राधा सुवेदी
मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ । ठूलो घरभन्दा सुखी परिवारको महत्व उनीहरुलाई भन्न जरुरी छ । बाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडीमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनीहरुलाई सिकाउन पर्दछ । कारमा बसेर सपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनीहरुलाई सिकाउन जरुरी छ ।
निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमास र सैतानी व्यवहारहरु अनि तिनीहरुका अवोध गतिविधि, बालबालिकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त सायद प्रकृतिले हामी मानिसलाई पनि यही रुपमा रही रहनका लागि बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यिनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागि वाल दिवस मनाउने गर्दछ । बर्षमा एक दिन बालदिवस मनाउदैमा बाल अधिकार सुनिश्चित हुन्छ र ?
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । दिवस मनाउनु भनेको उत्सव मनाउनु हो । खुसी मनाउनु हो । यो दिवस बालबालिकाको हक अधिकारको पक्षमा बहस गर्दै विभिन्न कार्यक्रम गर्दै मनाउन थाकिएको छ । कोहीले विद्यालयमा जम्मा भएर मनाउनु भयो होला । कोहीले विभिन्न संघसस्थामा विभिन्न कार्यक्रम गरेर मनाउदै हुनु हुन्छ होला । कोही ठाउँमा सडक बालबालिकाका कुरा भए होला । कोहि ठाउँमा घरबाट बालश्रम मुक्त गर्नुपर्ने कुरा भए होला । इट्टाभट्टा र विभिन्न ठाउँबाट बालश्रम हटाउने विषयमा छलफल भए होला । बालश्रम न्यूनीकरण गर्ने र बालअधिकारको प्रत्याभूति गराउन माग भए होला ।
केन्द्रीय बालकल्याणका अध्यक्ष, सचिवहरु, विभिन्न पार्टीका मन्त्री तथा नेताहरू, बालअधिकारकर्मीहरु सबैले आफ्नो आफ्नो क्षेत्रबाट बालअधिकार सुनिश्चित गर्न प्रतिबद्धता पनि जनाए होला । हरेक बर्ष प्रतिबद्धता जनाइन्छ । विभिन्न कार्यक्रम, छलफल, सभासमारोह हुन्छन् । बालबालिकाको पक्षमा कानुन बन्छ तर कार्यान्यन हँुदैनन् । अधिकारको कुरा हुन्छन तर अधिकारको कुरा गर्ने बाटै अधिकार हनन भएका छन् ।
२०६२/६३को आन्दोलन पछि मुलुकको राजनैनिक आवस्था फेरियो तर फेरिएन बालबालिकाको भविष्य र जीवन शैली । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो तर बालबालिकाहरुको शोषण र पोषणको समस्या अन्त्य भएन । सरकारी र निजी क्षेत्र दुबै मिली बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने गरेता पनि बाल अधिकारको अवस्थामा अपेक्षित रुपमा सुधार आउन नसक्नुलाई मूख्य कमजोरीको रूपमा लिएको छ ।
सवारी साधनमा, होटेल, रेस्टुरेन्ट, केही ठूला तथा साना उद्योगहरुमा बालबालिकाले आफ्नो श्रम बेच्न बाध्य छन्, साथै दुव्यवहार भोग्न पनि । हाम्रा कति बालबालिकाहरु । शिक्षा लिनबाट बञ्चित छन् । कति बालबालिकाले गरिबीको कारण पढ्न पाएका छैनन । कति बालबालिकाहरुले सानैमा आफ्नो बुबाआमा गुमाएका कारण पढ्न पाएका छैनन् । कतिपय बालबालिकाहरु परिवारिक समस्या, बुबाआमा अशिक्षित, कतिपयले घरपरिवार बिहिन भएर सडकमा प्लाष्टिक टिप्दै सडकमै बाँस बस्न बाध्य छन । कापी र कलम हुनु पर्ने विद्यार्थीको हातमा चुरोट र वियरका बोतल हुन्छन् । स्कूल क्याम्पसमा हुनुपर्ने विद्यार्थी जुवातास, भट्टी पसल, लागूऔषध र केरेमबोर्डमा झुम्मीरहेका हुन्छन् । जो हाम्रो देशका भोलिका कर्णधार हुन, हाम्रो भविष्य हुन् । देश विकास र परिवर्तनका आधार हुन ।
बालबालिकाहरुको हक र हितको संरक्षणको लागि बालदिवस एउटा महत्वपूर्ण दिवस हो । दुर्बल पक्षलाई हटाउदै र घटाउदै सबल पक्षलाई मजबुद बनाई बालबालिकाहरुको अधिकार संरक्षण गरियोस् । यस दिनलाई औपचारिकतामा मात्रै सिमित नराखी थप उपलब्धिमूलक बनाउन सकियोस् ।
पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डण्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलिका बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशील छ । तथापि उनीहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धत गर्न पाउँदाको असिम आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरुले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन् र बालपनको यो संसार मायामा अडेको छ । तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनीहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनीहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनीहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनीहरुमा भएको क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं । बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ । उनीहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तव्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतका लागि अनुपम उपहार हुन र उनीहरुले विशेष माया र सम्मान पाउन पर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं । जसमाथि विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ । जो बिरामी परेका छन र उपचारको पहुँचमा छैनन ति बालबालिकाहरु जो खुशी छैनन, तिनीहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नु नै आजको दिनको उद्देश्य हो ।
आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा–आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ । जीवन एकदमै व्यस्त हुँदै गएको छ । तथापि के उहाँहरुले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन ? के तपाई–हाम्रा बालबालिका सही दिशातर्फ उन्मुख भइरहेका छन् या छैनन् । यदि छैनन् भने हामीले आफ्नो व्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो, त्यो पनि बिचार पु¥याउन जरुरी छ ।
हाम्रा बालबालिका असल हुन, असल सोचुन असल बन्नुन, असल देखुन आफ्नो अधिकार पाउनको लागि झण्डा बोकेर सधै सडकमा आउन नपरोस् । बाबा–आमाको माया, शिक्षाबाट कुनैपनि बालबालिका बञ्चित नहुन “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को सबै सबैमा धेरै धेरै हार्दिक शुभकामना !!