खोटाङ । वाम्बुले राई भाषाको विश्वव्यापी कविता प्रतियोगीतामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा झापाका अम्बिर राई प्रथम भएका छन् ।
वाम्बुले राई समाज नेपाल (वाम्रास)को २३ औं स्थापना दिवसको अवशरमा शनिबार आयोजित भर्चुअल कविता प्रतियोगितामा अम्बिरले प्रथम स्थान प्राप्त गरेका हुन् । प्रतियोगीतामा सहभागी ३३ जनाको कवितालाई पछि पार्दै अम्बिरको ‘आर्याक्बुन्चो कबिता’ (नलेखिएको कविता) शीर्षक रचनाले प्रथम स्थान प्राप्त गरेको हो ।
प्रतियोगीतामा बाहुनीडाँडाकै अम्बिका वाम्बुले राईको ‘काक्सि’ (माटो) शीर्षक कविता दोश्रो र ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–३ फोकुलकी सम्झना राईको ‘मामा उनु ख्राम्नुम द्याम’ (आमा तिमी रोयौ रे) शीषर्क कवितालाई तेश्रो घोषणा गरिएको छ ।
यस्तै, मानेभन्ज्याङ गाउँपालिका–३ रिनुवालका कवि रेन्जाप्रसाद राईको ‘स्याल्मो’ (सांस्कृतिक वनस्पति) र मानेभन्ज्याङ गाउँपालिका–५ उदयपुर गाउँकी मुना वाम्बुले राईको ‘मामाङ क्वाल ब्अिम्ता’ (आमाको एक सम्झना)ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने कबि/कवयित्रीलाई क्रमशः १० हजार, ६ हजार, ४ हजार र २/२ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।
वाम्बुले भाषी कविता प्रतियोगीतामा ओखलढुंगा, खोटाङ, उदयपुर, काठमाडौं, दाङ, विराटनगर तथा भारत, दक्षिण कोरिया, मलेसिया र कतारबाट ३३ जना सहभागी भएका थिए ।
२०५५ सालदेखि हरेक वर्ष गाउँघरमा सञ्चालन हुँदैआएको वाम्बुले राई भाषाको कविता प्रतियोगिता तथा गोष्ठी यसपल्ट कोभिड–१९ को महामारीका कारण भर्चुअल (अनलाइन) माध्यमबाट आयोजना गरिएको हो ।
कार्यक्रममा अविनाथ राई, शुभराज राई (काजी), मिलनकान्छा किराती, विनोद वाम्बुले र राजुमान राईले अप्रतियोगी कविता वाचन गरेका थिए ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई लगायतको उपस्थिति रहेको कार्यक्रममा वाम्बुले राई समाज नेपाल (वाम्रास) का अध्यक्ष गजुरधन राई र उपाध्यक्ष गणेश वाम्बुले राईले संस्थाका प्रगतिका बारेमा संक्षिप्त जानकारी दिएका थिए ।