खोटाङ । खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार बाँदर खेदाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लागेर ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।
मंगलबार दिउँसो टाउकोमा गोली लागेका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट खार्मीबाट प्रहरी सहायक हवल्दार विक्रम रायको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न भनिएका भलबहादुर तामाङलाई नियन्त्रणमा लिनुका साथै भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको छ।
मृतकको शव घटनास्थलमै रहेको र घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक बस्नेतको कमान्डमा छ जनाको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।