उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११, संगम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको स्कुटरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको हो।
प्रहरीका अनुसार शनिबार बेलुका ८ः५० बजे प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको थियो। उपचारका क्रममा सोही दिन राति ९ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक कार्कीको शव जिल्ला अस्पताल, उदयपुरको शवगृहमा राखिएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की निवासी २३ वर्षीय दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।