खोटाङ । दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको आयोजनामा सञ्चालन गरिएको माध्यमिक विद्यालयस्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा अभिषेक आचार्य प्रथम भएका छन्। ‘सांस्कृतिक विविधताको संरक्षणमा युवाको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा नम्रता दाहाल द्वितीय र रोजिना कठायत तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रतिष्ठानले नगदसहित प्रमाणपत्र प्रदान गरेको छ। प्रतिष्ठानले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमश: ३ हजार, २ हजार र १ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको दाहाल प्रतिष्ठान शाखा समिति खोटाङका अध्यक्ष लीलाबहादुर दाहालले जानकारी दिए।
प्रतियोगितामार्फत युवापुस्तामा नेपाली समाजको सांस्कृतिक विविधताप्रतिको चेतना अभिवृद्धि गर्ने, मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा युवा पुस्ताको भूमिका उजागर गर्ने तथा विद्यार्थीहरूको सिर्जनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा ६ जना विद्यार्थीहरू सहभागी रहेको मूल्याङ्कन समितिका संयोजक नइन्द्र कुमार दाहालले जानकारी दिए ।