खोटाङ । बसले किच्दा खोटाङमा वृद्धाको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजारबाट गाइघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी ७२ वर्षीय चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो ।
गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्धालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले किचेको हो । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लनेक्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्धा कुनापट्टिको लिकमा पर्दा बसले किचेको प्रत्यक्षदर्शीको भनाई उधृत गर्दै छोरम्बुका वडासदस्य तुलस राईले बताए । साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्धा चिप्लिएर खाल्डो परेको लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् ।
घट्ना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक नविन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरी निरिक्षकको टोली घट्नास्थल पुगेपछि बिस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक गोविन्द साहले बताए ।
घट्नास्थलमा प्रहरी चौकी याम्खा, प्रहरी चौकी छितापोखरी, प्रहरी चौकी भँडारेघाट र प्रहरी चौकी याङसोलाटारबाट प्रहरीको टोली पुगिसकेका छन् ।