खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले उपभोक्ता समितिलाई सहभागी गराएर एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोजनाको कामलाई निर्धारित समयमा निर्धारित गुणस्तरमा सम्पन्न गर्नका लागि गाउँपालिकाले बिहिबार २० वटा योजनाका उपभोक्ता समितिलाई सहभागी गराएर अभिमुखीकरण तथा अन्तरक्रिया गरेको हो ।
अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७५ अनुशार आयोजनाको उपभोक्ता समिति गठनदेखि योजना सम्झौता, खाता सञ्चालन, कामको गुणस्तर, कार्य सम्पन्न प्रतिबेदन, अन्तिम भुक्तानी निकासा र योजना फस्र्योटसम्मका चरणका बारेमा जानकारी दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका प्राविधिक शाखाका ईन्जिनियर राजु भट्टराईले योजनाको लगत स्टीमेट, रनिङ बिल, कामको गुणस्तर परिणाम, जाँचपास र कार्य सम्पन्न प्रतिबेदनका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएका थिए भने लेखा शाखाका जीवन फुयाँलले उपभोक्ता समितिको खाता सञ्चालन सम्वन्धी प्रकृया, पेश्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाई लगायतका बारेमा जानकारी गराएका थिए ।
यस्तै, योजना शाखाका प्यास्पी राईले योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक माइन्यूट व्यवस्थापन र उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अनूसुची ३, ४, ५ र ६ का बारेमा, आलेप शाखाका योगेश श्रेष्ठले लेखा परिक्षण र सूचना सम्वन्धी तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरिवेक्षण, सामाजिक परिक्षण र होर्डिङबोर्डका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएको गाउँपालिकाले जनाएको छ ।