डिङ:

खोटाङ कांग्रेसमा अधिवेशनलाई लिएर रोजन राईको अपिल :

‘असोज ३ को होइन, १५ गतेको प्रक्रियामा सहभागी बनौँ’

‘असोज ३ को होइन, १५ गतेको प्रक्रियामा सहभागी बनौँ’

रोदिक खबर

२, आश्विन २०८३
  • 6.3K
    SHARES
  • ‘असोज ३ को होइन, १५ गतेको प्रक्रियामा सहभागी बनौँ’

    खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि खोटाङ जिल्ला संयोजक रोजन राईले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आधिकारिक निर्णय र निर्धारित कार्यतालिकाअनुसार अघि बढ्न अपिल गरेका छन्।

    शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत राईले पार्टीभित्र देखिएको विवाद, असन्तुष्टि र बेमेलका कारण नेता–कार्यकर्तामा अन्योल सिर्जना भएको भन्दै संयमता, धैर्यता र लोकतान्त्रिक संस्कारका साथ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका हुन्।

    राईले १५औँ महाधिवेशन सफल बनाउन खोटाङ जिल्ला अधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी आफूलाई प्रदान गरिएको जानकारी दिँदै जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्व, केन्द्रीय कार्यसमिति, महाधिवेशन तयारी समिति तथा खोटाङका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

    विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक विवाद तथा केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समेत पार्टीभित्र विभिन्न गतिविधि अघि बढाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

    यस्तो अवस्थामा १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्नु वैधानिक तथा राजनीतिक दायित्व भएको राईको भनाइ छ।

    उनले पार्टीको आधिकारिक निर्णय, निर्देशन र निर्धारित कार्यतालिकाअनुसार संगठनका गतिविधि अघि बढाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

    अनधिकृत रूपमा आयोजना हुने अधिवेशन वा गतिविधिका नाममा भ्रमित नहुनसमेत उनले अपिल गरेका छन्। राईले पार्टीभित्रको वर्तमान परिस्थितिको सामना आवेग, उत्तेजना, गालीगलौज वा आरोप–प्रत्यारोपबाट नभई संयमता, धैर्यता, आत्मीयता र सत्यका आधारमा गर्नुपर्ने बताएका छन्।

    उनले खोटाङका नेता, कार्यकर्ता, सहयोद्धा तथा सहकर्मीलाई उत्तेजना र क्षणिक राजनीतिक लाभका लागि विभाजनकारी गतिविधिमा नलागी संगठन निर्माण र १५औँ महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरेका छन्।

    ‘हाम्रो लक्ष्य व्यक्ति होइन, सुदृढ संगठन निर्माण हो। हाम्रो शक्ति विवाद होइन, एकता र लोकतान्त्रिक मूल्य हो,’ राईले विज्ञप्तिमा भनेका छन्, ‘कुनै पक्षलाई कमजोर बनाउनु होइन, नेपाली कांग्रेसलाई थप सुदृढ, संगठित र लोकतान्त्रिक बनाउँदै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो उद्देश्य हो।’

    राईले संयमता, एकता, आत्मीयता र लोकतान्त्रिक संस्कारका साथ नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन सबैमा आह्वान गरेका छन्।

    प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - २०:४७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको