प्यारा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु,
न्यानो माया र सप्रेम सम्झना,
यस शैक्षिक सत्रको सुरुवातदेखि नै हाम्रो भेटघाट,भलाकुसारी अनि विचारहरु आदानप्रदान गर्ने दिनचर्याहरु ठप्प भएको छ । हाम्रो भेटघाट र अन्तरक्रियाको क्रम भंग भएको छ । केहि समय बिरानिएका छौं । तर हामीहरु आत्मिक रुपमा मन मस्तिष्कदेखि नै नजिक छौ, भौतिक रुपमा मात्र थोरै समय अलि टाढा भयौ । हाम्रो सामिप्यता अनि बिषयबस्तुको गन्थन अनि भलाकुसारी नभएको धेरै समय भैसक्यो, दोहोरो बोली, गफगाफ अनि चेहरा नजर मात्र नभएको हो ।
आज हरेक दिन हरेक पल तपाईहरुको याद, सम्झना अनि झझल्को आइरहन्छ अनि हिजो हामीले बिताएका अमूल्य क्षण, रमाइलो पलहरु अनि बिषयबस्तु माथिको विचार विमर्श, अन्तक्रिया, तपाईहरुले सोधेका रमाइला रमाइला चोटिला प्रश्नका चांगहरु अनि हामीले भनिदिएका यथार्थ जवाफहरु, गफ, चुट्किला, नाँचगान सबै कुराहरु अहिले घरमै रहँदा अनि खास गरि दशदेखि चार बजेको बिचमा सजिव भएर मनमष्तिस्कमा ह्वारह्वारी आउने गर्छ, अव्यक्त मानसिक सास्ती दिने गर्छ ।
कुरा काटिदिनेले त भन्छन शिक्षकलाई कति मोज, सुख छ, अमनचयन छ, घरमा बसीबसी तलब खानु छ, दिनरात सुत्नु छ, धेरै मस्ती छ भनेर तर यो अफवाह मात्र हो आरिस अनि डाह हो हाम्रो छविलाई निमिट्यान्न बनाउने निच सोँच मात्र हो ।
हामीले त पहिला नै सपथ खाएका थियौ कि हामी हरेक पल हरेक क्षण हाम्रा अबोध कलिला बालबालिकाहरुको भाग्य अनि भविष्य काँधमा बोकेर अहोरात्र तन, मन, बचन अनि कर्मले दत्तचित्त भएर लागि पर्ने छौ भनेर अनि आजसम्म यो सत्यतालाई डगमगाउन दिएका छैनौं र भोलिका दिनहरुमा पनि यो शाखलाई बचाउने प्रण गरिनै रहनेछौं ।
हामीलाई अफसोच छ, खेद छ अनि ग्लानी छ कि हामीले आफ्नो पेशा अनि मर्यादा कर्तव्य पुरा गर्न नपाएकोले । कुरा काट्न, भडकाउन, सम्बन्ध बिगार्न अनि नौटंकी गर्न धेरै सजिलो हुन्छ, सस्तो लोकप्रियताको लागि देखाउनको लागि अनि संसारको आँखामा छारो फाल्न सहज छ, यथार्थ बुझेर पनि बुझ पचाउँदै आरोपप्रत्यारोप गर्न सहज छ ।
केहि तथाकथित शिक्षाबिद भनाउँदा शिक्षित र बुद्धिमान भनाउँदाहरु अनि बिदेशीको डलर उघ्राउने अनि तिललाई पहाड बनाउने संकीर्ण सोंच भएका, पतित, निच र ढोंगीहरुले विभिन्न आलोचना, गाली गर्दै तपाइँ हाम्रो बिचको सुमधुर र पवित्र विद्यार्थी शिक्षकको न्यानो दरिलो अनि अटुट सम्बन्धलाई खलल पुर्याउन, पेशागत त्याग र समर्पणमा दरार ल्याउन हरेक प्रयत्न जारी राखेका छन्, प्रपन्च रचिराछन्, भ्रामक कुरा गर्दै पानीमाथिको ओभानो अनि दुधको साछी बिरालो बनिरहेका छन् ।
यसबाट तपाईहरु किञ्चित बिचलित नभईकन, धैर्यताको बाध नटुटाइकन, सचेत बन्दै आफ्नो घरमै बसेर पहिला बाच्न सफल बन्नु होस्, हाम्रो पुरानो उखान छ नि ‘जिउ बाचे घिउ खान पाइन्छ’ भन्ने हो यस विषम परिस्थितिमा मात्र यहि गर्नु हो । तपाईहरुको भाग्य भविष्य केहि पनि विग्रेको छैन,केहि बितेको छैन, सकी गको छैन, केहि क्षति पुगेको छैन,समुन्द्रको गहिराइमा भाग्य र भविष्य डुबिसकेको कदापि छैन, अलिकती ढिलोमात्र हुन खोज्दैछ ।
समस्यालाई अबसरमा बदल्न सिक्ने बातावरण आएको छ, समस्यालाई अर्जुनदृष्टि दिदै लक्ष्मण रेखाभित्र रही रामबाण प्रहार गर्ने मौका आउँदै छ । पुरानो र कोरा कितावको सैद्दान्तिक बासीज्ञान मात्र ठूलो कुरा होइन, भविष्यको निर्णायक किमार्थ होइन यो विषम परिस्थितिले तपाईहरुलाई घरमा बसेर व्यवहारिक र उपयोगी ज्ञान सिक्ने ठूलो मौका दिएको छ ।
अनुशासनका कुरा,भान्छाका ज्ञान सिप, सामाजिक दायित्व अनि करेसाबारीका काम र सिप सिक्नुस, खेतिपातीमा बुबाआमालाई सघाउँनुस अनि संघर्ष के हो, श्रम के हो, श्रमप्रतिको आस्था अनि सम्मान सिक्नुस, सामाजीकरण हुन् सिक्नुस, बुबाआमाको दुःखपीडा अनि संघर्ष नजिकबाट चियाउनुस, अभिभावकत्व र परिवारप्रतिको जिम्मेवारी पूरा गर्दाको दुःख र शास्ती केलाउन सिक्नुस त्यसले भोलि तपाईहरुलाई ठूलो विश्वविद्यालयले दिएकोभन्दा अझ बढी उपयोगी खुराक अनि सिप र ज्ञान दिन्छ जुन स्वाबलम्बी बन्न अनि गरिखान सहयोग पुग्छ ।
दिनपछि रात, उज्यालोपछि अध्यारो, असफलतापछि सफलता, जन्मपछि मरण आदि सास्वत सत्य हुन् समय परिवर्तित छ आजको समय पल, क्षण भोलि पक्कै रहँदैन अनि आउँदैन त्यसैले आज आजै हो भोलि होइन, आजका लागि बाच्नु पर्छ, खुशी रहनु पर्छ, सचेत रहनु पर्छ किनकि कालो र मडारिएको बादलभित्र पनि चादीका घेरा हुन्छन् ।
यो कुरा बिर्सिनु हँुदैन, हरेक समस्याका पछाडि समाधानका अनगिन्ती विकल्पहरु हुन्छन, तातोपानी केहि समयभित्र अवस्य सेलाउछ, पहिरो गए ठाउँमा रुख बिरुवाहरु उम्रिन्छन र डढेलो लागे ठाउँमा चिउला मुनाहरु अवस्य पलाउँछन्, गहिरो घाउ बिस्तारै खाटा बस्छ पानी तातेर बाफ नै बन्ने हो, बाफ चिसिएर पानीनै बन्ने हो तपाइँहरुलाई थाहा नै होला एकदिन पनि विद्यालयको आगन नटेकेका धेरै मानिसहरु सफलताको शिखर चुमेका छन्, कक्षामा अति कमजोर अनि सधैंभरि असफल भएका हत्तोत्सायी व्यक्तिहरुले ठूलो सफलता र व्यवसायिक, खुशी र समृद्द जीवन जिउँदै छन् ।
बिलगेट्स, जुकरवर्ग, ब्याबेज पढाइभन्दा व्यवहारिक सिप र लगनशीलता त्याग र संघर्षबाट ठूलो प्रगति गरेका हुन् । रामायण लेख्ने भानुभक्त अनि महाभारत लेख्ने बाल्मिकीदेखि थोमस अल्बा अडिसन हँुदै अरु विश्वविख्यात व्यक्तित्वहरु स्वअध्ययनबाट सफलताको शिखरमा चुमेका बग्रेल्ती उदाहरण छन् ।
अहिले तपाईंहरुको घरमा रेडियो होला, टेलिभिजन होला, तपाइको हातमा मोवाइल होला आफ्नै नभएपनि घरमा कसैको होला, नेपाल सरकार तथा अन्य धेरै निजी तथा सरकारी शैक्षिक संघसंस्थाहरुले श्रव्यदृश्य माध्यमबाट, दुरशिक्षाको माध्यमबाट, भर्चुअल कक्षाबाट शिक्षणसिकाई सहजीकरण गरिरहेका पनि छन्, सम्भव भएसम्म त्यसलाई बढीभन्दा बढी सदुपयोग गर्नुहोला, अनुसरण गर्नुहोला, केहि समस्या भएमा, नबुझेमा अनि कठिनाइ भएमा हरेक पल हामीसँग जोडिनु होला, मिसकल मात्र गरे हुन्छ ।
हामी नै कल गर्छौ, सहजीकरण गरिदिन्छौ, च्याटिंग म्यासेज अनि सम्भवभए भिडियो कल पनि गर्न सक्नु हुनेछ । हाम्रो संजाल तपाईहरुको सेवाको लागि चौवीसै घन्टा खुल्ला छ, तत्पर छ आफ्नो मोबाइलमा गीत सुन्ने, फिल्म हेर्ने, अस्लिल तस्बिर अनि पोर्न भिडियो हेर्ने, फेसबुक मात्र खोल्ने, च्याट गर्ने अनि टिकटक बनाउने, पब्जी खेल्ने मात्र नगरी विभिन्न वेबसाइट हेर्दै, उपयोगी, ज्ञानवद्र्धक अनि बिषयबस्तुलाई सहयोग पुग्ने किसिमका ज्ञान, सिप र विधि जस्ता क्रियाकलापमा ध्यान दिनु हुनेछ ।
युटुब खोलेर भान्सा सम्बन्धि रेसिपी, खेति सम्बन्धि नबिनतम प्रविधि, पशुपालन, पन्छिपालनका तौरतरिका फाइदा खोज्नुहोस, अनुसरण गर्नुहोस,सिकाइ प्रविधिको सहि सदुपयोग गर्नु हुनेछ । सम्बन्धित पाठहरू मोबाइलमा रेकड गरि हिड्दा, बस्दा, सुत्दा इयर फोन लगाएर सुन्न सक्नु हुन्छ यसैमा तपाइँ हाम्रो अनि सबैको नै कल्याण हुन्छ । हामीले ठूलो समस्याको बाबजुद पनि स्वअध्ययन सामग्री अनि पाठ्यपुस्तकहरु वितरण गरि दिएका छौ ।
तपाइँहरुले हरेक दिन सबै बिषयको एक एक पाठ भएपनि अध्ययन गरेर पाठको अन्त्यमा भएको अभ्यास गर्नु होला कतै समस्या आएमा विद्यालय तथा बिषय शिक्षकसँग भेट्नु होला, सम्पर्क गर्नु होला हामी हरेक समय सहयोगमा समर्पित छौ ।
यदि हतियारलाई साँध लगाएर धारिलो बनाइ राख्यो भने एकदिन अवस्य केही न केही सिकार आइपर्छ, अजिङरको आहारा दैबले पुर्याउँछ, यो कुरा गहिरिएर मनन गर्नुहोला अवसरले तपाईं हाम्रो ढोका एकपटक मात्र घच्घच्याउँछ, बारम्बार आउदैन, सिकारीले पहिलो प्रहारमा सिकार मारेन भने त्यो नभेट्ने गरि उम्किन्छ, भोकले मुख बाहेर सुतेको भ्यागुताको मुखमा किरा फट्याङ्ग्राहरु आफै होमिन आइपुग्छन ।
अहिले विश्व कोरोना भाइरसको संक्रमणबाट त्रसित छ, धेरैले ज्यान गुमाई सकेका छन् अनि हरेक देशको अर्थतन्त्र ओरालो लागेको छ भने धेरैको रोजीरोटी खोसिएको छ,श्रम हराएको छ भने भोको पेटले रोग र भोकमरीसँग लडिरहेका छन् । धेरैले त यो कुरालाई अतिरन्जित गर्दै कृत्रिम डर अनि भ्रम फैलाएर मानसिक त्रास बनाउदै मनोबल गिराउने नकाम पनि गरि रहेका छन् । मेडियामा भाइरल बन्न, ट्रेन्डिङ बन्न, लाइक, शेयर, भ्युज, कमेण्ट बटुल्न उल्टो बुद्धि लगाइ रहेछन ।
यो त्यत्रो आतंक सञ्जालभरि फैलाएजस्तो ठूलो महामारी र घातक भाइरस कदापि होइन धेरै मानिसहरु बिना खोप निको भएर फर्किएका उदाहरण धेरै छन् । यो रोग लागि हालेपनि ९९ प्रतिशत बाच्ने सम्भावना छ । स्वस्थ्य तन्दुरुस्त व्यक्तिको मरेका छैनन, स्वास्थ्य हाम्रो अमूल्य धनरहेछ, यसलाई हरदम बचाआंै ।
हामीले पूर्ण रुपमा मानसिकता दह्रो बनाएर,मनको बाघले खाने सोंच हटाउदै उच्च मनोबलका साथ यो रोगलाई सजिलै परास्त गर्न सकिने कुरामा विस्वस्त बन्नुपर्छ सत्य यहि हो सत्य तितो हुन्छ तर फल मिठो हुन्छ । अहिले धेरै विकसित अनि प्रविधिमा अग्रगामी छलांग मारी सकेका देशहरुले धेरै खोज, अनुसन्धान, खोप परीक्षण गरिरहेका छन् अनि आशाका पुञ्जहरु छरपष्ट उम्रिदै छन् हामी त्यति सारो आत्तिहाल्नुपर्ने अवस्था छैन ।
हिमाली देश, कृषि प्रदान देश अनि स्वच्छ पानी र जैविक खाना तथा मसलाको रुपमा धेरै औषधि जन्य जडिबुटी मिस्रित खाना खाएका तपाई हामीहरुको रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति अरुकोभन्दा धेरै नै बलियो छ । यसले भाइरसलाई सजिल्यै परास्त गर्छ ढुक्क भएर बस्न हामी सबै शिक्षकको तर्फबाट आस्वस्त पार्न चाहन्छु ।
यसो भनि रहँदा फेरी पुरै ओभर स्मार्ट भएर लुखुर लुखुर डुल्ने, पत्रु खाना खाने, भीडभाडमा जाने, घरवरिपरिको वातावरण फोहोर बनाउने, सडेगलेका अनि बासी खाना खाने, हात नधुनेचाँहि गर्नु हुँदैन, भीडभाडमा जाँदा मास्क लगाउनुपर्छ भन्ने हेक्का राख्नु होला । तपाईहरुका हजुर ‘बा’ हजुर आमा,बाबुआमा तपाइँ भन्दा नबुझ्ने अनि नपढेका पनि हुन् सक्नुहुन्छ ।
उहाँहरुलाई पनि हरेक कुरा सम्झाउँन नभुल्नु होला अनि आफु भन्दा साना भाइबहिनीहरुलाई पनि सिक्ने कुरा अनि मनन गर्नुपर्ने कुरा सम्झाउदै, सिकाउदै गर्नु होला, यो विषम परिस्थितिलाई अवसरमा बदल्दै संस्कार, सिप, ज्ञान, अनुशासन, कर्तव्य अनि नैतिकतामा आफुलाई समायोजन गर्दै रहनु होला ।
तपाईहरु त धेरै बुझ्ने अनि जान्ने हुनुहुन्छ, हिजो कक्षा कोठामा धेरै प्रश्न अनि जिज्ञासा राखेर हामीलाई समेत केहि बुझ्ने मनन गर्ने अवस्था ल्याइदिनु हुन्थ्यो । यसबाट यो बुझ्न सकिन्छ कि तपाइँहरुमा धेरै ज्ञान अनि बौद्धिकता निहित छ, जिज्ञासा अनि चाहनाको अपार खानी छ, संभावनाको ठूलो सागर छ । कागले कान लग्यो भनेर कान नछामी कागको पछाडी दगुर्ने दुष्प्रयास किञ्चित नगर्नु होला, धैर्यधारण गरेर बस्दै आफ्नो कर्तव्य नभुल्नु होला, हामी हरहमेसा तपाइँहरुसँगै छौ ।
हाम्रो केहि समय सम्पर्क बिच्छेद भयो, सम्बन्ध बिच्छेद कदापि भएको होइन, समुन्द्रको गहिराइमा डुब्नेले त परालको त्यान्द्रो समातेर उत्रिने साहस गर्छ भने हामी त त्यति ठूलो विकराल दलदल र चक्रब्युहमा फसेका पक्कै होइन । केहि समय प्रतिकुल मात्र भएको हो, चाँडोभन्दा चाँडो अनुकुल हुने नै छ ।
त्यस पछाडि हाम्रो हिजोका नित्यकर्महरु यथावत सुचारु हुने नै छन्, समय सबैभन्दा ठूलो शिक्षक हो, एउटा अबसर हो ब्यर्थमा खेर फाल्नु हुन्न,यो कुरा अन्तर चक्षुबाट मन नगरौ । आशा गरौ, भरोसा गरौ, बाँचौं बचाउ, केही सिकौ,जानेका कुरा अरुलाई पनि सिकाऔ अनि सहज परिस्थितिको स्वागत गर्न तयारी बनिरहौं । (लेखक खत्री सरस्वती माध्यमिक विद्यालय साकेला गाउँपालिका–५ मात्तिम,खोटाङका शिक्षक हुन् । )