खोटाङ । पानीको मुहानबाट भुलभुल पानी निस्किरहेको छ । ढुंगाको कापमुनिबाट निस्केको खोलाजत्रै मुहानमा मनै लोभ्याउने गरी असला माछा खेलिरहेका छन्
। दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको हो । पासो थाप्ने, जथाभाबी करेन्ट र बिष हाल्ने प्रचलनले अधिकांश खोलामा माछाको अस्तित्व संकटमा पर्दै गएको अवस्थामा भुलभुले दुधकुण्ड देउधाममा भने स्याउँ–स्याउँती माछा खेलीरहेको देख्न सकिन्छ ।
पानीमा तलमाथि गर्दै खेलीरहेका माछा दर्शनार्थीले चढाएका चामल, बिस्कुट खान तँछाड मछाड गरिरहेको दृश्यले जो कोहीको मन लोभ्याउने गरेको छ ।
खोलानालामा माछा पाउन मुस्किल पर्दैगएको अवस्थामा भुलभुले दुधकुण्ड देउधाममा बग्रेल्ती माछा पाइनुका पछाडि भने विशेष धार्मिक मान्यता रहेको छ । जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलका रुपमा रहेको सो स्थानमा पाइने माछा मारे वा खाएमा अनिष्ट हुने जनविश्वासका कारण माछा फस्टाएको पुजारी दिर्घराज राईले बताए ।
उनका अनुशार परापूर्व कालदेखि नै सो स्थानको माछा मार्ने गरिएको छैन । ‘पहिल्यैदेखि यहाँको माछा कसैले मार्दैन,’ पुजारी राईले भने, ‘मारेमा दोष दिन्छ, मार्नेलाई राम्रो हुँदैन भन्ने विश्वास छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रमुख पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै लगेको भुलभुले दुधकुण्ड देउधाममा रहेको पानीको मुहानभन्दा थोरैमुनि पोखरी निर्माण गरिएको छ । तर, माछा भने पोखरीमाभन्दा मुहानमै रमाइरहेको देखिन्छ ।
सो स्थानको माछा खाएमा बिरामी हुने, मृत्यु हुनेदेखि शाखा सन्तान मासिनेसम्मको अनिष्ट हुने धार्मिक मान्यता छ ।
यही धार्मिक मान्यतामा जोगिएको माछा हिजोआज भुलभुले दुधकुण्ड पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
माछालाई चामल, बिस्कुट दिएर रमाइलो गर्ने प्रचलन छ । पानीमा खेलिरहेका माछाको तस्विर सामाजिक सञ्जालभरी पोष्ट हुने गरेको छ ।
बिशेषगरी किरात र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको स्थलमा दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।