• ट्रेण्डिङ:

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

रोदिक खबर

६, मंसिर २०७७
  • 1.9K
    SHARES
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

    आस्थाको महापर्व छठ पर्वको चौथो दिन शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ्य्य दिएर यो वर्षको छठ विदाई गरिएको छ।  यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छेहरू भेला नहुन सरकारले आग्रह गरेको थियो। कोरोनाका कहरबीच व्रतालुले छठ पर्व हर्षका साथ विदा गरेका हुन्।

    मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

    व्रतालुले जनकपुरको इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजा लगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य  अर्पण गरेका थिए ।

    अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

    सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

    छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
     
    धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

    आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

    प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - ०९:३६:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको