शनिवार, कार्तिक १५ गते २०८३

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न खोटाङ यातायातको आग्रह, जोखिम नमोल्न यात्रुलाई अपिल

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न खोटाङ यातायातको आग्रह, जोखिम नमोल्न यात्रुलाई अपिल

रोदिक खबर

१५, कार्तिक २०८३
  • 267
    SHARES
  • सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न खोटाङ यातायातको आग्रह, जोखिम नमोल्न यात्रुलाई अपिल

    खोटाङ । अविरल वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो जाने, सडक कटान हुने तथा यातायात अवरुद्ध हुन सक्ने जोखिम बढेपछि खोटाङ यातायात प्रा.लि.ले यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

    अस्ति रातिदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत नेपालथोक–मंगलटारको भकुण्डेबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको, हलेसीको बैयक्तामा लेद झरेको जानकारी प्राप्त भएको जनाउँदै खोटाङ यातायातले खोटाङ जिल्ला जोड्ने तथा जिल्लाबाट बाहिरिने अन्य विभिन्न सडकखण्डमा समेत जोखिम बढेको जनाएको छ।

    वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाने, सडक कटान हुने तथा यातायात सञ्चालनमा अवरोध आउन सक्ने सम्भावना रहेकाले खोटाङ आउने र खोटाङबाट अन्यत्र जाने यात्रुलाई सम्बन्धित सडकको पछिल्लो अवस्था तथा यातायात सञ्चालनबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङले बताए ।

    खोटाङ यातायात प्रालिका महासचिव हिङमाङका अनुसार सडकको अवस्था नबुझी यात्रा गर्दा यात्रुहरू बीच बाटोमै अलपत्र पर्नुका साथै मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

    उनले यात्रु, सवारीधनी तथा चालक सबैलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै अनावश्यक र जोखिमपूर्ण यात्रा नगर्न तथा अरूलाई पनि जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेका छन्।

    प्रकाशित मिति :कार्तिक १५, २०८३ शनिवार - ११:५७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको