पोहोर साल फैलिएको कोरोना व्याधिले खोटाङलाई खासै गाँजेन । ठूला शहर र विदेशतिर वसोवास गर्ने केही खोटाङेको ज्यान गएको खबर आयो । तर जिल्ला भित्रै कसैको निधन भएन । परीक्षण गर्दा ज–जसलाई पोजेटिभ देखियो तिनलाई पनि ठाँगेले छोएन । शहर र विदेशतिरबाट पनि मानिसहरु नआएका हैनन् । तर पश्चिम र दक्षिण नाकामा समयमै क्वारेन्टाइनको उचित प्रवन्ध गरिएको हुँदा संक्रमितहरु समुदायमा मिसिन पाएनन् ।
खास गरेर दक्षिणमा दिप्रुङ चुईचुम्मा गाउँपालिका र पश्चिममा हलेसी तुवाचुङ नगरपालिका अत्यन्तै होसियारी पूर्वक बाहिरबाट छिरेको मानिसको व्यवस्थापन गर्न सकेको कारणले व्याधि समुदायस्तरमा घुस्न पाएन । अन्य पालिकाहरुको भूमिका पनि नितान्त सकारात्मक रह्यो ।
जसको कारणबाट जिल्लामा असरिलो दुर्घटना हुन पाएन । योगदान पुर्याउनेलाई जसपनि दिनुपर्छ । ती पालिकाहरु धन्न छन् । तर यो बर्ष कहिकतैबाट अघिल्लो बर्ष झैँ सजकता अपनाएको पाइएन । जानिफकारहरु भन्दैछन्–, अहिलेको व्यापी पोहोर सालको भन्दा सत्तरी गुणा तेज छ ।
तैपनि मानिसहरु किन पत्याइरहेका छैनन् ? यसका अनेक कारणहरु हुन सक्छन् । पहिलो कारण त दुई कित्तामा विभक्त सत्तासीन नेता कार्याकर्ता र तिनका मतियार समेतको छाडा गतिविधि नै हो । प्रधानमन्त्रीको गैरजिम्मेवार भनाई अनि स्वास्थ्य मन्त्रीको गैरजिम्मेवार गराई पनि यसमा मिसिएको छ ।
बनिबुतोको लागि भारत जान वाध्य र उताबाट लखेटेपछि खुरुक्क फर्किन पनि बाध्य नेपालीको जिजीविषा तेस्रो कारण हो । यहाँ रोकेर सितिमिती रोकिने वाला छैन् । संक्रमितको संख्या जुन रफ्तारमा बढिरहेको छ, त्यसलाई मध्यनजर राखेर समुच्चा सरकारी खजना र संयन्त्र यसको निराकरण निम्ति खनिन जरुरी छ । तर सरकार र जिम्मेवार दलहरु कुन कस्तो बेला खेलिरहेका छन् ? त्यो सबैका आँखा अगाडि छर्लङ्ग छ ।
यहाँ व्याख्या गरिरहनु परोइन । सरकार जनताको जीवन रक्षा निम्ति होइन, सत्ताको रक्षाको खातिर लागिरहेको छ र प्रतिपक्षीहरु पनि सत्ता हल्याउने उद्योगमा तल्लिन छन् । त्यसो हुँदा जनता आफै जागरुक हुनुपर्ने वाध्यकारी अवस्था आइपरेको छ । सरकारको अकर्मण्यताको वदला अइन मौकामा लिदैं गरौंला । तर के गर्ने दुई तीन अगाडि दिक्तेल बजारको एउटा वैवाहिक कार्यक्रममा दुई/चार सय बढिको जमघट थियो । न प्रशासन न राजनीतिक दल कसैले केही भनेन ।