शुक्रवार, भाद्र २६ गते २०८३

सांस्कृतिक र प्राकृतिक सुन्दरताको केन्द्र सालपा सिलिचुङ (फोटो फिचर)

सांस्कृतिक र प्राकृतिक सुन्दरताको केन्द्र सालपा सिलिचुङ (फोटो फिचर)

रोदिक खबर

९, भाद्र २०७९
  • 5.7K
    SHARES
  • सांस्कृतिक र प्राकृतिक सुन्दरताको केन्द्र सालपा सिलिचुङ (फोटो फिचर)

    खोटाङ । साल्पा–सिलिचुङ सांस्कृतिक र प्राकृतिक सुन्दरताको दृष्टिले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं. ५ रहेको साल्पा पोखरी र सिलिचुङ भोजपुरको सबैभन्दा अग्लो चुचुरो हो । साल्पापोखरी सिलिचुङको बेस क्याम्प हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको छ । भने सिलिचुङ ४ हजार १ सय ५३ मिटरको उचाइमा अवस्थित छ । 

    Salpa pohari1.jpg

    यस क्षेत्र भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङ जिल्लाको सँगमस्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलको रूपमा परिचित छ ।  सिलिचुङ चुचुरो भोजपुर र संखुवासभा जिल्लाको सिमाना अवस्थित छ । जहाँबाट उत्तरतर्फ मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आँखैमा टाँसिन्छ । 

    salpa4.jpg

    यस्तै दुधकोसी, ल्होत्से, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमश्रृंखला सजिलै देख्न सकिन्छ ।  दक्षिणतर्फ साल्पापोखरी र सोलुखुम्बु, संखुवासभा, भोजपुरका गाउँघरहरू छाङै देखिन्छन् । भोजपुर र सखुवासभा भई बहने नेपालको कै ठूलो अरुण नदीले बनाएको उपत्यका तथा फाँटहरू लमतन्न परेका देख्न सकिन्छ । यसै गरी मकालुबरुण राष्ट्रिय निकुञ्जलाई सहजै निहाल्न सकिन्छ ।

    Salpa pohari4.jpg

    सिलिचुङमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदयको समयमा अरुण उपत्यका क्षेत्रमा कुहिरोको मनमोहक दृश्य देख्न सकिन्छ । यस समयमा सिलिचुङ क्षेत्र खुल्ला, सफा हुन्छ भने अरुण उपत्यका क्षेत्र कुहिरोले ढाकिएको हुन्छ । सूर्योदयसँगै बिस्तारै हराउँदै गएको दृश्यहरू देखिन्छ ।

    sa.jpg

    दिनमा सिलिचुङ चुचुरोको छाया साल्पापोखरीमा देख्न सकिन्छ  । यस क्षेत्रको यात्रामा सयौँ प्रकार फूल तथा चराचुरुङ्गी देख्न सकिन्छ । भने विभिन्न रङका राष्ट्रिय फूल गुराँसले बाटोहरू ढपक्कै ढाँकेको हुन्छ ।  साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ । त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्वपूर्ण छ ।

    साल्पा पोखरीलाई किरात, हिन्दु, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ । जहाँ भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा मेला लाग्छ । यस समयमा धामी झाँक्रीको बाक्लो चहलपहल हुन्छ । विशेष गरी धामीझाँक्रीहरु आफ्नो शक्ति र ज्ञान आर्जन गर्न आउने गर्छन् । साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ ।

    salapa3.jpg
    यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ ।

    यस्तै तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन् । पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन् । पूजा अर्चना गर्छन् ।  साल्पापोखरीमा आफ्नो भाकल पुरा गर्न विशेष गरी परेवा उडाउने चलन छ । यी चार जिल्लामा साल्पापोखरीको दर्शनले आफ्नो मनोकामनाहरू पुरा हुने विश्वास समेत गर्छन् । र समाजमा पुरा भएको थुप्रै उदाहरणहरू रहेको समेत बताउँछन् ।

    मेलाको समयमा बाहेक यस क्षेत्रमा चहलपहल शून्य रहन्छ । पछिल्लो समय ‘मुन्दुम ट्रेल’को केन्द्रबिन्दु रूपमा विकास भएसँगै चहलपहल थप वृद्धि भएको छ । सांस्कृतिक सँगै प्राकृतिक दृश्य अवलोकनको लागि प्रसिद्ध बन्दै गएको छ ।

    salapa1.jpg

    एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा चढ्न जाँदा यही मार्ग प्रयोग गरेका थिए । भने द्वन्द्वकालीन समयभन्दा अघि यही क्षेत्रको बाटो प्रयोग गरे अधिकांश विदेशी पर्यटकहरू सगरमाथा जाने गर्दथे । अहिले पनि न्यून संख्यमा भएपछि विदेशी पर्यटक आउने गर्छ ।

    प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १७:१६:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको