खोटाङ । खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले खबरदारी गरेको छ । फोक्सिङटार–राजापानी–सिमपानी भञ्ज्याङ (२७ किलोमिटर) खण्डको कालोपत्रेको काममा भइरहेको चरम ढिलासुस्तीका विषयमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खबरदारी गरेको हो ।
गाईघाट–दिक्तेल सडक अन्तरगत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकको टुवा खोलादेखि रेग्मीटारसम्मको खण्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्रपर्ने भएकाले ढिलासुस्तीका विषयमा आवाज उठाएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
काममा चरम ढिलासुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनीका प्रतिनिधि कमल सुव्वा, विजय चाम्लिङ लगायतलाई शनिबार फिल्डमै भेटेर कालोपत्रेको काम चाँडो पुरा गर्न निर्देशन दिएका छन् ।
‘हाम्रो गाउँपालिकाभरीको सडकको विषयमा चासो राख्नु हाम्रो दायित्व हो । कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती अव सह्य छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘१५ दिनभित्र हाम्रो गाउँपालिकाभित्रको सडकमा थुप्रिएको पहिरो क्लियर गरिसक्नु भनेको छु ।
बाटो क्लियर गर्ने काम सुरु गरि नै सकेको छ ।’ ढिलासुस्तीका विषयमा गाउँपालिका अध्यक्ष राईले फिल्डमै पुगेर चासो देखाएपछि निर्माण कम्पनीका प्रतिनिधिले केही समयपछि जिरोप्वइन्ट (फोक्सिङटार) बाट पिचको काम सुरु गर्ने बताएका छन् ।
फोक्सिङटार–राजापानी-सिमपानी भञ्ज्याङ कालोपत्रेको काम देवनारायण–पवन–मैनाचुली खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साल साउन ११ गते सम्झौता गरेको सो खण्डको हालसम्म करिब ६० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको छ ।
हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ ।
यस्तै, महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन–सिद्धी शाही जेभीले गरिरहेको छ ।
भारत कन्ट्रक्सन–सिद्धी शाहीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।