खोटाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङले मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।
बिहिबार विज्ञप्ति जारी गर्दै संगठनले सरस्वती आधारभुत विद्यालय रमितेखोलाका प्रअ श्रेष्ठको मंसिर २३ गते विभत्स हत्या गर्नमा संलग्न दोषीलाई पक्राउ गरी कानून अनुशार कारबाही गर्न नेपाल सरकार समक्ष माग गरेको हो ।
संगठनका अध्यक्ष कृष्णकुमार गुरुङ र सचिव भवकृष्ण ढकालले जारी गरेको विज्ञप्तिमा पीडित परिवारलाई उचित क्षतीपूर्ति एबं मृतकलाई सहिद घोषणाको व्यवस्थाका लागि आग्रह गरिएको छ ।
‘विद्यालयको कार्यक्षेत्रमा अहोरात्र खटिरहनु हुने शिक्षकको हत्या गर्ने कायरतापूर्ण कार्यको घोर भत्र्सना गर्दछौँ,’ संगठनको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानून बमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई उचित क्षतीपूर्तिको व्यवस्था मिलाई सहिद घोषणा गर्न सरकारसँग माग गर्दछौँ ।’
शिक्षक श्रेष्ठलाई अज्ञात समुहले अपहरण गरेर घर नजिकैको जंगलमा लगेर गोली हानी घाँटी रेटेर हत्या गरेका थिए । घट्ना लगत्तै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादी कार्यकर्ताले उनको हत्याको जिम्मा लिइसकेको छ ।
शिक्षक श्रेष्ठको हत्याको बिरोधमा एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर १ ले बिहिबार आव्हान गरेको एक दिने शैक्षिक हड्तालप्रति ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।