खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले बुधवार जिल्लाका सरोकारवालहरुसँग दिक्तेलमा कार्यशाला गोष्ठीको आयोजना गरेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।
निर्वाचन कार्यालयका अनुसार फागुन २२ गते कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, फागुन २३ गतेदेखि २५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने कार्य तालिका रहेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।
यस्तै, फागुन २३ गतेदेखि २६ गतेसम्म बसाइसरी अन्यत्र गएका, मृत्यु भएका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीसँग लिने, फागुन २३ गतेदेखि २७ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त विवरणको आधारमा बसाइसरी अन्यत्र गएका, मृत्यु भएका मतदाताको हकमा जाँचबुझ गरी हटाउने, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने जनाइएको छ ।
यस्तै, फागुन २६ गतेदेखि २७ गतेसम्म कुनै मतदाता बसाईसरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने, फागुन २७ गतेदेखि २८ गतेसम्म सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा परेका उजुरी र मतदाताले दिएको सफाइको आधारमा मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने जनाइएको छ ।
यस्तै, फागुन २८ गते सम्बन्धित प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा परेका निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, फागुन २९ गते त्रुटि सच्याइएको र नाम हटाइएको सूचना निर्वाचन कार्यालयमा प्रकाशन गर्ने र फागुन ३० गतेदेखि चैत १ गतेसम्म फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।
प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमख तथा प्रतिनिधि, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष,सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
