बालापन र दशैं

बालापन र दशैं

रोदिक खबर

२, आश्विन २०७८
  • 15.1K
    SHARES
  • बालापन र दशैं

    “कसैले के बर माग्छौ भनी सोधे मै माग्थे बालापन ......”
    “हो, हो दशैं आयो, कोदो फुल्यो बारीमा लरी लै.......”

    अबोध, निर्दोष र निश्चल, निमुखा र सोझो  त्योे बालापनको याद सायद कसैले चटक्कै बिर्सन सक्दैन होला । जे थियो त्यो राम्रो थियो नत लोभ लालच, नत डर त्रास, नत स्वार्थ र आशक्ति आहा ! कति आनन्द थियो त्यो अमूल्य बालापन । आमाको होटेल र बुवाको लजमा बसेर अर्गानिक खाना खान पाइने, सबै दौतरीहरु मिलेर भाडाँकुटी, लुकामारी र ढुङ्गाको घर बनाइ खेल्दाको आनन्दको चर्चा जति गरेपनि धित मर्दैन ।

    हरेगुडु खेलेको, गोठालामा काक्रो चोरी खाएको र तल्ला घरका जेठाबाले लखेटेको अनि पाकेको केरा चोरेर भाग्दै गर्दा डल्ली आमैले सिर्कनाले पिडुलामा सुम्ला उठ्ने गरि भकुरेको र सुरुवालमा सु–सु गरेको याद आजसम्म मानस्पटलमा फिल्मको रिल झैं घुमिरहेको छ ।

    बुबाले श्राद्ध गर्न कपाल काटेपछिको खुशी पनि कम थिएन किनकी अब चामलको भात खान पाइने आशाले तीन कान्ला उफ्रिदा चोकेमा परेर घाइते भएको तथा सिरानघरे काकुको घरमा भएको घोर्ले खसी काटेको दिन त आधा रातमा उठेर आमालाई धान कुट्न सघाउने जाँगर कहाँबाट आउथ्यो त्यसको लेखाजोखा पनि थिएन ।

    असोजमा आउने दशैको लागि गाउँको सारा मानिसहरु कमेरो लिन जाने उर्दी, बाटो घाटो खन्ने तथा सफा गर्ने र काठे पुल बनाउने, रातभरि पालो पालो गरेर सबैका धान कुट्ने, चिउरा कुट्ने, दाउरा काट्ने, मरमसला, लताकपडा र चामल लिनको लागि बेल्टार बजार जाने मान्छेको लस्करले बाटो नपाइ सक्नुको अवस्था अनि नयाँ कपडा लगाउने आस कम्ति लोभ लाग्दो थिएन ।

    चर्का घाम लागेको दिन मयलले काति भएका सिरक र सिरानेका खोल धुने काम कति चटारो थियो दशै भित्रयाउनको लागि । प्रायः गरेर असोजमा आउने दशैको लागि भदौ १५ देखि मुग्लानीहरुको आवगमन, गाउँमा हलचल अर्कै मज्जा थियो ।

    पिङ लगाउनको लागि घर घरमा गएर बाबियो उठाउने, लठारो बाट्ने, लिङ्गो गाड्ने जस्ता सामुहिक कार्यले एक आपसमा सद्भाव र सहयोगको भावनाको विकास तथा आत्मियताको डोरी बलियो बनाउथ्यो । लोभ लाल्चा, स्वार्थ, मपाइत्व, आडम्बर, धनको मोह, कालावजारीकरण, घृणाको क्लेस पनि थिएन ।

    सहयोग, सद्भाव, प्रेम, शान्ति सहकार्य, इमान्दारीता, नैतिकता, कर्तव्य बोध अनि अनेकतामा एकताको भावनाको भरपुर सदुपयोग थियो । दशैं आउदाको मज्जा नै अर्कै थियो धनी गरिब सबैको घरमा घोर्ले खसीहरु खोरमा गजधम्म उग्राइरहेका हुन्थे । करेसाबारीमा पहेलपुर भएर काक्राहरु लटरम्म पाकेका र साना साना चिरा परेर पट्टपटी फुटेका हुन्थे अनि खल्पी बनाउनको लागि अलग्गै छुट्याइ सकेको हुन्थ्यो । पिङ हाल्नको लागि सबै गाउँलेहरुको उपस्थिति अनिवार्य थियो रपो दशै आएको बेग्लै मज्जा थियो ।

    दशैको लागि करेसाबारी र बगैचामा मर्चमाने र झप्री केरा बासको टेको लगाएर थमाएर राखिएको हुन्थ्यो । रातभरि गाउँमा चिउरा कुट्दा ढिकीको भक्र्याङच्याङ भक्र्याङच्याङ आवाजले सारा गाउँमा सबैको निद हराम बनाइ दिन्थ्यो रपो त्यो दशैको महत्व बढि थियो ।

    धनी–गरिब, ठूला–साना,  हुने खाने तथा हुँदा खाने सबै वर्गका मानिसहरु भेला भएर बाटो घाटो सफा बनाउने, फराकिलो बनाउने अनि धारा कुवाको मर्मत गर्ने जस्ता निस्वार्थका सामाजिक कामहरुमा खट्न पाउदा कम्ति मज्जा आउदैन थियो । सबै थरीका मरमसला मिसाएर घाममा सुकाइ जातोमा पिस्दाको मगमग बासना चार कोश टाढासम्म फैलिन्थ्यो अनि पो दशै भित्रिन लाग्यो है भनेर भित्तोमा नङ्ले धर्का तानी तानी दिन गनिन्थ्यो रपो त्यो दशैको महत्व थियो ।

    घर फर्किएका मुग्लानीहरुको लस्कर तथा घन्काउदै आउने क्यासेटका,े “हो हो दशै आयो” भन्ने गीत सुन्दा र ढाकर डोकोमा भरीया लगाएर आउदा मनै फुरुङग बनेर पुतली झै हल्का भएर उड्दाको मज्जा अतुलनीय थियो ।

    कमेरो र रातो माटोले लिपेका घर चोख्याउदा अनि कुना कानीमा भएको माकुराको जालो फालेर अनि झ्याल ढोकामा न्याउली उसिनेर  कालो रंग बनाइ कपडाको टालोले लगाउदा खेरी गजबले खुलेका सफा घरहरु देख्दा त्यो बालमन कति खुशी भएर नाच्थ्यो यसको मापन नै छैन । टिकाको दिन मान्यजनहरुले दिएको चानचुने पैसा प्लास्टीको सानो झोलामा छयाँङ छयाँङ बजाउदै र चिउरा र केरा अर्को झोलामा बोक्दै सारा गाँउ डुल्दाको आनन्दको कुरा गरी साध्य थिएन ।

    सधैंभरि थोत्रा र च्यातिएका घुँडा र कुहिना देखिने कपडा मात्र लगाउन बानी परेको आङ्मा दशैमा ऋणपान गरेर भएपनि नयाँ कपडा लगाउन पाउँदा मात्र दशै आएको भान हुन्थ्यिो । भेजाबाट ल्याएको एक बिसौली मासुमा तुर्लुङ झोल मात्र खान बानी परेको ज्यान दशैमा आफ्नै घरमा यामानको खसी लडाएर पकुवा बनाइ भुटेर पोलेर अघाँउजी खाँदा र ठूला सिङ्हरु मूल दैलोमाथि सजाएर राख्दा क्या मज्जा र आनन्द आउथ्यो बरी लै ।

    चौर तथा चौतारामा लगाएको पीङमा खेल्ने पालो नआएर आफनै घरको दलिनमा  नाम्लाको पिङ बनाएर खोसेलाको पिराको काम्टो बनाइ खेल्दा बिछट्टै काइदा लाग्थ्यो । सधै भरि निख्लो ढिंडो, च्याख्ला र खस्रो रुखो खाना मात्र खाइरहने बानी परेको बेला दशैमा मार्सी, भोटाङे, मालीगिनी तथा तलवाली चामलको भात, एक बटुको मासु, खल्पीको अचार एक राते दही खान पाउँदाको कुरा संझिदा अहिले पनि जिभ्राले दूई मुठी पानी निकाल्छ ।

    टिका लगाउन मावल जाने कुराको लागि घरमा हुने उछिन पाछिन, कल झगडा अनि हजुर बा र मामाले पट्याएर दिएको दक्षिणालाई हत्तार हत्त्तार बाहिर गएर फुकाइ हेर्दा रु. २ देख्दाको खुशी कति थियो अहिले बयान गरी साध्य छैन । निधार भरीको रातो टिका अनि कान भरीको पहेला जमरा, गोजी भरी चानचुने पैसा अनि प्लास्टीभरी चिउरा र कुहिन लागेको केरा तथा मावलमा पिङ खेल्दा खेरी गोजीबाट उछिटिएर हराएका पैसा अनि घुँक्क घँुक्क रोएपछि मामाले थपिदिएको पैसा अहिले संम्झदा अझै मज्जा आउने गर्छ ।

    आफ्ना घरका हजुर बा र हजुर आमाले टिका लगाइ दिएर तँ त छोरा मान्छे पो होस त तँलाई के को पैसा दिनु भनेर हकारेको कानमा जाबो जमरा मात्र घुसारी दिएको अनि दिदीबहिनीलाई चाँही कन्ने केटी भनेर पैसा दिदाँको रिस अहिलेसम्म मरेको छैन यो पनि कम्ती यादगर क्षण थिएन । काका बडा बा र हजुरबाले जयकाली भैरबी भनेर मालश्री गाउँदै गर्दा तल्ला घरका मोटे दाईले खसी मार हान्दै र छिनाएको उपलक्ष्यमा टाउकोमा पैसा घुसारीदिएको याद ताजै छ ।

    दुर्गा पूजाको दिन घरका सबै हात हतियार धोइ पखाली घरको कुनामा लगेर पूजा गरी खसीको टाउकोले भोग दिएको र भुँडी उछिटिउन्जेल दह चिउरा तथा चार पाँच कोसा केरा खाएर ढ्याउ गर्दाको आवज अहिले पनि कानमा गुन्जिरहेको आभास आइरहन्छ ।

    नव्मीको दिन मार हान्न बडेमानको कट्टी लिएर तल्ला घरे कान्छा बा सबैको घर डुल्दा अनि रमिता हेर्ने सबै फुच्चा फुच्चीहरु पछ्याउदा साँघुरो बाटोमा ठेलाठेल गरि लडेको घटना आलै छ । पूर्णिमाको दिन जमरा सेलाउन कुवामा जाँदा चाँहि कम्ती नरमाइलो लाग्थ्यो की दशै गयो भनेर तर बेलुका सम्झाउनी बिर्साउनी भनेर कुहिन लागेको ठुस्स गन्हाएको मासु पनि मिठो नै लाग्थ्यो । यसरी बालापनमा दशै चाडको रौनक बयान गरि साध्य थिएन । 

    आज गाँउमा सन्नाटा छाएको छ, मुग्लानीहरु आउन छाडेका छन, गाँउका पर्देशीहरु बसाइसराइ गएर सारा गाँउ रित्तो भएको छ । युवा विदेशमा अनि परिवार बालबच्चा तराइ र शहर बजारमा, लकडाउन, चक्काजाम विरोध जुलुस, हड्ताल जस्ता अमानवीय कार्यले गाँउ आउने जाँगर जोस र उमंग कसैमा छैन ।

    मझेरी र अगेनाको छेउमा बृद्ध बृद्धाहरु मात्र बसेर मुग्लानीहरुलाई संम्झेर आँशुका धारा गालाका खोपिल्टाबाट झारी रहेका छन । मानवीयता हराएको छ । सर सहयोग, भलाकुसारी, मेलमिलाप भाइचाराको सवन्ध र निस्वार्थ सेवाको भावनामा खडेरी परि सकेको छ ।

    स्वार्थ, लोभ लालच, हत्या हिंसा, लुटपाट, बलत्कार जस्ता विकृतिले बस्तीमा नैराष्यता छाएको छ । बाटो खनिदैन, धारा कुवा मर्मत गरिदैन बजेटको आस मात्र गरिन्छ पश्चिमा संस्कृतिले आफनो मौलिक संस्कृतिलाई गाँजेर थिलथिलो बनाएको छ । नत खोरमा घोर्ले खसी बाकी छ नत बगैंचामा केरा पसाएको छ, घरका गारोमा लिउन उप्किसकेको छ, फुसको छानो चुहिन थालेको छ । अनि बाटोमा झारपात काउली परेर चिप्लो भएको छ र बुट्यानले राज गरि सकेको छ ।

    मार हानी दिने मान्छेको अभाव छ अनि पीङ हेर्नको लागि म्यूजियम जानुपर्ने भएको छ खै ! यस्तो खल्लो के दशै भन्नु ? हुने खानेहरुको लागि सधैंभरी दशैं भएको छ र हुँदा खाने श्रमजीवीहरुको लागि त दशा पो भएको छ किनकी महँगीले आकाश छोएको छ । वर्गीय खाडल बढेको छ, तस्करी र कालो बजारीकरणले आकाश र पातालको दुरी लम्ब्याएको छ । (लेखाक खत्री भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका शिक्षक हुन् ।) 

    प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १०:५५:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको