खोटाङ । सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा खोटाङका तीन किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये सुमो चालकसहित दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट आइतबार बिहान करिब २ः३० बजे सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राई, सोही वडाकी १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ की १६ वर्षीया स्वस्तिका विक रहेका छन्।
प्राप्त विवरणअनुसार, दुर्घटनामा घाइते भएका तीन महिलालाई बिहान ७ः४५ बजे गोलन्जोर गाउँपालिकास्थित ग्वालटार आधारभूत अस्पताल पुर्याइएको थियो। चिकित्सकले बिहान ८ बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।
सुरुमा एक जनाको मात्रै पहिचान खुलेकोमा थप दुई जनाको पहिचान आइतबार दिउँसो खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
दुर्घटनामा सुमो चालक आशिष विक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई गम्भीर घाइते भएका छन्। सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का १३ वर्षीय अंकित विक पनि घाइते भएका छन्।
घाइते शिवानी र अंकित बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ। चारै जना घाइतेलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ। दुर्घटनाको कारण बारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।