राधा सुवेदी
नेपालको शिक्षा युवाहरु विदेशको लागि जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री कहिलेसम्म बन्ने होला ? कामका लागि युवा विदेसिँदा देश विकासमा जनशक्तिको अभाव भएको छ । श्रम निर्यात गर्दा गाउँका कृषियोग्य जमीन सबै बाँझो हुँदै गएका छन् । उत्पादनका क्रियाकलाप शिथिल छन्, र आधारभूत खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था छ । घर गाउँहरु दिन प्रतिदिन खाली हँुदै गइरहेका छन् । प्रतिकूल मौसम, असुरक्षित कार्यस्थल, कडा परिश्रमलगायत कारण बर्सेनि हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएको तीतो यथार्थ छ ।
नेपाल सरकारले न कुनै रोजगारी दिन सकेको छ, न त आफै केही गर्छु भन्दा आर्थिक प्रगति गर्न सकिएको छ । चुनावमा खसालेको मतले किमत नपाएपछि किस्मत खोज्दै कलिला युवाहरूलाई विदेशिन बाध्य कसले बनायो ? यसको बारेमा अब पनि सरकारले सोचेन भने हाम्रो देश नेपाल कहिले बन्ला ?
नेपालमा नै केही गर्नुपर्छ भन्ने भावना युवामा एक पटक अवश्य आउँछ तर जब परिवारमा आर्थिक विषयले प्रवेश गर्दछ, तब सबै ढोकाहरू बन्द भइदिन्छन् अनि वैदेशिक यात्राको ढोका खोल्नु बाहेक अरु उपाय देखिँदैन ।
केही सामान उत्पादन गरौँ उचित बजार छैन । उत्पादन गरिएपनि सामानको मूल्य पाउन उति नै मुस्किल हुन्छ । उत्पादन मूल्यभन्दा आयातित वस्तुको मूल्य कम हुन्छ । अनि कसरी बिक्री होस् ? त्यहाँ पनि घाटा, नेपाल सरकारलाई ठाउँपिच्छे कर, केही प्रक्रियामा त्रुटि भए जरिवाना अनि कसरी टिक्न सक्ने नेपालमा ? नेपाली उत्पादनले बजार नपाउनुमा मुख्य कारण भनेको दिन प्रतिदिन वयस्क नागरिक विदेशिनु पनि हो ।
नेपाल सरकारले अब नीतिगत रुपमा उद्योग स्थापनालाई मुख्य प्राथमिकतामा नराखेसम्म जोसुकै नेता आएपनि केही हुनेवाला छैन । उद्योग कलकारखाना स्थापना गरेर धेरै भन्दा धेरै युवालाई रोजगारी दिनको लागि अबको सरकार लागि पर्नुपर्ने देखिन्छ । होइन भने अबको विकल्प शैक्षिक प्रणाली नै परिमार्जन गरी उच्च शिक्षामा जापानिज, अंग्रेजी, अरबी, कोरियन भाषाका साथै विदेशमा गएर काम लाग्ने सीपहरू कोर्समा राख्दा कसो होला ?
मन्त्रीज्यु, अब विदेश भ्रमण जाँदा श्रम सम्झौता हैन व्यापार सम्झौता गरेर फर्किने गर्नुस् । नेपाली युवाहरुले कहिलेसम्म अरुको देशमा रगत र पसिना बेच्न जानुपर्ने हो । दैनिक १५०० देखि २५०० सम्म युवाहरू बाहिरिने क्रम जारी छ भने ५० देखि १०० सम्म लास भित्रिने क्रम पनि त जारी छ । नेपालको विकास गर्न चाहनु हुन्छ र नेपालीको मुहारमा खुशी देख्न चाहनु हुन्छ भने सबल, सक्षम, शिक्षित युवा विदेश जान रोक्नु पर्छ । खुशी नेपाली, समृद्ध नेपाल नारा मात्रै लागाउने र युवा पलायन हुन नरोक्ने हो भने सधै ठूलो भाषण र आश्वासनले भरिएको नाराको केही अर्थ छैन । नेपालमा कुनै व्यवसाय गर्छु भनेर बैंकमा ऋण माग्न जानुस् हजार प्रश्न, सयौं कागजात माग्छन अनि महिनौ लाग्छ ऋण स्वीकृत हुन ।
अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा जान्छु भन्नुस् निसंकोच पचासौं लाख लगानी गर्न पनि तयार हुन्छ । अरु त अरु आफ्नै बाबा आमालाई समेत पनि नेपालमै केही गर्छु भन्नुस् विश्वास भन्दा बढि शंकाको नजरले हेर्नु हुन्छ । विदेश जान्छु भन्नुस् जति पनि लगानी गर्दिनु हुन्छ ।
गाउँघरमा छोरा आजभोलि के गर्दैछ भनेर सोध्दा नेपालमा उद्यमी बनेको छ, भैंसी पाल्दैछ भन्न, बाख्रा पाल्दैछ भन्न त्यति गर्व लाग्दैन बुबाआमालाई । तर जसको छोराछोरी विदेशमा हुन्छ । उहाँहरु छाती फुलाएर भन्नुहुन्छ मेरो छोरा अष्ट्रेलियामा छ, छोरी अमेरिकामा छे, जापान, कोरिया, युके, क्यानडामा छन् । भन्ने गफ सुनिरहँदा बाबुआमाको पनि मन कटक्क हुन्छ अनि आफ्नो सन्तान चाहिँ नालायक भएको ठान्नु हुन्छ । अनि तेरो केटा साथी चाहिँ के गर्छ भनेर कसैले सोध्दा नेपालमै कुखुरा पालन गर्छ । पसल गर्छ, स्वदेशमा नै जागिर खान्छ भन्न पनि अप्ठ्यारो युवतीहरुलाई आजभोलि उनीहरुलाई स्वदेशमा नै केही गर्ने बस्ने, सरकारी जागिरे भन्दानी ग्रिन कार्ड होल्डर, पिआर वाला नै बढी मनपर्न थालेको छ ।
नेपाली मन, नेपालीपन भन्दा बढी बिदेशी रहनसहनमा रम्न थालेका हाम्रा दाजुभाई दिदीबहिनीहरुले आफ्नो देशको भाषा, धर्म संस्कृति, सबै भुल्ने त हैनन् ।
नयाँ बानेश्वर, पुतलीसडक, कोटेश्वर, बागबजार, कीर्तिपुर लगायत काठमाडौंको चोक, चोकमा उभिएर हेर्नुस् सबै घरको भित्तामा यति ठूलो अक्षरले “स्टडि इन फलानो देश लेखेको हुन्छ” कि लाग्छ नेपालमा सबैको आँखा कमजोर छ । यस्तो लाग्छ सबै व्यवसाय नेपालीलाई विदेश पठाउने मात्रै खालको छन् । पत्रपत्रिकामा खुशीको खबर भनेर आउँछ, अब जापानले पनि नेपाली कामदार वर्किङमा लाने भो अरे, मलेसियाले फ्रि मा लाने भो अरे, दुवईले पनि उतै बस्न चाहनेलाई नगरिकता दिने भो अरे, श्रम सम्झौताका देशको संख्या थपिदै छन् अनि हामी चाहिँ यसैमा खुसी आखिर कैलेसम्म हुने होला ।
मन्त्री ज्यू, विदेश भ्रमणमा जाँदा श्रम सम्झौता मात्रै गरेर फर्कनु हुन्छ । व्यापार सम्झौता गरेको कमै सुनेको छु । आजको विश्व व्यापारीकरणको समयमा विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, सीप सिक्नु अपराध हो भन्न विल्कुल खोजिएको होइन । तर जुन रुपमा नेपाल छोड्ने परम्परा विकास भएको छ, यो भने गलत हो ।
यदि विदेशिने मोह यसरी नै बढ्दै जाने र सरकारले नीतिगत रुपमा यसलाई रोक्न सकेन भने अबको १० वर्षमा झनै विकराल अवस्था नआउला भन्न सकिन्न । ३ करोड भन्दा कम जनसंख्या रहेको हाम्रो नेपालमा अन्य मुलुकमा कति नेपाली गएका छन्, विभागसँग अधिकारिक तथ्यांक छैन् । नेपालमा अब बालबच्चा र वृद्धहरू मात्र नहोलान् भन्न सकिन्न ।
पहाडी गाउँहरू रित्तिँदै गइरहेका छन् । त्यही वृद्धवृद्धाका छोराछोरीहरू विदेशमा नै स्थायी रुपले बस्नको लागि पीआर अप्लाई गरेका छन् । हाम्रो सफलताको सूचक नै फेरिएको छ । हाम्रो संस्कार नै बदलिएको छ । हाम्रो अबको पुस्ता विदेशिने सपना लिएर हुर्कन थालेको छ । परदेश बाध्यता भन्दा बढी रहर हुन थालेको छ । अन्य देशका मानिसहरु अन्य राष्ट्रहरुले नयाँ नयाँ सामान, नयाँ प्रविधि उत्पादन गरेर अरु देशति सप्लाई गर्छन । हाम्रो देशमा भने १८/२० बर्षको कलिलो उमेरमा नै नागरिकता पासपोर्ट बनाएर युवाहरूलाई श्रम गर्न, रगत र पसिना बेच्न अरु देशमा पठाइन्छ फरक यति हो । (लेखक सुवेदी बराहपोखरी गाउँपालिका–१ बरापोखरी खोटाङकी स्थानीयवासी हुन् ।)