खोटाङ । नेपाल पत्रकार महासंघ शाखाको नवौं साधारण सभामा खोटाङका ६ जना अग्रज पत्रकारलाई सम्मान तथा दुई क्रियासिल पत्रकारलाई पुरस्कृत गरिएको छ । महासंघको आइतबार सम्पन्न नवौं साधारण सभाको अवशरमा पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बरसिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको हो ।
२०५९ सालमा नेपाल पत्रकार महासंघको शाखा स्थापनाका लागि पहल गर्दै हालसम्म जिल्लामै पत्रकारितामै क्रियासिल रहेर नागरिकलाई सूसुचित गराउनमा पु¥याएको योगदानको कदर गर्दै अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, महासंघका प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुइटेल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र पत्रकार महासंघ प्रदेश नम्बर १ का महासचिव विवेक गौतमले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।
यस्तै, पछिल्लो पुस्ताका पत्रकारमध्ये क्रियासिल देखिएका खोटाङखबर साप्ताहिककी संवाददाता कृष्णकला राई र न्यूज २४ टिभीका संवाददाता सन्तोष पौडेललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही दुई हजार पाँच सयका दरले पुरस्कृत गरिएको हो ।
यस्तै, नेपाल पत्रकार महासंघ शाखाको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने कृषिविज्ञ तथा समाजसेवी मदन राईलाई सम्मान गरिएको छ । महासंघको भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मा निःशुल्क जग्गा प्रदान गरेकामा जग्गादाता राईलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको हो ।
राईको अनुपस्थितिमा प्रतिनिधि बाबुराम कार्कीलाई सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ । जग्गादाता राईले उपलव्ध गराएको जग्गामा आर्थिक वर्ष २०६५÷०६६ मा महासंघको भवन बनिसकेको छ ।
नेपाल पत्रकार महासंघको साधारणसभाले सचिव उत्तम चौंलागाईले प्रस्तुत गरेको सांगठिनक एबं कोषाध्यक्ष शर्मिला विश्वकर्मले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन शंसोधन सहित पारित गरेको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा भएको साधारण सभाले संसद विघटन सच्याउनुपर्ने संकल्प पारित गर्नुका साथै महासंघको कच्ची भवनको ठाउँमा पक्की भवन बनाउने, विकास पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापनाका लागि तत्कालीन जिविसले उपलव्ध गराएको एक लाखबाट अक्षय कोष स्थापनाका लागि विद्यान तयार पारेर काम गर्ने लगायतका निर्णय पारित गरेको छ ।
कार्यक्रममा नेकपाका नेकपा (दाहाल–नेपाल) का जिल्ला अध्यक्ष देवान किराती, नेकपाका नेकपा (ओली) का कार्यालय सदस्य चर्च विश्वकर्मा, नेपाली कांग्रेसका जिल्ला सदस्य सुमनबाबु आचार्य, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापा, राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया, नेपाल पत्रकार महासंघका पाँचथर शाखा अध्यक्ष लवदेव ढुंगाना, उदयपुर शाखा अध्यक्ष भरत खड्का, वानका केन्द्रीय सदस्य रेणु पराजुली, गैरसरकारी संस्था महासंघका अध्यक्ष दानबहादुर राई, उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राई, सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।