खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउँमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई अस्पताल पुर्याउन एम्बूलेन्स सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
गाउँमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका महिलाई अस्पताल पुर्याउनुपर्ने अवस्थामा नगरपालिकाले उपप्रमुखसँग महिला कार्यक्रममार्फत एम्बूलेन्स सहयोग कार्यक्रम सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा बिहिबार आयोजित गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क फोलिक एसिड तथा क्याल्सियम चक्की वितरण कार्यक्रम शुभराम्भ कार्यक्रमको अवशरमा एकजना गर्भवती महिलालाई अस्पताल पुर्याउनका लागि पाँच हजार भाडा प्रदान गर्दै एम्बूलेन्स सहयोग कार्यक्रम सुरु गरिएको हो ।
वर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले एम्बूलेन्स भाडा वापत सहयोग रकम प्रदान गरेका थिए ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको अवस्थामा गर्भवती महिलालाई अस्पताल पु¥याउनका लागि एम्बूलेन्स वा गाडीमा लाग्ने भाडा उपलव्ध गराउने व्यवस्था मिलाइएको उपप्रमुख राईले बताईन् । ‘बर्थिङ सेन्टरमा सुत्केरी नभए कतिपयले घरैमा सुत्केरी गराउन खोज्छन् ।
कतिपयको अस्पतालसम्म जाने आर्थिक अवस्था हुन्न । त्यो अवस्थामा आमा र नवजात शिशुले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ,’ नगरप्रमुख राईले भनिन्, ‘अकालमा आमा र बच्चाको ज्यान जानबाट जोगाउने प्रयास स्वरुप हामीले अस्पताल पुर्याउनेक्रममा एम्बूलेन्स वा गाडीमा लाग्ने भाडा उपलव्ध गराउने कार्यक्रम सुरु गरेका हौँ ।’
यस्तै, नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण सुरु गरेको छ ।
गर्भवती महिला, सुत्केरी आमा तथा बच्चाको वृद्धि विकास एबं स्वस्थ स्वास्थ्यका लागि नगरपालिकाले १५ वटै वडामा फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट विहिबार शुभारम्भ गरिएको निःशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण कार्यक्रमलाई सबै वडामा विस्तार गरिने नगरपालिकाका उपप्रमुख राईले बताईन् ।