खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि क्षेत्रमा देखिएको बाँदर आतंकलाई न्यूनीकरण गर्न विशेष कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
१५औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख तीर्थराज भट्टराई ले कृषि क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको बाँदर नियन्त्रणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार किसानले उत्पादन गरेको बाली बाँदरले नष्ट गर्ने समस्या समाधान गर्न बाली हेरालु परिचालन गरिनेछ। साथै छिमेकी पालिका, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन योजना बनाएर बाँदर समस्या न्यूनीकरणको अभियान अघि बढाइनेछ।
नगरपालिकाले “खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा” भन्ने नारासहित किसानको घरदैलोमै प्राविधिक सेवा पुर्याउने, उन्नत बीउबिजन वितरण गर्ने तथा एकीकृत घुम्ती कृषि शिविर सञ्चालन गर्ने जनाएको छ।
“किसान, तपाईंलाई के चाहिन्छ ?” कार्यक्रममार्फत कृषकका आवश्यकता पहिचान गरी सेवा प्रवाह गरिने नीति लिइएको छ।
कृषि उत्पादन वृद्धि तथा व्यवसायीकरणलाई प्राथमिकता दिँदै प्याज, बेसार, अदुवा, लसुन, अकबरे खुर्सानी, तोरी र मह उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमलाई विस्तार गरिने भएको छ।
नगरपालिकाले कफी खेती विस्तार, माटो परीक्षण, बाली उपचार, जैविक विषादी प्रवर्द्धन, बीउ संग्रहालय स्थापना तथा डिजिटल किसान परिचयपत्र वितरणका कार्यक्रमसमेत अघि सारेको छ।
कृषिमा युवालाई आकर्षित गर्न वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक कृषकका रूपमा विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ भने सामूहिक खेती, कृषि यान्त्रीकरण र सहज कृषि कर्जालाई पनि प्राथमिकता दिइने भएको छ।
नगरपालिकाले सुन्तला, एभोकाडो, कागती, किवी लगायत फलफूल उत्पादन वृद्धि तथा बजारीकरणमा जोड दिने, कृषकका उत्पादन ढुवानीका लागि साधन उपलब्ध गराउने र कृषि बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड ७३ लाख ६४ हजार १४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित बाँदर नियन्त्रणदेखि बजारीकरण सम्मका कार्यक्रम समेटिएको नगरपालिकाले जनाएको छ।