मदन भण्डारीको जन्मजयन्तीका अवसरमा

विचार फरक तर सम्मान साझा

विचार फरक तर सम्मान साझा

रोदिक खबर

१४, आषाढ २०८३
  • 2.7K
    SHARES
  • विचार फरक तर सम्मान साझा

    तीर्थराज भट्टराई

    आज जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती हो । जन्मजयन्ती एउटा व्यक्तिको जन्मोत्सव मनाउने दिन मात्र होइन । उनले समाज, राजनीति र राष्ट्रका लागि छोडेर गएको विचार, आचरण र प्रेरणालाई पुनः स्मरण गर्ने अवसर पनि हो । म नेपाली कांग्रेसको विचार र लोकतान्त्रिक आन्दोलनबाट दीक्षित कार्यकर्ताका हॅु । यस अवसरमा  म बहुदलीय जनवादका प्रवर्तक जननेता मदन भण्डारीप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । 

    म सानैदेखि नेपाल विद्यार्थी संघको राजनीतिक संस्कारमा हुर्किएको मान्छे हुँ । मेरो राजनीतिक विश्वास नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, स्वतन्त्रता, मानव अधिकार र संवैधानिक शासनप्रतिको प्रतिबद्धतासँग जोडिएको छ । फरक विचार राख्दै पनि असल योगदानको सम्मान गर्नु लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्यता हो । यही लोकतान्त्रिक संस्कारले हुन सक्छ आज मलाई मदन भण्डारीलाई सम्झन प्रेरित गरिरहेको छ । 

    Madan_Bhandari.jpg

    मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई “जनताको बहुदलीय जनवाद (जबज)” जस्तो नेपाली मौलिकतामा आधारित वैचारिक अवधारणा दिएका थिए । विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा भण्डारीले नेपाली समाज, बहुदलीय प्रतिस्पर्धा र जनमतको वास्तविकतालाई आत्मसात् गर्दै नयाँ बहसको ढोका खोल्नुभएको थियो । मेरो उहॅाको अवधारणा र विचारसँग असहमति हुन सक्छ तर आफ्नै माटोमा उभिएर नयाँ चिन्तन प्रस्तुत गर्ने साहस सधैँ सम्मानयोग्य छ । 

    उहाँको एउटा भनाइ आज उत्तिकै सान्दर्भिक लाग्छ । “ जनताभन्दा माथि कोही छैन। ” यही भावनाले उहाँलाई जननेता बनायो । उहाँ पदको भन्दा विचारको र सत्ताको भन्दा जनविश्वासको राजनीतिमा विश्वास गर्नुहुन्थ्यो । सिद्धान्त र व्यवहारबीचको दूरी कम गर्ने प्रयास नै उहाँको नेतृत्वको विशेषता थियो । 

    नेपाली कांग्रेसका महान् नेता महामानव बी.पी. कोइरालाले “ लोकतन्त्र भनेको सहिष्णुता, उदारता र सम्मान गर्ने व्यवस्था हो “ भन्नुभएको थियो । यही आदर्शलाई आत्मासात गर्दै  फरक आस्था र योगदानलाई पनि स्वीकार गर्न सक्नुपर्छ । लोकतन्त्रमा फरकमत हुन्छ तर शत्रुता कसैसॅग हुँदैन । 

    लौहपुरूष गणेशमान सिंहले “ सत्ता साध्य होइन साधन हो ।” भन्दै राजनीतिलाई जनसेवाको माध्यम बनाउने दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक र छ । सन्त नेता कृष्णप्रसाद भट्टराईले “ राजनीतिमा नैतिकता हरायो भने लोकतन्त्र कमजोर हुन्छ।” राजनीति निष्ठापूर्वक गरेनभने व्यवस्था कमजोर हुन्छ भन्नुभएको थियो । 

    निष्ठावान नेता मनमोहन अधिकारीले  “ जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।”  भन्ने भावनालाई नागरिक वीच राख्नुभयो । जननेता मदन भण्डारी र मनमोहन अधिकारीको सहकार्यले नेपाली वाम आन्दोलनलाई नयाँ उचाइ दिएको तथ्य इतिहासमा अंकित छ । यद्यपि पुष्पलाल , साहना प्रधान लगायत नेताहरू बाम आन्दोलनका अग्रज नेतृत्व मानिनुहुन्छ । 

    आज नेपालको राजनीति फरक मोडमा उभिएको छ । विशेषतः पछिल्ला वर्षहरूमा विशेष गरी युवा पुस्ताको राजनीतिक चेतनामा आएको परिवर्तन र नयाँ पुस्ताको आन्दोलनपछि पुराना राजनीतिक दलप्रति व्यापक प्रश्न उठिरहेका छन् । त्यो असन्तुष्टि केवल कुनै एक दलप्रति नभएर समग्र राजनीतिक संस्कृतिप्रति लक्षित छ । त्यसैले नेपाली कांग्रेस, नेकपा (एमाले) , नेकपा लगायत सबै लोकतान्त्रिक शक्तिहरूले आत्मसमीक्षा गर्नु अपरिहार्य छ । जनविश्वास इतिहासलाई रटेर होइन वर्तमानको व्यवहारबाट कायम राख्नुपर्छ । 

    आज सिद्धान्त एकातिर र व्यवहार अर्कोतर्फ देखिन थालेको छ । पुराना दलसॅग चरित्र, पारदर्शिता, जवाफदेहिता र नैतिकतामाथि प्रश्न उठिरहेको छ । यो गम्भीर चिन्ताको विषय हो । नागरिकले अहिले भाषणभन्दा व्यवहार, नाराभन्दा परिणाम र वाचाभन्दा कार्यसम्पादन हेर्न थालेका छन् । 

    मदन भण्डारीलाई सम्झनुको अर्थ उहाँको फोटोमा फूल चढाउनु मात्र होइन । उहाँले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, संगठनप्रतिको समर्पण र जनतासँगको जीवन्त सम्बन्धबाट प्रेरणा लिनु हो । त्यस्तै बी.पी.को लोकतान्त्रिक समाजवाद, गणेशमानको त्याग, कृष्णप्रसाद भट्टराईको नैतिक राजनीति , गिरिजा प्रसादको ओआंट र मनमोहन अधिकारीको जनसेवाप्रतिको समर्पणलाई वर्तमान राजनीतिमा पुनर्जीवित गर्नु हो । 
    मेरो गाउँ दोर्पामा कांग्रेस र एमालेका साथीहरू सँगै बस्छौँ । चुनावमा प्रतिस्पर्धा र बहस गर्छौँ । आ-आफ्ना विचार राख्छौँ । तर चुनाव सकिएपछि हामी फेरि एउटै समाजका नागरिक हौँ । वैचारिक मत भिन्नता छ । तर कसैको घरमा विवाह गर्दा या कसैलाई दुःख पर्दा काँध थाप्न पनि सँगै पुग्छौँ । यही नेपाली समाजको मौलिकता र लोकतन्त्रको चरित्र हो । यही राजनीतिक सहिष्णुता जोगाउन सक्यौँ भने मात्रै लोकतन्त्र बलियो हुन्छ । 

    सामाजिक सञ्जालले विचारभन्दा घृणा र असहिष्णुतालाई बढी फैलाई रहेको छ । नयॅा दलका साथीहरूले फरक मत राख्ने मानिसलाई तुरुन्तै शत्रु देख्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि शुभ संकेत होइन । हामीले वितृष्णा र वैरभाव फैलिने गतिविधी गर्नुहुन्न । 

    मदन भण्डारीको जन्मजयन्तीको यो पवित्र दिनमा हामीले एउटा साझा प्रतिबद्धता गरौं र पुराना दलहरूले आफूलाई समयअनुकूल सुधार्ने साहस गरौं । नयाँ पुस्ताको विश्वास जित्ने व्यवहार र राजनीतिक प्रतिस्पर्धालाई वैमनस्य  नबनाउॅ । जनसेवा र सुशासनको प्रतिस्पर्धामा रूपान्तरण गर्ने अठोट गर्न सके पक्कै पनि लोकतन्त्र दर्विलो हुनेछ । 

         म कांग्रेसको कार्यकर्ता लोकतान्त्रिक संस्कारमा विश्वास गर्ने नेपाली नागरिकका रूपमा जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । उहाँका सबै विचारसँग म सहमत छैन । उहाँको ऊर्जा, वैचारिक साहस, संगठन निर्माणको क्षमता, जनताप्रतिको समर्पण र राजनीतिक सहिष्णुतालाई मैले प्रेरणा लिएको छु । 

    राजनीतिमा विचार फरक हुन सक्छ तर राष्ट्रप्रतिको समर्पण साझा हुनुपर्छ । खुल्ला प्रतिस्पर्धा गरौं तर सम्बन्ध नबिगारौं । सैद्धान्तिक आलोचना गरौं तर सम्मान गर्न कन्जुस्यॅाई नगरौं । लोकतन्त्रको वास्तविक सफलता चुनाव जित्नु मात्र होइन हारलाई स्वीकार्दै भावनात्मक सहिष्णुता हुनुपर्छ । 

    जननेता मदन भण्डारीको जन्मजयन्तीले हामी सबैलाई आत्मसमीक्षा गर्ने साहस, लोकतान्त्रिक संस्कारलाई अझ गहिरो बनाउने प्रेरणा र राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ प्रतिबद्धता प्रदान गरोस् । उहाँप्रति हार्दिक सम्मान, श्रद्धाञ्जली र स्मरण गर्दै सबैमा भाइचारा एकता वृद्धि गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । 
    ( स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुख हुन् । )

    प्रकाशित मिति :आषाढ १४, २०८३ आइतवार - १६:२७:२६ बजे

    रोदिक खबर