खोटाङ । विदेश पुगेका छोराले पसिना बगाएर जोगाएको पैसा पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी गीता आचार्यलाई विदेशबाट आउने रेमिट्यान्सलाई सही र उपलव्धिमूलक काममा लगाउने वित्तिय ज्ञानको अभाव थियो । योजनावद्ध खर्च गर्ने र बचत गर्ने ज्ञानको अभावमा हात परेका रेमिट्यान्स घर खर्चमै सकिन्थ्यो । तर, गाउँमै सञ्चालन भएको २८ हप्ते वित्तिय साक्षरता कक्षामा सहभागी हुने अवशर पाएपछि भने छोराले पठाएको रेमिट्यान्सलाई सुरक्षित तरिकाले बुझ्ने र त्यसको उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकास भएको गीताले बताईन् ।
वित्तिय साक्षरताकै ज्ञानका कारण गीताले हाल रेमिट्यान्सलाई जोगाएर तरकारी खेती लगाएकी छन् । उत्पादित तरकारी दिक्तेलमै लाग्ने साप्ताहिक हाटमा बिक्री गर्ने गरिएको गीता बताउँछिन् । विदेशबाट आउने पैसालाई बचत गर्दै आयआर्जनका क्षेत्रमा खर्च गरेर दिगो आम्दानीको श्रोतका रुपमा सदुपयोग गर्ने सीप सिक्यौँ, उनले भनिन्, ‘पहिला घरबाट पैसा लिएर बजार जाथ्यौं, अहिले सागसब्जी बिक्री गरेर बजारबाट पैसा लिएर आउँछौँ ।
वित्तिय साक्षरता कक्षामा सहभागी बनेपछि विदेशबाट हात परेको विप्रेषणको आम्दानी र खर्चको हिसाब राख्ने, बचत गर्ने तथा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने उपाय बारे जानकारी भएको दिक्तेल आचार्य टोलकी रेनुका आचार्यले बताईन् । ‘पहिला लुटी ल्यायो भुटी खायो गथ्र्यौँ, अहिले श्रीमानले बिदेशबाट पठाएको पैसालाई बचत गर्ने बानीको विकास भएको छ । तरकारी खेती, खसी बाख्रा पालन सुरु गरेका छौँ ।
गाउँमा बित्तिय साक्षरता कक्षा चलाइएपछि बैदेशिक रोजगारीमा संलग्न आचार्य टोलका २६ परिवारले रेमिट्यान्सलाई किराना पशल, तरकारी खेती, कुखुरा, बाख्रापालन लगायतका उत्पादनमूलक काममा लगाउन थालेका छन् । बचत, ऋण, बजेट, आम्दानी, खर्च एबं बिप्रेषणका विषयमा जानकारी भएपछि अधिकांश महिला गोलभेँडा, सिमी, बोडी, काँक्रा, फर्सी, खुर्सानी लगायतका कृषिजन्य खेतीबाट गाउँमै स्वरोजगार बनेका छन् ।
साउदीमा श्रीमानले कमाएको थोरै रकमको लगानीमा स्थानीय दिपा आचार्यले बेमौसमी मुला खेतीबाट मात्रै ४५ हजार आम्दानी गरेको बताईन् । बर्ष दिनदेखि दुबईमा श्रीमान टिकाराम रिजालले पसिना बगाइरहेका बेला गाउँमा श्रीमती अनिता रिजाल टनेलभित्र गोलबेँडा, सिमी, फर्सी लगायतका खेतीमा रमिरहेकी छन् । बिदेशबाट आउने रकमको उचित ठाउँमा प्रयोग हुन नसक्दा निम्तिइरहेका पारिवारिक, सामाजिक, साँस्कृतिक र आर्थिक समस्यालाई ध्यानमा राखेर सुरक्षित आप्रवासन परियोजना र बालसेवा समाज नेपालको सहकार्यमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको हो । वित्तीय साक्षरता कक्षा पछि उनीहरुले विदेशबाट भित्रिएका रेमिट्यान्स र अन्य श्रोतबाट आएको रकमको दैनिक हिसाव–किताव पासबुकमै लेखेर राख्न थालेका छन् ।
बैदेशिक रोजगारमा संलग्न महिलालाई सम्पन्नता प्राप्तिको उपाय, परिवार व्यवस्थापन, वित्तिय लक्ष्य निर्धारण, बजेटको परिचय, विप्रेषणको परिचय, बचतको उपाय र तरिका, व्यवसायिक योजना, आर्थिक संमृद्धि प्राप्तिका लागि वित्तीय अनुशासन लगायतका विषयमा जानकारी गराइएको वित्तीय साक्षरता कक्षा सुरु गरिएको साक्षरता कक्षाका सहजकर्ता मिनप्रसाद आचार्यले बताए । ‘बैदेशिक रोजगारका संलग्न परिवारलाई बचत, ऋण, बजेट, आम्दानी, खर्च एबं विप्रेषणका विषयमा जानकारी दिइएको छ, आचार्यले भने, ‘हात परेको विप्रेषणलाई संरक्षण एबं त्यसलाई उत्पादनमूलक लगानीमा प्रयोग गर्ने ज्ञान सबैमा हुन जरुरी छ ।