• ट्रेण्डिङ:

मृत्युसंग लड्दै ९ वर्षीय रोहन, परिवारद्धारा सहयोगको याचना

मृत्युसंग लड्दै ९ वर्षीय रोहन, परिवारद्धारा सहयोगको याचना

रोदिक खबर

९, माघ २०७७
  • 3.6K
    SHARES
  • मृत्युसंग लड्दै ९ वर्षीय रोहन, परिवारद्धारा सहयोगको याचना

     खोटाङ । लडेको अशरका कारण मानसिक सन्तुलन गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९ वर्षीय रोहन कट्वालको उपचारका लागि आर्थिक अभाव भएको छ ।

    २०७२ साल भदौमा विद्यालय गएको अवस्थामा लडेको चोटका कारण मानसिक सन्तुलन गुमाएका रोहनको उपचारमा आर्थिक समस्या भएको हो । गत दशैंअघि कान्ती बाल अस्पताल काडमाडौंमा पुर्‍याइएका रोहनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि उपचार खर्चको अभाव भएको हिरा कट्वालले बताईन् ।

    रोहनको उपचारकाक्रममा एक लाख ऋण लागिसकेको छ । उप उपचारका लागि अस्पतालले कम्तीमा दुई लाख जुटाउन भनेपछि हिरालाई आर्थिक समस्या निम्तिएको हो । हिराले छोराको उपचारका लागि अस्पतालको बेडबाटै सहयोगको याचना गरेकी छन् । 

    निम्न आर्थिक अवस्था भएका रोहनलाई अस्पतालसम्म पुर्‍याएर उपचार व्यवस्था गर्नका लागि अपांग सेवा संघ र अपांग सेवा संघ नगर कार्य समितिले सहयोग अभियान चलाएको थियो । रोहनलाई सहयोग गर्नका लागि आमा हिरा कट्वालको नाममा सेञ्चुरी विकास बैंक दिक्तेल शाखामा खोलिएको ०१५००००९२अ५ मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष उमेशचन्द्र आचार्यले बताए ।

    अपांग सेवा संघ खोटाङ र नगर कार्य समितिको संयुक्त पहलमा गत साउन २५ गते रोहनको उपचारका लागि १७ हजार ४७५ रुपैयाँ प्रदान गरिएको थियो । 

    होसले पूर्णरुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका थिए ।

    रोहनलाई यसअघि पनि कान्ती, निसान, ओम लगायतका अस्पतालमा पुर्‍याइएको थियो । लाखौं खर्च गरेर विभिन्न अस्पताल पुर्‍याउँदा पनि रोहन बेहोसीमा नबुझिने शव्द बोलेर जथाभावी कुदिरहन्थे । 

    २०७१ सालमा विदेश गएका श्रीमान गोविन्द कट्वाल २०७६ साल वैशाखमा घर आएपनि पुःन काठ्माण्डौं फर्किएर सम्पर्क बिहिन बनेपछि हिरा दुई छोरासहित सासुससुरासँग बसिरहेका छन् । उनका कान्छो छोरा कक्षा २ मा पढ्छन् । 

    बेहोसीमा चलमलाइ रहन्छन् रोहन


    रोहन अहिले बेहोसीमा यताउती कुदिरहन्छन् । घरभित्रबाट घरी आँगनमा पुग्छन्, घरी घरको पेटीमा पुग्छन् । उनले उताउती कुद्नेक्रममा एक तमासले बोलेको बोली बुझ्न सकिन्न । अरुले बोलेको कुरा पनि उनले बुझ्न सक्दैनन् । किताव कापी बोकेर स्कुल गइरहनुपर्ने उमेरमा रोहनको अवस्था दर्दनाक छ ।

    आमा हिरा कट्वालका अनुसार केही उपचारपछि रोहनको स्वास्थ्यमा सामान्य सुधार आएको हो । होसले पूर्ण रुपमा काम गर्न छाडिसकेको र बोली बन्द भइसकेको अवस्थामा अपांग सेवा संघ नगर समितिको समन्वयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा २०७६ साल माघ ९ गते मोडेल अस्पतालमा १४ दिन राखेर उपचार गरेपछि रोहन पुःन उठेर बेहोसीमा हिँडडुल गर्न सक्ने भएका हुन् । रोहनलाई भारत लैजान सल्लाह दिइएपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् ।

    रोहन कक्षा १ मा घरभन्दा तलको वालज्योती प्राविमा पढ्थे । एक दिन उनी चिच्याएर रोएको सुनिएपछि आमा हिरा कुद्दै विद्यालयतर्फ गईन् । विद्यालयभन्दा केही माथि रोहन टाउकाको देब्रेपट्टि र चिउँडोमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा फेला परे ।

    आमा हिराले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याईन्, चोटमा औषधोउपचार भए । तर २०७२ साल मंसिरदेखि रोहनमा बसेकै ठाउँमा भ्वाक्क–भ्वाक्क ढल्ने समस्या देखियो । अकस्मात ढल्दा उनको टाउकाका विभिन्न ठाउँमा घाउ चोटपटक थपिए ।

    ढल्ने समस्या देखिएको १०/१५ दिनमा रोहनलाई कान्ति बाल अस्पताल पुर्‍याइए । कान्तिले सिफारिस गरेको औषधि ६ महिना खुवाउँदा पनि रोहनको स्वास्थ्यमा सुधार देखिएन ।

    उपचारकै खोजीमा उनलाई निसान अस्पतालमा लगिए, निसानले पनि कान्तीले सिफारिस गरेकै औषधिलाई निरन्तरता दिन भने । त्यसपछि हिराले रोहनलाई ओम अस्पतालमा लगिन् । ओमले दिएको औषधि ६ महिना खुवाउँदा निको हुनुको सट्टा शरीरभरी रौं पलाए । यसबीचमा रोहनको अवस्था झनै नाजुक बनिसकेको थियो । बोली बन्द भइसकेको थियो, होसले पूर्णरुपमा काम गर्न छाडिसकेको थियो ।

    दुई वर्षअघि रोहनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगियो । न्यूरोको उपचारपछि रोहनको अवस्थामा सामान्य सुधार आयो । ६ महिनासम्म औषधि खुवाउँदा रोहनको बोली आयो तर पुरानो कुरा सबै भुले । अरुले ‘जे भन्यो त्यही’ उच्चारण गर्न थाले ।

    रोहनको स्वास्थ्यमा सामान्य सुधार देखिएपनि आर्थिक समस्याका कारण हिरा थप औषधिका लागि काठ्माडौं जान सकिनन् । औषधि छुटेपछि रोहनमा विगत वर्ष दिनदेखि झोक्रिरहने, खुट्टा लुलो हुने, मुन्टो नउठाउने, उठ्न नसक्दा चौवीसै घण्टा सुतिरहने समस्या देखा प र्‍यो ।

    खाना खुवाउँदा ननिल्ने, खाना खुवाएको थाहै नपाउने, पानीसँग खाना खुवाउनुपर्ने, दिसापिसाव आएको थाहै नपाउने समस्यासँग जुधिरहेको समयमा सुन्दर ढोका साथी सेवा नामक संस्थाको सहयोगमा रोहनलाई मोडेल अस्पतालमा पु¥याइएको थियो । 

    होस फिर्ने आशामा परिवार


    रोहनको नाजुक स्वास्थ्य अवस्थाले परिवार मानसिक चिन्तामा छन् । रोहनलाई भारत लैजान सल्लाह आएपनि निम्न आर्थिक अवस्था भएकै कारण उपचारमा लैजान नसकेको हिराले बताईन् । शुभेच्छुकको सहयोग मिले र उपचार सफल भए रोहनको स्वास्थ्यमा सुधार आउने उनको अपेक्षा छ ।

    ‘छोरा पहिलाकैजस्तो निको होस्, स्कुल जाओस् भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘साथ सहयोग मिलेर उपचार गराउन सम्भव भए पक्कै सुधार हुन्छ भन्ने आशा छ ।’

    प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १४:४५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको