मैले खेपेको शिक्षा 

मैले खेपेको शिक्षा 

रोदिक खबर

३०, आश्विन २०७७
  • 9.3K
    SHARES
  • मैले खेपेको शिक्षा 

    झण्डै ६ दशक अगाडितिरको स्कुले पढाइको कैरन ल्याईदिदा स्मार्ट फोनमा गुगल सर्च गरेर हरेक समस्याको समाधान पहिल्याउन बानी परेको अहिलेको पुस्तालाई उदेक लाग्दोहो र थोर बहुत मनोरञ्जन नै होला भन्ने हेतुले मैले यहाँ आफ्नै कुथुंग्री पस्किने जमर्को गरेको छु ।

    घरैमा ठूलो बर्णमाला (बोलीचालीमा ठूलो पोस्तक भनिन्थो) छिचोलेपछि पोखरी स्कुलमा तीन कक्षामा भर्ती हुन पाइन्थ्यो । एक र दुई कक्षामा पनि ठूलो बर्णमाला नै घोकाइने हुँदा आफै बाह्रखरी सिकाउन जान्ने अभिभावकले धुलौटाको कोर्स पूरा गराए पछि घरैमा ठूलो पोस्तक ल्याईदिने चलन थियो ।

    ठूलो कान्छोदाइ र म हाम्रो घरमा यस तहका विद्यार्थी थियौं । हुन त कान्छीदिदी पनि थिई । तर उस बखत छोरीलाई पढाउन बर्जित जस्तै थियोे । बाह्रखरी छिचोल्नासाथ हामी दुई भाइले ठूलो पोस्तक पायौँ र घोक्न थाल्यौं । दिदी हामीले पढेको ध्यानपूर्वक सुनेर बस्थी बरा ! झण्डै समवयी जस्तै भएकोले हामी तीन जना एक अर्कालाई तँ भनेरै सम्बोधन गथ्यौं ।

    ठूलोकान्छो हामी भन्दा ठूलै भएकोले अलिक पेल्न खोज्थ्यो र मौका परे पड्काउँथ्यो पनि । कान्छो भैखाएको मान्छे, म जन्मेपछि ठूलोकान्छो हुनु परेकोले हो वा किन हो, ऊ सँग मेरो फुरु नमिल्ने । हुन त ऊ ठूलो कान्छो भएकै कारण म पनि सानो कान्छो भएको हुँ । कान्छो मात्रै पल्टिन मैले पनि पाएको होइन । जेनतेन घोकाइ चालू हुँदैरह्यो । तर पढाइप्रति उसको खासै लयो थिएन ।

    प्रायःजसो मलाई घोक्न लाएर ऊ पल्टेर सुन्थ्यो । बा घरमा भएका बखत मात्रै पढी टोपल्ने । कोरेस मसीको चक्कीलाई पानीमा घोलेर बट्टामा हालेपछि त्यसमा बाँसको सिटाको कलमले चोबेर लेख्नु पर्ने । त्यसमा पनि खासै उसको अभ्यास थिएन । पहाडा २० सम्म कण्ठ हुनुपर्नेमा १० सम्म कनिकुथी भन्न सक्थो । कपाली तमसुक, भर्पाई, सम्झौता कुनै पनि छिचोलेकै थिएन ।

    सरस्वती स्त्रोत्र र नीति कथाहरु अलिअलि खुट्याउँथ्यो । समग्रमा उसको कोर्स पूरा भएको थिएन । यत्तिकैमा मिनपचासको बिदा सकिएर स्कुल खुले सँगै नयाँ भर्ना पनि खुल्यो । मलाई स्कुलका मास्टर सा’बका अगाडि खरर पाठ बुझाएर तीन कक्षाको दर्तावाल विद्यार्थी हुने ध्याउन्न छँदैथियो । स्कुल जाँदा लाउने भनेर तयार पारेका नयाँ लुगाले पनि उत्तिकै उद्वेलित तुल्याइरहेको थियोे ।
    स्कुल खुलेको तीन चार दिन पछि हो क्यारे  बाले आदेश गर्नुभयो,–लु केटाहरु तयार पर । म तिमीलाई भर्ती गराइदिउँला । मलाई त के खोज्छस् ,काना आँखा भयो । यसो हेर्छु ठूलो कान्छो लेचाउँछ । तर बाको आदेशको अगाडि कसैको पिताम् चल्नेवाला थिएन । नयाँ लुगामा ठाँटिदै ठूलो वर्णमाला च्यापेर बाका पछि लागियो ।

    स्कुल पुगेपछि फसाद केमा आइलाग्यो भने, बाले मास्टर सा’बलाई स्वस्ती गर् भन्नुभयो । त्यो बेला हामीले नमस्कार गर्न सिकेका थिएनौं । जात नमिलेका मितबालाई हातमा ज्यू गर्ने, बाँकी सबै आफुभन्दा ठूलालाई गोडामा ढोग्ने भन्ने मात्र थाहा थियो । ज्यू गर्ने हो कि ढोग्ने त ? आपतको साहारा दैब भने झैँ मास्टर सा’बले आफैं अफ्टारोबाट उकासी दिनुभयो ।

    भन्नुभयो–,यति साना बच्चाले के को स्वस्ती गर्ने, यी यसरी हात जोडेर नमस्कार गर, भैगो । उहाँले हात जोडेको देखेर हामीले थाहा पायौं र पहिला पटक हात जोडेर नमस्कार गर्‍यौं । यहाँनेर गजबको संयोग के जुर्‍यो भने, बाले भन्नुभो,–यी दुईटै केटाले ठूलो पोस्तक छिचोलेका छन् । तर यिनीहरुलाई एउटै कक्षामा भर्ती गरिदिनु होला । दुईटालाई अलग–अलग किताब कापीको खर्च गर्न सकिंदैन ।

    वर्णमाला पल्टाएर मास्टर सा’ब प्रश्न गर्नु थाल्नुभयो । मैले उत्तर दिदै गएँ । एक दुई वटाको उत्तर ठूलाकान्छाले पनि दिई टोपल्यो । हामी दुवै जाँचमा पास भयौं । नाम  लेखियो । हिड्ने बेलामा मास्टर सा’बले बालाई भन्नुभयो–‘एउटै कक्षामा भन्नुभयो, ठूला चैलाई त चारमा लेखाइदिएको भए पनि हुन्थ्यो होला । एकै सेट किताबले काम चलाउने जुक्ति गर्नुभयो । ठिकै भयो ।’ ठूलाकान्छो ठूलो भएकै कारणले परीक्षाबाट बच्यो । मलाई सोधेजति नै प्रश्न उसलाई पनि सोधेको भए चाख्थ्यो । तर यो फालबाट ऊ सहजै उम्क्यो ।

    पढाइमा ऊ चाँहि निम्छरो छ भनेर मास्टर सा’बले भेउ पाउनु भएन । किताबको लिष्ट दिएर त्यस दिन हामीलाई छुट्टी दिनुभयो । चक्रबहादुर साहू कहाँ गएर एक सेट किताब, एक एक वटा कापी एक–एक वटा फुल्टिन (फाउन्टेन पेन) र कोरेस मसीका चक्की किनेर हामीलाई दिनुभयो । बाँसका सिटाको कलमले लेख्न सिकेका हामीले मसी भरेर खरर्र लेख्न सकिने फुल्टिन र नयाँ किताब कापी पाएपछि भुइँमा खुट्टा रहेनन् । किताब चाँहि दाइले मलाई छुनै दिएन । उसैले बोक्यो ।

    घरमा आएपछि भने नक्शा सहितका नयाँ किताब पल्टाइ–पल्टाइ खुब हेरियो । अहिले कल्पना गर्दा एक किसिमको नोस्टेल्जिया अनुभूत हुन्छ, आहा ! त्यो क्षण क्या आल्हादकारी थियो ! 

    भोलिपल्टै देखि स्कुलमा पढाइ शुरु भयो । विद्यार्थीहरु भुइँमा ओछ्याएको तखता माथि पलेंटी मारेर बस्नु पर्ने । मास्टर सा’ब बाँसको मुढामा बसेर किताबको पाठ भट्याउँने अनि विद्यार्थीले स्वर मिलाएर त्यसै भन्नु पर्ने । मास्टरको पालो सकिएपछि त्यसैगरी पाठ घोक्नु पथ्यो । दुई चार पटक घोकीसके पछि मास्टर सा’बले हातको लठ्ठी उज्याउँदै सोध्थे–अब आयो त ?

    विद्यार्थीले भन्नुपथ्र्याे–आयो । अनि होमवर्क पाइन्थ्यो । पढाइको सिलसिला यही नै हो । होमवर्क नबुझाउनेले मार खान्थ्यो । होमवर्कको मामला त उति कटिलो थिएन । जान्नेसँग सोधेर लेख्ता पनि उम्किन सकिन्थ्यो । तर मास्टरलाई सनक् चढेको बेला क्लास वर्क पनि चल्थ्यो । क्लास वर्कमा सजाय दिने तरिका बडो काइदाको थियो । जसले जान्दछ, नजान्ने जति सवैको गालामा चड्कन लाउनु पर्ने ।

    त्यस्ता अबसर धेरै जसो मैले पाउँथे । दाइले भन्यो,–हेर कान्छा, मलाई चैँ कुटे जस्तो मात्र गर्लास् । दुख्ने गरी हानिस् भने, तँलाई बाटोमा बजाउँछु । म त्यसै गर्थे । एक दिन मास्टर सा’बले छनक् पाएछन् । आफूसामु बोलाएर भने–,तैले ती अनपढ स्वाठहरुलाई कुट्नै जानेको रहेनछस् ।

    तँलाई म सिकाइदिन्छु । आज्ञाकारी विद्यार्थी, म गुरुदेव अगाडि उभिएँ । उनले देब्रे हातले मेरो दाहिने कान बटारे अनि दाहिने हातले मेरो गाला रन्काए । मैले चौध भुवन देखें । उनले भने, कुट्ने तरीका यो हो । यसरी नै तोड्नु पर्छ । जानिस् होला नि अब त ? रनाहा खप्तै मैले सकारात्मक मुन्टो हल्लाएँ र दाइ लगायतकाहरुको गाला पड्काएँ ।

    छुट्टी हुनासाथ दाइले मलाई उसै गरी पैंचो तिर्‍यो र भन्यो,–मास्टरलाई र घरमा पोल लाइस् भने, तेरो करङ् भाँच्छु । भन्ने मात्र होइन,ऊ त्यसै गथ्र्यो पनि । मास्टर सा’ब र दाइको दोहोरो कुटाइबाट म थिल्थिलो भइसकेको थिएँ । घर पुगेपछि मलाई हन्हनी ज्वरो आयो । म साँच्चै बिरामी परें ।

    मेरो अगाडि ठूलो समस्या खडा भयो । राम्ररी पाठ बुझाउँदा यस्तै हालत खेप्नु पर्छ । नबुझाए पनि बुझाउनेले तोड्छ । क्या फसाद् ! पाठ बुझाउँदा पो डबल मारमा परियो । बच्दै जोगिंदै बर्ष गुजारियो । परीक्षामा म फस्र्ट् भएँछु । त्यो बेला राम्रो नम्बर साथ फस्र्ट्  हुनेलाई–उ बखत डबल प्रोमोशन गर्ने चलन थियो ।

    मलाई पाँच कक्षामा लगियो । दाइ चारमा मात्रै गयो । दाइ लगायत सबैलाई जितेको खबर घरमा पुगेर सुनाउन म आतुर थिएँ । तर घट्नाले मोड अर्कै लियो । घरको बाटो लाग्ना साथ दाइले मलाई लछार–पछार पार्दै भकुर्न पो थाल्यो । यति कुट्यो कि घर छेउ पुग्दा म थङ्थिलो भैसकेको थिएँ । तगातार कुट्यो मात्रै । कुटुञ्जेल केही बताएन ।

    घरतिर छिर्ने बेलामा औंलो ठड्याउँदै उसले भन्यो,–तँ फुच्चेले पो मलाई जित्ने ? र ऊ अर्कै बाटो हानियो । म मुस्किलले घर पुगे । ऊ त्यसदिन देखि घरै आएन । भाग्यो । कता गयो, त्यसको मलाई फुम् छैन । सुत्ने बेलामा मैले फस्र्ट् भएर डबल प्रोमोशन पाएको आमालाई सुनाएँ ।

    साँक्क सुँक्क गर्दै दाइ चारमा मात्रै गएको र बाटोभरि मलाई कुटेर भागेको सम्म सुनाउन भ्याएँ । दाइ भोलिपल्ट पनि आएन । आउँदै आएन । अलि पछि मुङ्लान् भासियो अरे भन्ने सुनेथें ।

    एक महिनाको जाडो बिदा सकियो । माथि उक्लेको कक्षामा फेरि नाम लेख्नु पथ्र्यो । मैले यो कुरा बालाई भने । बाले अनौठो मान्दै भन्नुभो,–पोहोर मात्रै लेखेको नाम, अहिले फेरि किन ? कक्षा चढेपछि फेरि नाम दर्ता गर्नु पर्छ अरे । मस्टर सा’बले भनेको । मैले यति मात्रै भने । बा मुर्मुरिनुभो,–हेर न यी मास्टर  भनाउँदा पनि ! खानलाई  अनेक बेजो निकाल्छन् । 

    भोलिपल्ट बा गएर नाम लेखिदिनुभो । पैसा कति लाग्यो, थाहा भएन । तीन कक्षामा महिनाको एक मोहोरका दरले अगाडि नै एक मुस्ट बुझाउनु पथ्र्यो । पाँच कक्षामा सामेल भएँ । मास्टर सा’बबाट उर्दी जारी भयो,–सात दिन भित्र सबैले किताब कापी किनिसक्नू ।

    मैले मास्टर सा’बको उर्दी बालाई जस्ताको तस्तै सुनाएँ । बाले निकैबेर गम खानुभो र सोध्नुभो,–तैले पोहोरका किताब सबै छिचोलिसकिस् र ? मैले भने, ती त अब काम लाग्दैनन् । म पाँचमा गैसकें । पाँचकै किताब चाहिन्छन् ।

    खै ले त ती किताब । बाले किताब माग्नु भयो । मैले ल्याएर दिएँ । दुई जनाले साझा गरी पढेका किताब, सकल्ती थिएनन् । निकै फाटेका थिए । आधा मोलमा बिक्री हुन्छन् भनेको सुनेको थिएँ । त्यसै भनें । बाले त किताब हातमा लिएर परीक्षा पो लिन थाल्नुभो ।

    ल यी किताबको सबै पाठ मलाई बुझा अनि अरु किताब किन्नु परे किनुला । ठूलो वर्णमाला जसरी ती किताबका पाठ कण्ठ गर्नु पर्दैनथ्यो, प्रश्नउत्तर हुन्थ्यो । मैले बाका अगाडि पाठ कण्ठ बुझाउन सकिन । बाले भन्नुभो,यिनै किताब छिचोलेको रहेनछस् । किनेका किताब बातेल गरेर नयाँ किताब किन्न सकिन्छ नाथे ? बा नयाँ किताब किनिदिन कुनै हालतमा सहमत हुनुभएन ।

    कन्भिन्स गरिदिने कोही मान्छे थिएन । म किताब बिनै स्कुल जान थालें । होमवर्क गर्न सिकाइ दिएबापत साथीभाइले मलाई किताब पढ्न दिन्थे । त्यसैको भरमा मैले पाँच कक्षा सकें । कापी कलमको गर्जो आमाको थैलीबाट टरेको हो । त्यस माथिका दुई वटा कक्षामा ठूलो दाइले थेगभर गर्नुभो ।

    आठ देखि त म आफैं मास्टर सा’ब भैहालें । तहाँ उप्रान्त उच्च शिक्षा सम्मका खर्चबर्च आफ्नै आर्जन्मा । मैले प्राम्भमा नै उल्लेख गरेको छु । अहिले भर्चुअल क्लास सम्म उपयोग गरेको पुस्तालाई यो कथाकैरनले उदेक लाग्न सक्छ । तर हाम्रो शिक्षाको यथार्थ जग चाँहि यहि नै हो । (लेखक आचार्य प्रेस स्वतन्त्रता सेनानी तथा सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष हुन् ।)

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०७:२८:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको