उजेली काकीको रितो गाग्री र स्थानीय तह निर्वाचन 

उजेली काकीको रितो गाग्री र स्थानीय तह निर्वाचन 

रोदिक खबर

१०, बैशाख २०७९
  • 14.2K
    SHARES
  • उजेली काकीको रितो गाग्री र स्थानीय तह निर्वाचन 

    निक्सन राई ।

    ‘‘ए ठूली छिटो आउँ पधेरामा पानी सकिन्छ ।’’ उजेली काकी ठूलो स्वरमा माथिल्लो घरको हर्क दाईको छोरीलाई एका विहानै बोलाउनुहुन्छ । थप्दै भन्नुहुन्छ, छिटो मग र जग पनि ल्याएर आउँ ।’’ ढिलो ग¥यो भने पानी पाइँदैन । हतासमा ठूली हवस् काकी म आइहाले । डोकोमा गाग्री बोकेर दौड्दै ठूली आईपुग्छे । दुईजना गफिदै करिब आघा घण्टाको बाटो हिडेर तीदाखा पधेर पुग्छन् । उनीहरु त्यहाँ पुग्दा रित्ता गाग्रीहरुको लाम हुन्छ । सबैजना पानी भर्न गाग्री अगाडि राखेर पालो पर्खेर मिरमिरेमा आँखा सुम्सुुमाउदै बसिरकेका हुन्छन् । कोही भन्छन् घरमा गएर बेसी मेलामा जानुपर्ने भने कोही भन्छन् बाख्रावस्तुलाई घाँस काट्नुपर्ने, छोराछोरीलाई स्कुल पठाउनुपर्ने, स्कुल जानुपर्ने । सबैका यस्तै उस्तै आ–आफ्नै समस्या सुनाउदै गफिरहन्छन् । तर पर्खेर पानी लग्नु बाहेक अरु कुनै उपाय छैन उनीहरुको । उनीहरु भन्छन् हाम्रोमा खानेपानीको ठूलो समस्या छ, कसरी पूरा गर्ने ? खानेपानीको समस्या समाधान गरिदिए पनि हुने भन्ने सोँच राखेको कयौँ वर्षहरु भए । हुनत यो खानेपानीको समस्या उजेली काकी र एक गाउँको मात्र नभै नेपालका धेरै काकीहरु र गाउँहरुको समस्याको रुपमा रहेको छ । 
    केही समय पछि गाग्री बोकेर हर्क दाई पनि आफ्नो एघार वर्षको छोरासँग आइपुग्छन् । टुसुक्क बसेर भन्छन् हाम्रा गाउँको प्रमुख समस्या खानेपानी साथै राम्रो सडक र गुणस्तरयुक्त पायकपर्ने ठाउँमा शिक्षा तथा स्वास्थ्य सेवा उपलब्धता रहेको छ । हर्क दाई आफ्नो छोरातिर हेर्दै, खै आउने सन्तति यो गाउँमा कसरी बस्लान् ? सन्ततिहरुको भविष्य त कठिन हुन्न ? यो गाउँ कस्तो होला ? पानी उघाएको आवाजप्रति लक्षित गर्दै भन्छन् । 
    उजेली काकी र हर्क दाई जस्ता आम नागरिकले संघीयता पछि २०७४ सालमा भएको स्थानीय तहको पहिलो निवाचनपछि लिच्कीराम्चेकोे धेरै वर्ष अघिदेखि चरम खानेपानीको समस्या समाधान हुन्छ भनेर आशा लिएका थिए । उक्त निर्वाचनको समयमा खोटेहाङका नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका अध्यक्षका उम्मेद्वारले विभिन्न ठाउँमा गरिएका कार्यक्रममा प्रतिवद्धता पनि गरेका थिए । प्रतिवद्धता पूरा गर्ने हैसियत हार्नेले त गर्न नसक्ला तर जित्नेले पनि पाँच वर्षसम्म पूरा गर्न सक्नु भएन । हालसम्म पनि खानेपानीको चरम समस्या लिच्कीराम्चेमा उस्तै रहेको छ । उक्त स्थानीय तह निर्वाचनको समयमा गरेको एउटा प्रतिवद्धताको मलाई अझै स्मरण छ मिति २०७४ जेष्ठ १२ गतेको नेकपा एमालेको चुनावी आमसभामा माननीय विशाल भट्टराईले हाम्रो उम्मेदवारले जितेपछि रितो गाग्रीे भरिनेछ भन्दै रितो गाग्रीे पटी लक्षित गर्दै तल्लो माबेको शिवालयको मन्दिर अगाडि गर्नु भएको त्यो उर्जायुक्त भाषण साथै जनताहरुको विश्वास पनि नेकपा एमालेलाई पहिलो स्थानीय निर्वाचनमा प्र्राप्त भयो । र खोटेहाङ गाउँपालिकाको अध्यक्षमा प्रदिप राई, उपाध्यक्ष कविता राई र खोटेहाङ गाउँपालिका वडा ९ को अध्यक्षमा गोपीकृष्ण राई निर्वाचित हुनु भयो ।  
    लिच्कीराम्चेको खानेपानी समस्या समाधानको लागि सुनकोसी नदीबाट करिव ८५० मिटरमाथि रहेको खोटेहाङ ९ कालापानी गाउँको ९७ घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यका साथ पम्पिङसेटबाट एक करोड ८० लाखको लागतमा केन्द्रीय वजेटको योजना शिलान्यास २०७२ साल चैत्र ११ मा नेपाली काङ्ग्रेस प्रदेश नं. १ का महामन्त्री भुपेन्द्र राईवाट भई २०७७ साल पुस ११ गते उक्त योजना उहाँबाट नै उद्घाटन भयो । उक्त योजनामा उपभोक्ता समितिका अध्यक्ष कर्णवहादुर राउतले निरन्तर रुपमा खटी चाडो सम्पन्न गर्न सफल भए । जसले पूर्ण रुपमा नभएपनि आंशिक रुपमा कालापानीेको लागि खानेपानी समस्या समाधान भयो तर लामो समयदेखि सञ्चालनमा रहेको करिब सात करोड बजेटको योजना दिहुँखोला खानेपानी योजना आ.ब. २०७२ सालबाट सञ्चालन भएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । यस योजनाले लिच्कीराम्चेको करिब ६४२ घरधुरीलाई प्रत्यक्ष लाभन्वित हुनेछन् । यो योजना २०७४ को स्थानीय तहको निर्वाचनमा मतदाताबाट मत प्राप्त गर्ने एउटा मुद्दा नै पनि बन्यो तर योजना भने जस्तो तरिकाबाट सञ्चालन नभएपछि मिति २०७५ साल भदौ १३ गते बुधबार काठमाडौँमा बस्दै आएका लिच्कीराम्चेका युवाहरु मावेका युवा जीतबहादुर कार्कीको नेतृत्वमा माननीय विशाल भट्टराई ध्यानकर्षण गर्न जानु भयो । माननीयले यो काम चासोका साथ लिने र सम्बन्धित निकायमा पहल गरी समस्या समाधान हुने कुरा बताउनु भयो । 
    लामो समय वितिसक्दा पनि दिहुँखोला खानेपानी योजना अझै पूरा हुन सकेको छैन । माननीयले दिहँु खोलालाई पनि निरन्तरता दिदै जाने र तत्काल बैकल्पिक मार्ग खोज्न भनेपछि मावेको गारेखोलबाट गाउँपालिका वडा न. ९ को तल्लो मावेलाई आ.ब. २०७६ मा संसदीय विकास कोष र जिल्ला समन्वयबाट लगभग ३२ लाख बराबरको बजेट बिनियोजन भई युवराज कार्कीको अध्यक्षतामा शिल्यान्यास भएर विरेन्द्रवहादुर कार्कीको अध्यक्षतामा योजना सम्पन्न भयो । हाल करिव १८० घरधुरी उपभोक्ताहरुले खानेपानी उपभोग गरिरहेका छन् । दुबै योजना सञ्चालन सम्पन्न भएपनि दिहुँखोलको योजना सम्पन्न नभएसम्म सबै नागरिकहरुमा खानेपानी समस्याको रुपमा रहिरहन्छ । यो योजना सम्पन्न नभएसम्म मत प्राप्त गर्ने राजनीतिक मुद्दा बन्न बेर छैन् । 
    पहिलो स्थानीय सरकारको कार्य अवधि जेष्ठमा सकिने भएको हुँदा मिति २०७९ साल वैशाख ३० गते दोस्रो स्थानीय तहको निर्वाचन घोषणा भएपछि निर्वाचन केन्द्रीत भई फेरिपनि विभिन्न राजनीतिक दलहरु चुनावका लागि घरदैलोमा उपस्थित हुन थालेका छन् र उहाँहरुको उपस्थिति गर्विलो रुपमा रहेको छ । हिजो भन्दा केही फरक भई आवाजमा मलिनता,स्वभावयुक्त व्यवहार, जनप्रयि र विकासप्रिय शैली र तरिकाहरु अपनाई रहेका छन् । हुनत उहाँहरु निर्वाचन जित्नका लागि मित्थ्या आश्वासनदेखि विभिन्न राजनीतिक दण्डभेद गर्न पनि पछि पर्नुहुन्न । उहाँहरुले गुम्सिएका र व्यक्त नभएका नागरिकका कयौँ प्रश्नहरु बुझ्न चाहनु हुन्छ ? वा हुन्न ? निर्वाचन पछि नै थाहा होला । यस अर्थमा सबै नेताहरु गलत छन् भन्ने चाँहि हैन केही नेताहरु विकास र कामले जनता समक्ष प्रिय पनि छन् । त्यसकारण नागरिकलाई वाद, सिद्धान्त, दर्शन र भाषण भन्दापनि खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत र सञ्चारको  विकास चाहन्छन् भनेर बुझ्नु पर्दछ । यस समयमा नागरिकले बुझ्ने दिन आएको छ हामी सेवक चाहन्छौँ ? कि मालिक ?
    नागरिकहरुका छरिएर रहेका विविध समस्याहरु यसपल्टको निर्वाचनामा पनि उम्मेदवारको अगाडि छरपस्ट हुनेछन् । के चाहेका छन् त लिच्कीराम्चेका नागरिकहरुले ? विकासका कामहरु जस्तै दिहुँखोला खानेपानी योजना सम्पन्न र वितरण, रसुवा सिम्पानी सडक स्तर उन्नति, झ्याम्टेबरदेखि रमाइलो सम्मको सडक विस्तार, कृषि तथा सिचाई, कम्तीमा माध्यमिक तह कक्षा १० सम्म पढ्न पाउने अवसर र स्वास्थ्य सेवाका सुविधा, सुन्य सहनशीलता, सुशासन, सूचनको हक प्राप्ति र समाबेसी विकास साथै समानुपातिक प्रतिनित्व जस्ता कुराहरु चाहन्छन् ? अवको निर्वाचित हुने प्रतिनिधिले पूरा गर्ने हिम्मत गर्छन त ? कि घोषणा पत्र र भाषणामा मात्र विकास सिमित हुन्छ ? भन्ने थुप्रै अनुउत्तरित प्रश्नहरु रहेका छन् । घोषणा पत्रमा लेखिए अनुसार र बोले अनुसार कार्य नगर्ने विशेषता कारणले नागरिकहरुमा नेताप्रति विश्वास पनि कम हुँदै गइरहेका छन् । तर ‘‘नहुनुभन्दा कानो मामा बेस भने झै’’ एक मत हान्ने विकल्प बाहेक अरु विकल्प नागरिकमा छैन् ।
    अबको स्थानीय तहको प्रतिनिधिहरुले गाउँघरको समस्याहरुलाई बुझी नागरिकसँगै हातेमालो गरेर अगाडी बढ्ने दिन आएको छ । नागरिक आवाजलाई सकारात्मक सुझावका रुपमा लिई साझेदार गरी विकास गर्ने समय आएको छ । हिजोका उजेली दिदी र हर्क दाई जस्तै सोझा र इमानदार व्यक्तिहरुलाई मतको लागि आश्वासन मात्र दिने कि ? सोच्ने समय आएको छ । विकासका योजनाहरु राजनीति मुद्दा मात्र बनाउने कि ? बुझ्ने समय आएको छ । नागरिकको जात, धर्म, संस्कृति र खानपानलाई मत प्राप्तको आधार मात्र बनाउने कि ? मनन गर्ने समय आएको छ । घरघरमा सिंहदरवार नेताको लागि हो कि जनताहरुको लागि हो भनेर बुझ्नुपर्ने रहेको छ । सिंहदरवार जनप्रतिनिधि बस्ने ठाउँको नाम भएपनि सेवा र विकास गर्ने दरवार हो । त्यसकारण आफैले आफूलाई चिन्ने समय आएको छ किनकी स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष नजिकमा रहेर काम गर्ने सरकार भएको हुँदा नागरिकको अपेक्षा हुनु स्वभाविक छ । अनि मात्र उजेलीको सपना र हर्क दाई जस्ता नागरिकको विकासको सपना पूरा हुन्छन् ।
    (लेखक राई, खोटेहाङ गाउँपालिका—९ लिच्कीराम्चे मावे खोटाङ घर भई हाल बुढानिलकण्ठ माध्यमिक विद्यालय काठमाडौंमा शिक्षणरत हुनुहुन्छ । 

    प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १९:१४:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको