तीर्थराज भट्टराई ।
मेरो लागि चाहे गर्मी होस् या जाडो कुनै प्रवाह हॅुदैन विहानै उठ्नका लागि ४ बजेको समय । हो यो मेरो नानीदेखि लागेको बानी । कतिपय स्वभाव र कार्यशैली बाल्य अवस्थादेखि नै बसेको हुन्छ र बिल्कुलै सकिन्न रहेछ परिवर्तन गर्न पनि । नशा झैं लाग्छ मलाई विहान ४ बजेपछि छोड्नै पर्ने ओछ्यान । फेरी बेलुकी ९ बजेपछि खट्पटी हुन्छ ओछ्यानमा ढल्कनको लागि । तर जिम्मेवारी र कर्तव्य पालना गर्नुपर्ने भूमिकामा रहेकोले प्रायः पाइन्न ९ बजे नै सुत्न । तर नशा झैं झुलिन्छु म बेलुकी ९ बजे सुत्न नपाउॅदा र विहानै ४ बजे उठ्न नपाउॅदा पनि । बेलुकीको समय अरूको हातमा भएकोले सकिन्न पालना गर्न तर विहानको समय आफ्नो हातमा रहेकोले कुनै समस्या रहन्न पालना गर्न। वैदिककालदेखि नै ऋषिमुनीले विहानै उठेर नुहाउनु स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेका छन् भने विज्ञानले पनि स्वीकारेको छ यो विषयलाई ।
हुनत हाम्रा आमा हजुरआमाको भनाई होस् वा धार्मिक र व्यवहारिक हिसाबले गर्ने क्रियाकलाप विज्ञानसंग जोडिएका छन् सबै । विज्ञानले तथ्य देखाउॅछ भने हामीहरू त्यसलाई उतार्छौं व्यवहारमा । चेतनाको हिसावले तथ्य प्रमाणित गर्न सक्दैनौं होला वैज्ञानिकलाई तर हाम्रा पूर्खाले गरेका हरेक कामलाई पुष्टि गरेको छ विज्ञानले ।
आजकै दिन २०६० साल मंसिर १७ गते दिप्रुङ चुइचुम्मा गाउॅ पालिका वडा नं. २ , डॅाडागाउॅ चारकिल्ला निवासी स्व। रत्नप्रसाद र स्व। ईन्द्रकला सिग्देलकी कान्छी छोरी कुमारीजीलाई सिन्दुर पोते लगाएर अॅगालोमा बॅाधेको थिएं मैले । आजको यो महत्वपूर्ण दिन मलाई त याद पनि नहुने रहेछ कान्छीले नभनेको भए । विमानस्थल प्रवेश गरेपछि पो खुसुक्क कानमा सुनाइन बुढा वार्षिक बिबाह वर्षगॅाठ होइन आज ११ कस्तो ख्याल नगरेको रु होसै छैन हौ तपाईको त १ उनले भनेपछि पो झल्यॅास्स भएं म त । न गर्ल्याम्मै अॅगालो हालेर गर्नु मायॅा न साथमा छ र दिनु गुलावको फूल । मुसुक्क हॅासेर उनको मनलाई आस्वस्त पारें र वर्षगॅाठको अवसरमा सौभाग्यवती हुनु भनेर दिएं मनमनमा शुभेच्छा । हुनत विगतमा तामझाम र वर्षगॅाठ मनाएको भएपो कुमारीजीलाई त्यस्तै हुन्थ्यो अपेक्षा ।
र मलाई पनि थिएन घर झगडा हुने चिन्ता र उनमा पनि अन्य कुनै प्रकारको अपेक्षा । दक्षिण कोरियाको मैत्रीपूर्ण भ्रमणका लागि उपप्रमुख विसन राई तथा निम्त्याउने विश्वविद्यालयका प्रतिनिधि नवराज काफ्ले समेत पुगि सकेका थियौं विमानस्थलमा । विमानस्थलमा देखिएको भिड्ले गिज्याई रहेको थियो हामी जनप्रतिनिधि र राजनीतिकर्मीलाई । केन्द्रदेखि पालिका तहसम्मका हामी जनप्रतिनिधिलाई धारेहात लगाई रहेका थिए सबै अविभावकले ।
कानमा गुन्जी रहेको थियो नेतृत्वकर्ता माथिको गालिको वर्षा । कतै मेयर हो भनेर चिनिहाले भने कसो गर्ने होला भन्दै भयले च्यापि रहेको थियो मलाई । के भन्ने होला रु गर्वका साथ प्रतिवाद गर्ने कुनै थिएन मसॅग जवाफ । यो प्रतिनिधि मुलक सोच र अवस्थालाई मैले परिकल्पना गरेको हो र परिकल्पनालाई उतार्ने कोशिस गरेको हो आलेखमा ।
युवा जनशक्तिको पलायनले राज्य अझ अधोगति तर्फ उन्मुख रहेको संकेत हो , तथ्य सहित भन्न सक्छु म । तर म पनि भन्न सक्दिन रोजगारिको व्यवस्था सिर्जना गरेर युवा जनशक्तिलाई म मेरै पालिकामा रोक्छु भनेर । यो भयाबह अवस्थाबाट गुज्रिरहेको छ हाम्रो देश । १२ पास गरेपछि प्रायः कुनै पनि विद्यार्थी बस्न चाहन्न नेपाल र राख्न चाहन्नन् अविभापक पनि आफ्नो देशमा ।
कोही हातमुख जोड्न परदेश गई रहेको छ भने कोही करौडौं सम्पतिको मालिक भएर पनि । भिन्दाभिन्नै छन् बाध्यता र परदेश जाने सोच र परिकल्पना । जेसुकै होस् किन सकेन नेतृत्वले ती सोच र विचारलाई सम्बोधन गर्न र सकेन आस्वस्थ बनाउन । मूल प्रश्न यो हो र खोज्नुपर्छ नेतृत्वले यसको हल । अन्यथा एउटाले अर्कोको सत्तोसराप गरो अनि बिस्तारै मुलुक बन्छ मानव विहीन खण्डर । युवा नभई देश विकास हुन सक्दैन र सकिन्न समाज परिवर्तन गर्र्नका लागि पनि । त्यसैले सबै दलले आग्रह पुर्वाग्रह छोडेर जरूरी छ युवा पलाएन रोक्ने र स्वरोजगार बनाउने मुद्दामा केन्द्रित हुन ।
ओठ माथि भर्खरै जॅुगाका रेखि बस्दै गरेका युवा र गुलाव झैं फक्रॅदै मस्त जवानी तर्फ उन्मुख कलिला युवतिहरूको विदेश जानेको लर्को लागेको देखेर मन चसक्कै पोल्यो तर नेपालमा नै रोक्ने स्पष्ट कार्य योजना छैन मेरो मष्तिष्कमा पनि । मैले मेरो नगरपालिकामा कृषि र पर्यटनको प्रशस्तै सम्भावना छ , सैकडौं मानिसलाई रोजगारी सिर्जना गर्छु भनेकैभरमा कोहि अडिनेवाला छैन नेपालमा वा मेरो पालिकामा । यो लहर केहि वर्ष चल्छ नै निसन्देह स्वीकार्नुको विकल्प छैन हामी सबैले ।
चाहे केन्द्रको बागडोर सम्हाल्ने बडे राजा हुन् या पालिका तहका हामी जस्तै मैमत्ता छोटेराजा हुन खोज्ने जनप्रतिनिधि नै किन नहुन् १ यो तथ्य हो हामीले केहि वर्ष अविभावकको रूपमा बाईबाई गर्न जानै पर्ने देखिन्छ विमानस्थलसम्म छोराछोरी र नातिनातिनालाई । हामीले स्वीकार्नै पर्छ परिस्थितिलाई र मोल्नै पर्छ जोखिमलाई पनि ।
मैले म छोटेराजा होइन भनेर प्रतिवाद गरौंला तरपनि चिया गफमा दिनहॅु दर्जनौ पटक उपाधि पाइएकै छु भने किन नस्विकार्नु त छोटेराजाको पगरी ११ तर निर्धक्कका साथ लेख्न र भन्न सक्छु म जिम्मेवारीले छोटेराजा जस्तो देखिएको होला तर चरित्र र प्रवृति छोटेराजाको जस्तो छैन मेरो र हुनुहॅुदैन पनि । यो आलोचना किन भइरहेको छ घोत्लिन जरूरी छ हामी सबै तहका जनप्रतिनिधिले । एउटा विराउने शाखा पिराउने भनेझैं सबै जनप्रतिनिधि बनौं र बचाउॅ गरिमालाई । सके राम्रो गरौं नसके नराम्रो नगरौं ।
हुनत नेतृत्वले गालि खाइन्छ भनेर परालका जस्ता खट्टा बनाएर लुते त बन्नु भएन नै तर फलामका जस्ता दह्रा खुट्टा बनाउने नाममा कानून हातमा लिने दुस्प्रयत्न गर्नु हॅुदैन कसैले पनि । उदॅागो नहुन्जेलसम्म गर्ने हो काम , तर बुझ्नुपर्ने हुन्छ नेतृत्वले सर्बॅाग हुनु सबैतिर सबैका लागि हुन्छ घातक भनेर । जनहितका लागि शासकले हुनै पर्छ निर्मम । तर हॅुदैन व्यक्तिगत स्वार्थका लागि राज्य सत्ताको दूरूपयोग गर्नु र छोटेराजा बन्नु । यो मेरो मान्यता हो र हो चरित्रगत स्वभाव पनि । अझै गर्वका साथ भन्न सक्छु म छोटेराजा हुन्न र हुन पनि दिन्न मेरो चरित्रलाई ।
काम गर्ने शिलशिलामा जिम्मेवारीका हिसावले कहिले ४(५ तारे होटलमा बसियो होला र बाध्यताले बसिन्छ पनि । र यो सोच्नु भएनकी शुभेच्छुकले आनन्द लिनका लागि हिडिरहेका र गतिविधि लिई रहेका छन् भनेर । प्रायः सरकारी गाडीमा सररर हिंडिरहेको पनि छु म । तर साधन र स्रोतको अन्दाजी १० प्रतिशत दुरूपयोग भएको हुन सक्दछ तर ९० प्रतिशत समाज र नगरको हितमा नै लागेकोछु मेरो ठम्याई हो यो ।पारिवारिक र व्यक्तिगत स्वार्थ भित्र कैद छैन म । कुनै न कुनै ढंगले सम्पति जोडिएको पनि देखिन्छ तर देश र जनतालाई बन्दकी राखेर कहिल्यै दोहन गरिएन र भोलिका दिनमा पनि गरिन्न यो कर्म । यो मैले दावा गर्ने भन्दा पनि समाजले देख्ने र तथ्य लेख्नेले खोज्ने विषय हो यो ।
त्यसैले मेरो मुल थलो दोर्पा र विगतलाई पनि राम्रै हेक्का राखेको छु मैले । र जिम्मेवारी सकिएको भोलिपल्ट दोबाटोमा पुगिन्छ भन्ने राम्रै गरेकै छु हिसाबकिताव । त्रिभुवन विमानस्थलमा विदेश जानेको भिडले मनमा धेरै उकुसमुस बनायो र वाध्य पाऱ्यो कलम चलाउन । अनि सदुपयोग गरें काठमाडौंदेखि चीनको च्छेंदु त्यानफु अन्तराष्ट्रिय विमानास्थल सम्मको आकाशे उडाइको फुर्सदलो समयलाई ।
जन्म दिन, विवाह वर्षगॅाठ आदि पर्वको सन्दर्भमा यो वर्ष मात्र होइन प्रत्येक वर्ष सम्झाउनु पर्छ कान्छीले नै मलाई । कहिले विहानै त कहिले बेलुकी , कति पल्ट त उनिले भोलिपल्ट समेत टेलिफोन गर्दै ५ मिनेटको प्रवचन सहित राम्रैसॅग सम्झाएकी छन् पर्व र उत्सवका बारेमा । तर हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ उनको कर्णप्रिय प्रवचन मेरो लागि । बेलाबेला राम्रैसॅग प्रहार हुन्छ चसक्क हुने गरि प्रेमिल बाण पनि तर दुख्दैन मलाई । मलाई त अझ ती र त्यस्ता प्रेमिल शब्दले आनन्दानुभूति दिन्छ । र धन्यवाद दिन्छु कुमारीलाई व्यस्त हॅुदाहॅुदै पनि पीडालाई कर्तब्यको रूपमा स्वीकारेर घरपरिवार र आफन्तजनलाई सन्तुष्टी दिलाउन सफल भएकीमा ।
वेवास्ता गरेको पनि होइन मैले । कतिपय समयमा मेरो व्यस्तता रहन्छ त कतिपय मेरो वेवास्ता पनि होला तर स्वभावजन्य विषय हुन सक्छ कहिल्यै गएन त्यतातिर मेरो ध्यान । परिवारसंग रम्न र घुम्नका लागि समय व्यवस्थापनको विधीको लागि लिनै छ ट्युसन । र यस विषयका विशेषज्ञको गरिरहेको छु खोजी ।
हेर्दा सामान्य लाग्छ तर छैन त्यति सजिलो जिम्मेवारी बहन गर्दै डाढु पुन्यौं हातमा लिन ।नुनदेखि सुनसम्म र घरदेखि बनसम्म सबै व्यबहार धानेर मलाई गरेकी छन् फार्से कुमारीले । मैले सायद कुमारीको साथ नपाएको भए मेरो बसाई आश्रमको हुने थियो कि जस्तो लाग्छ परिकल्पनामा । म स्वयम् ले घरव्यवहारका लागि खेल्रिहेको कर्तव्य र भूमिका आदिलाई मिहिन ढंगले केलाएर पोखेको अनुभूति हो यो ।
उनि पनि पुरानै जमानाकी भएकोले त्यस्तो रमझम र महोत्सब नै गर्नुपर्ने मान्यता त राख्दिनन् तर मलाई सचेत गराउॅछिन् चाड पर्व र महत्वपूर्ण दिन विर्सनु हॅुदैन भनेर । हुन त सायद अहिलेको नयॅा जोडि भएर मैले जस्तो यति ठूलो कमजोरी केटाले गरेको भए पक्कै पनि हुने थियो घर झगडा र सम्भावना पनि हुन सक्थ्यो पारपाचुके सम्मको अवस्था । अहिले यस्ता पर्व र उत्सब मनाउन युवा पुस्तामा चलिरहेको होडबाजिलाई चित्रण गर्न खोजिएको मात्रै हो यहॅा ।
एक त हामी पुराना जमानाको मानिस अर्को तर्फ फुर्सद नै पो कहॅा छ र हामी दुबै जनालाई वर्षगॅाठ मनाउने । याद त हुनैपर्थ्यो मलाई पनि आजको यति महत्वपूर्ण दिनको । तर मेरो आफ्नै स्वभाव र भूमिकाले कुमारीजीको नजरमा गिरेको छु यस्ता विषयमा सधैं । न जन्म दिनमा सॅगै न विवाह वर्ष गॅाठमा नै पाइन्छ खुशीयाली मनाउन । हुन त उनको पनि छैन त्यत्रो भड्किलो जीवनशैलीमा रमाउने स्वभाव । सादा जीवन र उच्च विचार राखेर समाजलाई योगदान दिने गरेकी छन् कुमारीले पनि । करिब डेढ दशकदेखि कुमारीजी कान्ति वाल अस्पतालको कर्मचारी । खोटांग जिल्ला तथा विभिन्न ठॅाउॅका विरामीको कुनै न कुनै ढंगले सहयोग र सेवा गर्नु उनको छ दिनचर्या नै । गरीव, दान, दुःखीको सेवा गर्नु सम्झिन्छिन धर्म र कर्तव्य पनि ।
सरकारी अस्पतालमा एक जना चिनेको कर्मचारी भेटिए मात्रै पनि निकै ठूलो ढाडस मिल्दो रहेछ । मेरो आफ्नै पनि अनुभूति छ विगतको । आफू अत्याधिक विरामी हॅुदाको समय होस् वा जेठो छोरो अन्तिम अवस्थामा पुगेको कारण २०६४ सालमा दिक्तेलबाट हेलिकप्टरबाट ल्याएर कान्ति बाल अस्पतालमा ४२ दिन आइसियुमा राखेको पीडादायी क्षण । राम्रै हेक्का छ मलाई धेरै ठूलो सहयोग पुऱ्याउने साथीहरूको फेहरिस्त । असजिलो अवस्थामा सहयोग गर्ने मानिस नै सच्चा मित्र हो न कि सजिलोमा हात बढाउने ।
हो आज हाम्रो २० वर्ष पुरा भइ २१ औं वर्षमा प्रवेश गरेको विवाह वर्षगॅाठको महत्वपूर्ण दिन । २० वर्षमा धेरै उतार चढावहरू पार गऱ्यौं । धरै पीडादायी र विर्सनै नसकिने घटनाको सामना समेत गरेका छौं हामीले । विवाह गरेकै वर्ष मेरो पिताजी लक्ष्मीप्रसादलाई गुमाउॅदै टुहुरो भयौं भने केहि वर्ष पछि अविभावकत्व दिने मेरो जेठो दाजु गुणराजलाई पनि ।
३ वर्ष अगाडी ६० वर्षको उमेरमा आमा इन्द्रकला सिग्देल आकस्मिक रूपमा वित्नुभएको घटनाले कान्छीले ठूलो पीडाबोध गरिनभने गत वर्ष मात्रै पिताजी रत्नप्रसादको स्वर्गारोहणपछि कुमारी स्वयं पनि विरामीको शिकार हुन पुगिन् । चिता से बढ्कर चिन्ता भनिए झैं कान्छी स्वयं पनि विभिन्न रोगको शिकार भएकी छन् तर स्वयं पनि अस्पतालको कर्मचारी भएकोले सचेत छन् स्वास्थ प्रति । मानिसको जीवन हो दुःख सुखका क्षण विर्सिंदै आगामी नयॅा र सुखी भविष्यको कामना गर्ने । अनि परिस्थितिको मूल्यांकन गर्दै जीवन जिउनलाई सरल र सहज बनाउने ।
अन्त्यमा , म जहॅा छु र जे छु धर्मपत्नीको सहयोगको हिसाबले निकै ठूलो योगदान छ कान्छीको । परिवारको लालन पालन र इष्टमित्र , ल्नदेन ब्यवहारको भरथेगको भूमिका पनि कान्छी को नै छ ।
व्यवहारिक हिसावले घरमा म त केवल बारको घोचो मात्रै हो भन्दा कुनै हीनताबोध छैन मलाई । नाम कुमारी भएपनि सिग्देल परिवारमा ठूलाघरेकी कान्छी छोरी भएकोले चिरपरिचित नाम हो कान्छी । म माइलो भएकोले हुनुपर्ने माइली तर उनको खुशीको लागि परिवारमा सबैको लागि सधैं भइन् कान्छी । म सधैं कान्छी भनेर नै सम्बोधन गर्छु तर घरव्यवहार भने परिपक्क हुन्छ जेठाको ।
विगतदेखि नै मंसिर १७ गते वार्षिकोत्सव सॅगै बसेर मनाउने चलन छैन । तर संयोग मान्नै पर्छ सासुससुराले पन्चेबाजा बजाएर छोरी सुम्पनु भएको २० वर्ष अगाडीको दिन नेपाल सरकारको अनुमतिले नगरको नेतृत्व गर्दै दक्षिण कोरियाको मैत्रिपूर्ण भ्रमण जुरेको छ । नगरको समृद्धिमा मित्रराष्ट्र कोरियासॅग अझ प्रगाढ सम्बन्ध स्थापित हुनेमा छु म विश्वस्त । कान्छी तिमीसॅग अंगालोमा बॅाधिएको यो आजको महत्वपूर्ण दिनको छिमेकी राष्ट्र चीनबाट छ धेरैधेरै वधाई र छ सुस्वास्थ अनि थप सफलताको हार्दिक शुभकामना । (लेखक : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुन् )(खोटाङखबर साप्ताहिकबाट ।)