समय परिवर्तनशील छ र समय संगसँगै मानिसहरुले आफूलाई परिस्कृत गर्दै समय सापेक्ष चलायमान बनाउदै तथा नयाँ सीप र व्यवहार सिक्दै नयाँ परिबेशमा आफूलाई समायोजन बनाउदै जानु पर्छ, यो उसको जीविकाको तौर तरिका र शैली पनि हो ।
हिजो अविकसित तथा असभ्य ढुङ्गे यूग थियो त्यति बेलाको जीवनशैली त्यही वातावरण र समय अनुसार अनुकुलन थियो । ओढारमा बस्ने, रुखका बोक्राहरुको कपडा लगाउने तथा जंगली कन्दमुल खाने अनि आप्mनो नजिकको सन्तानहरु मात्र एक ठाँउमा भेला भएर बस्ने अनि अलि टाढाको अरु आएमा झगडा गर्ने र टोकाटोक गर्ने परिवेश थियो ।
सामान्यतया यहि प्रचलनबाट घर परिवार तथा समाजको अवधारणाको विकास भएको अनुमान गर्न सकिन्छ । बिस्तारै मानिसहरुको सोचाइ तथा व्यवहारमा परिवर्तन आउदै गयो अनि उनीहरुमा सभ्यताको सुरुवात भयो, सामाजिक क्रियाकलापहरुमा सकारात्मक परिवर्तन हुँदै गयो अवको मानिसमा बिस्तारै खेतीपाती, पशुपालन र उद्योग व्यापारको प्रचलन सुरुवात हुन थाल्यो ।
यो अवस्थाका मानिसहरुमा पैसाप्रति मोह बढ्नुका साथै चेतनाको विकासमा पनि आमूल परिवर्तन भयो । यो समयका मानिसहरुमा शिष्टता र नैतिकताका धेरै ज्ञानहरुको गहिरो दखल थियो । जिम्मेवारिता, जवाफदेहिता, अनुशासन, कर्तव्यपरायणता, सहयोग इमान्दारिता अनि आपसी भाइचाराको सम्वन्ध ऊ बेलाका मानिसहरुको गहना थियो ।
पेशाप्रति सकारात्मक सोँच, कार्यप्रति जवाफदेहिता स्वावलम्बन अनि धार्मिक आस्थाप्रति गहिरो अनुराग थियो । आपसी मेलमिलाप र सामाजिक कार्यप्रति सचेत र आफ्नो मानवियताको गहन अध्ययन साथै गुरु तथा मान्यजनप्रति आदर सत्कार र आफूभन्दा सानालाई माया र स्नेह यति बेलाका मानिसहरुका अमूल्य गहना थिए ।
समाज एउटा जटिल र व्यवहारिक सञ्जालमा बाधिएको थियो कि समाजले निर्धारण गरेका अनि सन्तानहरुमा हस्तान्तरण हुँदै आएका नीति नियमहरु संस्कार अनि अनुशासनका मौखिक वाणीहरु अहिलेका संविधानका प्रत्येक धारा उपधारा तथा दफा उपदफा र सो सरह जीवन्त र अकाट्य नजिर बन्थे ।
त्यो बेला एक किसिमको राम राज्य नै चलेको थियो । मानिस बिस्तारै विकसित अनि शिक्षित बन्दै गयो र उसका आवश्यकताहरु बढ्दै जान थाले । समाज हिजोको जस्तो सरल बन्न छोड्यो । जटिल समाजका तमाम आवश्यकताहरु पूर्ति गर्नको लागि ऊ अहोरात्र काममा लाग्नुपर्ने कुराहरु देखापर्न थाले ।
अब विज्ञान र प्रविधि सूचना तथा सञ्चारले अग्रगामी छलाङ मार्न थाल्यो र संसारका सारा मानिसहरु सचेत अनि विकसित हुन थाले । विज्ञान तथा प्रविधि साथै सूचना र सञ्चारले मानिसहरुलाई असिमित सुविधा र अमन चयन दियो । विश्वलाई एउटा सानो गाँउको रुपमा सघुँराइ दियो ।
यसको लागि उनीहरुले रातदिन परिश्रम गर्न पर्ने भयो, यसले आम मानिसमा एक किसिमको स्वार्थीपन, लोभ र मोहकोे सिर्जना गरिदियो । उनीहरुमा भएको दया मायाँ स्नेह र आपसी सहयोग विस्तारै हराउदै गयो । कर्तव्य र अनुशासन लोप हुँदै जान थाल्यो यसको बदलामा मानिसहरुमा जडसुत्रवादी सोचाइको विजारोपण गरिदियो ।
मानिसहरु पैसामुखी र भौतिक सम्पतिमा महत्व दिन थाले जसरी पनि आर्थिक संकलन गर्नु, मोजमस्ती र विलासी जीवन बिताउनु उनीहरुको प्रमुख धेय बन्न थाल्यो । अहिले तमाम मानिसहरु हात हातमा मोबाइल बोकेर अनि प्रत्येक घर घरमा टेलिभिजन राखेर अनि अध्ययन कोठामा कम्प्यूटर र इन्टरनेट राखी विश्व ब्रमाण्डको बारेमा घरमा बसेर बुझिरहेका हुनाले उनीहरु अब समाजको साँघुरो घेराबाट बाहिर आएर फराकिलो सोँच र दृष्टिकोणका साथ अघि बढ्न थालिसकेका छन ।
अब मानिसले अर्को मानिसलाई चिन्न नसक्ने अवस्था आई सकेको छ । हिजोको दिनमा घरमा पाहुनापाछा आउँदाखेरि भव्य रुपमा स्वागत सत्कार गर्ने अनि लामो समयसम्म दुःख सुखका भलाकुसरी गरेर आत्मियता साट्दै दुःख घटाउने र सुख बढाउने परिपाटी आज आएर करिव समाप्त नै भइसकेको छ ।
छोराछोरी, बाउआमा तथा घरमा भएका अन्य सदस्यहरु आफ्नो आफ्नो मोबाइल बोकेर एक एक कुनातर्फ फर्किएर घोप्टिन व्यस्त मात्र छन तर यसको केही पनि आम्दानी र उपयोगिता छैन । केबल आफ्नो अमूल्य समय र अर्थको बर्बादी मात्र भएको छ । अस्पतालमा जन्म, मन्दिरमा चुडाकर्म र विवाह, पार्टी प्यालेसमा भोजभतेर, अस्पतालमा मृत्यु अनि कताबाट सिक्नु संस्कारका कुरा ।
आज आएर सन्तानले आफन्त र नातागोतालाई चिन्न छाडि सकेका छन, मानवीय भावना, सहानुभूति र संवेदना क्रमिक रुपमा मेटिदैछ । उचित र अनुचित व्यवहार गर्न बिर्सिसकेको छ अनि मानवीय भावना र आत्मियताको साइनोको डोरी चुडिन थालिसकेको छ । मानिसहरुमा स्वाद, रस उमंग, हाँसो र खुशी क्रमिकरुपमा हराउदैछ र संस्कार संस्कृति र मूल्य मान्यताहरु वास्तवमै दिनहुँ समाप्त हुँदै जाँदै छन ।
आजका तमाम किशोरीहरु रातो दिन टिकटक र फेसबुकमा झम्मिनु र किशोरहरु पप्जी र च्याटिङमा भोक र निन्द्रा तथा प्यास बिर्सेर लामो समयसम्म झण्डिरहनु पक्कै सकारात्मक कुरा होइन, यसले एक दिन अवस्य उनीहरुलाई भ्रम, हिनताबोध र पछुतोको दल दलमा फसाउने कुरामा दुईमत छैन । यसको तत्कालीन समस्या भनेको हेर्दा सानो र मामली भएतापनि यसले दीर्घकालिन जटिल समस्या निम्त्याउने कुरामा हामी सजक र सावधान रहन अति आवश्यक छ ।
यसले गम्भीर प्रकृतिको आपति, बेचयन तथा मनोरोग र डिप्रेसन निम्त्याउने कुरालाई नकार्न मिल्दैन । अहिले हामी तमाम अभिभावकहरु आफ्ना साना सन्तानहरुलाई उनीहरुको चाहना र शौखको कदर गर्दै आफ्नो हैसियत बिर्सेर ऋणको बोझ काँधमा थापेर अनावश्यक डिजिटल सामग्रीहरु किनी दिन्छौं यो देखासिकी र आडम्बरको लागि पनि गरिन्छ तर यसको दुरगामी असरको बारेमा केही पनि सोचेका हुँदैनौं र उनीहरुको चाहना पूरा गर्ने कुरालाई इज्जत र प्रतिष्ठासँग जोड्छौं र यदि हामी आफ्नो औकात र हैसियत अनुुसार पदको दुरुपयोग गरी अकुत सम्पति समेत कमाउन भ्रष्टाचार गर्न उद्धत रहन्छौं ।
जब सन्तानले आवश्यकता भन्दा बढि सुख सुविधा भोग गर्न पाउछ अनि संघर्ष के हो यसको बारेमा बुझ्ने यत्न गर्दैन अब ऊ केबल मेसिन मात्र बन्छ उसमा मानवता र कर्तव्य हराउदै जान थाल्छ । ऊ केबल भौतिक पदार्थ मात्र बन्छ जसको निश्चित आयाम होस । हामी कुन किसिमको सन्तान हुर्काउदैछौं, कस्तो संस्कार दिदै छौं अनि यस्तो किसिमको जनशक्तिले देशको लागि के गर्न सक्ला र के कुराको आशा राख्ने ? यहाँ देख्दा सानो कुरा छ तर यसभित्र गम्भीर समस्याको विजारोपण हुँदैछ ।
यस्तो मनोरोगी प्रकृतिको मानिसमा मात्र एक कुरा विद्यमान रहन्छ कि आफ्नो झिनो स्वार्थको लागि कि त अरुलाई मार्ने या त आफै मर्ने यस्तै स्वभाव भएका पश्चिमा देशहरुमा आज विश्वलाई तहसनहस बनाउने शतिmशाली हतियारको दुरुपयोग हुन थालेको हो ।
विश्व आज किन अशान्त र अस्वस्थ्य प्रतिष्पर्धाको लागि लडिरहेको छ, मानवीय हिंसा र हत्या दिनहुँ किन बढि रहेको छ अनि संसार अशान्त छ ? देशको भाग्य र भबिष्य काँधमा बोकेका तमाम यूबा पिडीहरु आज नशाको लतमा र प्रविधिको दुरुपयोगको चक्रब्युहमा नराम्ररी फसिसकेका छन आखिर उनीहरुमा यस्तो किसिमको खराब र नकारात्मक बानी कसरी सुरु भयो त ? यसको निराकरण के हो ? भनिन्छ घर बालकको पहिलो पाठशाला हो र बुबा आमा पहिला शिक्षक हुन यदि घर परिवारबाट बालकले असल संस्कार सिक्न सकेन भने विद्यालयबाट सिक्न मुस्किल पर्छ ।
अबको सूचना तथा सञ्चारको समयमा विद्यार्थीहरुलाई प्रविधिबाट अलग्याउन त हुँदै हुँदैन तर यसको सदुपयोग गर्ने कुरामा हामी सबै सरोकारवालाहरु चनाखो भने पक्कै बन्नु पर्छ, नत्र यसले निकट भविष्यमा ठूलो र विकराल अवस्था निम्त्याउन सक्छ ।
अल्छिपन, अलमल्लिने, टोलाउने, एककोहोरो र जिद्दीपन हुने, लागू औषधको सेवनमा लिप्त हुने, सुष्तमनस्थितिको संकेत देखिने, आलष्यपन देखिने, मनोरोगबाट ग्रसित हुने, डिप्रेसन हुने अनि बेलामा सही परामर्श र उपचार पाउन नसकेमा आत्महत्या गर्ने जस्ता जटिल समस्याहरु घोप्टेयुगले ल्याएका उपहारहरु हुन् । (लेखक खत्री : भगवती दिनानाथ माध्यमिक विद्यालय खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका शिक्षक हुन् ।)