• ट्रेण्डिङ:

महामारीकै बीचमा अशक्तलाई घरैमा पुगेर नागरिकता प्रदान

महामारीकै बीचमा अशक्तलाई घरैमा पुगेर नागरिकता प्रदान

रोदिक खबर

७, भाद्र २०७७
  • 3.7K
    SHARES
  • महामारीकै बीचमा अशक्तलाई घरैमा पुगेर नागरिकता प्रदान

    खोटाङ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकैबीचमा जिल्ला प्रशासन कार्यालय खोटाङले वृद्ध, अशक्त तथा अपांगता भएका चार व्यक्तिलाई घरैमा पुगेर नागरिकताको प्रमाण–पत्र प्रदान गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको हलिवन, भालुढुंगा र तिर्पाका वृद्ध, अशक्त तथा अपांगता भएका स्थानीयलाई शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेको हो ।

    नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्दा हालसम्म नागरिकता बिहिन बसिरहेका ७४ वर्षीय विवा माझी, ७१ वर्षीय फूलकुमारी माझी, ६८ वर्षीय खरा माझी र २२ वर्षका रेवत मगरलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । 


    रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष बिदुरकुमार खतिवडा र वडा सचिव टंकप्रसाद आचार्यको समन्वयमा उनीहरुलाई घरैमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेल र गाउँपालिका अध्यक्ष निरौलाले नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

    अशक्तताको कारण हालसम्म नागरिकता पाउन नसकेका नागरिकलाई घरैमा नागरिकता प्रदान गर्न पाउँदा सेवा अवधिकै सबैभन्दा सन्तुष्टि मिलेको प्रजिअ पौडेलले प्रतिक्रिया दिए । 


    वृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरिया, जिल्ला प्रशासन कार्यालयका नासु सिताराम आचार्य र खरिदार ओसनवाबु आचार्य लगायत लामीडाँडाक हलिवन, भालुढुंगा र तिर्पा पुगेका थिए । 

    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १८:१९:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको