भरत धमला
कृष्ण काकाले फोन गर्नुभयो दिक्तेलबाट । के छ केटा खबर ! कुशलक्षेमपछि मलाई सोध्नुभयो बिहीबार १० गते तेरो फुर्सद छ कि छैन । म फुर्सद र बेफुर्सदको दोधारमा थिएँ । जागिर बिसाएको चारवर्ष भइसकेको थियो । झापामा बा भाइबुहारीसंग बस्नुहुन्छ । बेलामा घरगृहस्थी व्यवस्थित गर्दै स्वास्थ्यको विशेष ख्यालगर्ने ध्यानै भएन बालाई । वार्धक्य जीवनमा आधा दर्जनजति रोगले गाँजेको छ । पहिले साह्रै तेजिला फूर्तिला थिए हाम्रा बा । अहिले गुँथेको आँटाजस्तै नरम भएका छन् । आमा बितेपछि त आमाको माया पनि बातिरै खप्टिएको छ । साह्रै मायालाग्दा भएका छन् । एकछिन छोड्न मन लाग्दैन । बेफुर्सदिलोपन यही हो मेरो अहिलेको ।
तर कृष्ण काकाले कुनै विशेष कारणले नै मलाई फोन गर्नुभएको हो भन्ने मैले ठम्याएँ । काका भन्नु न । तपाईंका लागि म समय निकालि हाल्छु नि । काकालाई फोनमा भने । म अरुलाई पनि भन्न सक्थें । तर मेरोसाथ तैंले बुझ्न सक्छस् भनेर तँलाई संझेको हो । काकाले विषयलाई लम्ब्याउनु भयो । लेखक पत्रकारको विशेषता हो यो शायद । मैले कुरो बुझेजस्तो गरें । म नौ गते आउँछु । तेरोमा बस्छु । भोलिपल्ट मैले शान्तिनगर पुग्नुपर्ने छ । पचपन्न वर्षअघि त्यहाँको शान्ति आदर्श माविमा अध्यापन गरेको थिएँ पाँच वर्षजति । मलाई सम्मान गर्न बोलाएका छन् । तेरो साधनमा मलाई लैजा है । काकाले कुरो छर्लङ्ग पार्नुभयो । म खुसी नहुने कुरै थिएन । लु काकरभित्ताको गाडीमा आउनु । म तपाईंलाई स्वागत गर्न तयार छु भनेर फोन राखें ।
नियत समयमा काका आइपग्नु भयो साँझतिर । मैले मेरो सानो बिजुली खिरखिरेमा राखेर घर ल्याएँ । एकहत्तर वर्षका सानो कदकाठीका चार भाइ र पाँच छोरीमध्येका कान्छा कृष्ण काका । सत्र घण्टाको लामो उबडखाबड बाटोको बसको यात्रा । अनुहार मलिन देखिएपनि बोलीको ओज उस्तै । बा बसेको मूलघरमै काकालाई खाना खुवाए साहिला साहिलीले । मीठो त वचनप्रेममा हुन्छ । काका उहिले त्यसै भन्नुहुन्थ्यो ।
पुरानो खाइखेली गरेको थलो । हाम्रा बा काकाहरु सबै कृष्ण काकाका दाजु । सबै वृद्धावस्थाका । बिहानै उठेर स्नानध्यानपछि सबैलाई भेट्नु भयो । समयले गरेको शारीरिक, भौतिक परिवर्तनका कुरा भए । हाम्रो बाले दिक्तेलको अचार्ज कान्छो भाइ भनेपछि चिनेजस्तो गरेर टाउको हल्लाउनु भयो । अरु काका काकीहरु भतिजा भतिजी, नातिनातिनाहरुसंग पनि एकछिन गफिनु भयो । चन्द्रगढी बस्ने तारा पौडेल(साहित्यिक नाम तारा विविध, मेची क्याम्पसका पूर्व प्राध्यापक) लाई भेट्न जानुभयो । वहाँको माताजी कृष्ण काकालाई देखेर औधी खुसी हुनुभयो । शान्तिनगर बस्दाको पुरानो हित्तचित्त मिलेको मान्छे । आज कृष्ण यतै बस । धेरै गफ गरौंला भन्नुभयो । काकालाई साढे एघारबजेको सम्मान कार्यक्रममा पुग्नुपर्ने थियोे । सोही व्यहोरा कहनु भयो । चियापानपछि हामी शान्तिनगर लाग्यौं । म कृष्णको सारथि हुन पाएकोमा पुलकित थिएँ ।
हामी चन्द्रगढीबाट चारआली हुँदै धुलाबारीबाट उत्तर लाग्यौं । उहिले यो गोरेटो मात्रै थियो । हुनेखाने घोडामा हिड्थे । हामी पैदलै जान्थ्यौं शान्तिनगर । हाम्रालागि झापाको कर्णाली नै थियो । अहिले बाटो पीच भएछ । यातायातका साधन पनि बग्रेल्ती पाइने । काकाले भन्नु भयो । आमाको दुःख बारेकाले मेरो बिहानको खानपिनको पीर गर्नुभयो । मैले तपाईंले खाने ठाउँमा रोटीदुध खाउँला भने । साढेदस बजेतिर हामी शान्तिनगर पुग्यौं ।
पुरानो विद्यालय, केही पुराना शिक्षक मित्रहरू र बासिन्दाहरु बाहेक सबै नयाँ । बीस वर्षमा खोलो त फर्किन्छ भन्छन् । काका त शान्तिनगर छोडेको पचास वर्षपछि जानु भएको । धेरै परिवर्तन देख्नु भएछ । शान्तिनगरमा पानीको दुःख थियो । टिमाइ खोलाको भर थियो । खेतबारी आकाशे भरमा भरिला हुन्थे । अहिले बाह्रैमास हरिलाभरिला भएछन् । पानीझरीले बिगार्न नसक्ने बाटा बनेछन् । भात, चियानास्ता खाने होटल थिएनन् ।
अहिले होटल, रेस्टुरेन्ट र होमस्टे पनि सञ्चालनमा रहेछन् । विकास, प्रगतिमा खुसी नहुने को छ र ! हामीले नजिकैको होटलकम रेस्टुरेन्टमा इच्छामाफिकको भोजन खायौं । काकाले त्यहाँका साथीभाइलाई दुःखदिन खोज्नु भएन । होटलवाला स्थानीय नै रहेछन् । तिनले पुरानो कायाकैरन् निकै कथे । काका ति मानिससंग रंगिनु भयो एकछिन ।
अनि पुराना शिक्षक साथीहरू को को छन् शान्तिनगरमा भन्ने जिज्ञासा तिनै साहुजीले मेटाइ दिए । पुराना एक दर्जनजति शिक्षक साथीहरू अझै शान्तिनगरमै बस्छन् भन्ने जानकारी पाएपछि साथीहरूको नाम संझन थाल्नुभयो काकाले । तिमध्येको त्यहीँ बस्दै गर्नुभएका रंग दाहाल सरको नाम आयो । ओहो, लु तिनलाई भेटी हालौं त भन्दै साहुजीलाई घरको दिशा सोधेर हामी त्यतै लाग्यौं । सम्मान कार्यक्रम हुने विद्यालय पनि त्यतै पर्दोरहेछ ।
ठूला लिचीका बोट रहेछन् रंगसरको घर अगाडि । बाटो मास्तिरको काठले तलोछापेको पुरानो कलात्मक घर । अझ भनौं वातावरणमैत्री घर । रंग सर घरमै भेटिनु भयो । गुरुमा पनि । पचास वर्षपछिको आत्मिय भेट कुशलक्षेम । रंगसर पनि कृष्ण काकासंगै सम्मानित हुनुहुने रहेछ । २०२७ सालदेखि २०३३ सालसम्म सो विद्यालयमा अध्यापन गरेका आठजना शिक्षकहरुलाई वार्षिकोत्सबको अवसर पारेर सम्मान गर्ने कार्यक्रम रहेछ । लु उतै गफ गरौंला । जाउँ विद्यालयतिर । रंग सरले हामीलाई विद्यालयतर्फ डोहोर्याउनु भयो । विद्यालय पुरानै भएपनि नयाँ बाटो खुलेछ । फराकिलो । गाडी गुड्ने । हामी खुरुरु ओरालो झर्यौं र विद्यालय प्राङ्गणमा पुग्यौं । बीचमा अरु दुईजना पुराना मित्रहरू पनि थपिए ।
विद्यालय परिसर मनभावन थियो । ठुलो प्रवेशद्वारमा रातो रंगको बेगमबेली फूल छपक्कै फूलेको । वरिपरि अरु जातजातका फूलहरु फूलेका । विद्यालयको खेलमैदान सल्लाका रुखहरुले घेरिएको । शिक्षक विद्यार्थीहरुको बाक्लो उपस्थिति । सबै आ–आफ्नो जिम्मेवारीमा व्यस्त । विद्यार्थीमध्येका कोही बेग्लै रंगीन परिधानमा पनि देखिए । सांगीतिक कार्यक्रम पनि रहेछ भन्ने लाग्यो । ठूलो फराकिलो पक्की मञ्च बनाइएको रहेछ । आगन्तुक दर्शक बस्नका लागि टेन्ट टाँगिएको । हामी त्यतै गयौं । प्रधानाध्यापकले हामीलाई न्यानो स्वागत गर्नुभयो । सम्मानित हुने पूर्व शिक्षकहरु, पूर्व विद्यार्थीहरु, समाजसेवी, लव्धप्रतिष्ठित व्यक्तित्वहरु, शिक्षाप्रेमी, अभिभावक, शिक्षक विद्यार्थीहरु गरि करिब चार/पाँचसय जतिको भेला थियो ।
सञ्चारकर्मी लेखक पत्रकार चन्द्र भण्डारी, प्राध्यापक सञ्चारकर्मी शिरोमणि खतिवडा (शिरु सान्दाई) पूर्व दुग्ध विकास संस्थानका महाप्रबन्धक गोपाल तिम्सिनाको पनि उपस्थिति थियो । वहाँहरु सबै सोही विद्यालयका विद्यार्थी हुनुहुँदो रहेछ । सबै एकआपसमा गफिनु भयो । पचास वर्षका पदचापहरु संझनु भयो । समयका बिम्बहरुमा रंगिनु भयो । कृष्ण काकालाई एकहत्तर वर्षपछि देख्दा सबै छक्क परे । बालकृष्ण अब प्रौढतातिर लम्कदै गरेको । धेरैले आँखा मिचे । कतिले चस्मा पुछे । सिरो सान्दाइ तीनछक्क पर्नुभयो । हाइटमात्रै उत्रै । अरु सबै रुपान्तरित ।
सम्मान कार्यक्रम विजय खतिवडा सरले सञ्चालन गर्नुभएको थियो । स्वागत नृत्य, स्वागत मन्तव्य, शैक्षिक पुरस्कार स्थापना गर्ने शिक्षासेवीलाई सम्मान र स्थानीय लेप्चा भाइबहिनीको सामुहिक नृत्यपछि पूर्व शिक्षकहरुलाई सम्मान कार्यक्रम शुरु भयो । सम्मानले सम्मानित व्यक्तित्वलाई उर्जा दिन्छ । सम्मान गर्नेलाई कृतज्ञता र दर्शकलाई प्रेरणा । वि.सं. २०१२ सालमा जन्मनु भएका पूर्व शिक्षक कृष्ण आचार्य २०२७ सालमा शिक्षक नियुक्ति हुँदा जम्मा पन्ध्र वर्षको हुनुहुन्थ्यो । कति पढ्नु भएको थियो होला ! पहाड दिक्तेलको मान्छे । कुरा अनौठो छ । तर त्यही अनौठाका बीचमा असल शिक्षक, सामाजिक अगुवा भई सदैव स्मरणीय व्यवहार गरेर २०३२ सालको अन्त्यमा यो विद्यालय छोडेर जानु भयो ।
यो विद्यालय परिवार, छरछिमेकी, इष्टमित्र आजपर्यन्त वहाँलाई बिर्सन सकेका छैनौं । संधै संझिइरहने छौं । उद्घोषक विजय सरले कृष्ण काकाको सम्मानमा भन्नुभयो । र कृष्ण काकालाई कार्यक्रमका अध्यक्ष र विशेष अतिथिले भव्य मञ्चमा उपस्थित तमाम व्यक्तित्वमाझ सम्मान गर्नुभयो खादा, माला, दोसल्ला र सम्मानपत्र सहित । उपस्थित पुराना मित्र, छरछिमेकीले सहचार्यका दिनको स्मरण गरे । र, नयाँ मान्छे छक्क परे, प्रभावित भए । सानो मान्छेको ठूलो कद ।
कृष्ण काकालाई त्यस ठाउँमा प्राप्त सम्मानले म प्रफुल्ल नहुने कुरै भएन । काका मेरो र हाम्रा भाइबहिनीका सदैव आदर्श रहनुभयो । मलाई शिक्षार्जन र साहित्यप्रति रुचि जागृत गर्नुभयो । शिक्षण सेवाकै बीचमा उच्च शिक्षालाई निरन्तरता दिनुभयो । कहिल्यै संघर्षबाट हार मान्नु भएन । त्यसैबेला पत्रकारिता शुरु गर्नुभयो । पछि आरआर क्याम्पस, काठमाडौंबाट पत्रकारितामा एमए गर्नुभयो । बीचमा निजामती सेवामा अधिकृतको जागिर पनि गर्नुभयो । तर पत्रकारितालाई कहिल्यै छोड्नु भएन र पेशाको निरन्तरता अहिले बहत्तर वर्षको उमेरमा पनि छ ।

सम्मानित भएपछि काकाले विद्यालय परिवार, अभिभावक, इष्टमित्र सबैलाई न्यानो आतिथ्य र सम्मानका लागि धन्यवाद दिनुभयो । कार्यक्रम सकिएपछि काकालाई छिटो गरेर कर्मथलो दिक्तेल फिर्नु थियो । सबै बन्धुबान्धवको कम्तीमा एकरात बसीदिने अनुरोधलाई फेरि फुर्सदमा जोडिने वाचागर्दै हामीले विदा माग्यौं कतै पानी र कतै चिया पिएर । काका बिर्तामोडबाट इटहरीतिर बसमा जानुभयो । मैले फेरि यस्तै कार्यक्रममा काकाको साथ पाउँ है भन्दै कृतज्ञताका साथ विदाई गरें । (लेखक धमला चन्द्रगढी, भद्रपुर, झापा निवासी हुनुहुन्छ) ।