खोटाङ । नेपाल रेडक्रस सोसाइटी खोटाङले जिल्ला प्रहरी कार्यालयमा हेण्ड वासिङ स्टेशन निर्माण गरिदिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि रेडक्रसले जिल्ला प्रहरी कार्यालयको गेटमा हात धुनका लागि वासिङ स्टेशन निर्माण गरिदिएको हो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा खटिएका प्रहरीले उपयोग गर्नेगरी निर्माण गरिएको हेण्ड वासिङ स्टेशन सोमबार रेडक्रसका सभापति कुमारसिं बस्नेतले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरेका छन् ।
प्रहरी नै संक्रमणको जोखिममा परेको तथ्यलाई मध्यनजर गर्दै हेण्ड वासिङ स्टेशन निर्माण गरिदिएको रेडक्रसका सभापति बस्नेतले बताए । ‘अहिले कोरोनाबाट स्वास्थ्यकर्मी र प्रहरी बढि जोखिममा परेको अवस्था छ,’ सभापति बस्नेतले भने, ‘आम नागरिसँग प्रत्यक्ष जोडिने र महामारीमा समेत अग्रभागमा खटिने प्रहरीलाई जोखिमबाट बचाउन सघाउ पु¥याउने लक्ष्यकासाथ हेण्ड वासिङ स्टेशन बनाइदिएका हौँ ।’
हस्तान्तरण कार्यक्रममा डिएसपी चिमोरियाले कार्यालय प्रवेश गर्नु अगाडि हेण्ड वासिङ स्टेशनमा अनिवार्य सावुन पानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्ने व्यवस्था हुँदा संक्रमणको जोखिम कम हुने विश्वास व्यक्त गरे । रेडक्रसले हेल्थडेस्कको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयलाई २ सय थान सर्जिकल मास्क, २ लिटर सेनीटाइजर, २ दर्जन साबुन र १ थान डस्बिन प्रदान गरेको छ ।
यस्तै, क्वारेन्टाइनमा खानेपानी व्यवस्थापन र सरसफाई प्रर्वधन एबं हेल्थडेस्कको व्यवस्थापनको लागि रावाबेसी गाउँपालिकालाई धारासहितको हजार लिटरको एक थान ट्यांकी, ४ सय मिटर पाईप, १ सय थान सर्जिकल मास्क, ३ लिटर सेनिटाइजर, सय पिस सावुन र ५ थान डस्बिन प्रदान गरिएको समुदायमा आधारित विपद जोखिम न्यूनीकरण कार्यक्रम (सीवीडीआरआर) का कार्यक्रम अधिकृत अच्युत अधिकारीले बताए ।