खोटाङ । निर्माण व्यवसायीले आगामी फागुन १० गतेभित्र खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी रामकुमार थापाले आगामी फागुन १० गतेभित्र पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका हुन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास साहको अगाडि निर्माण व्यवसायी थापाले बिम र स्ल्याव ढलानका लागि समय तोकेरै प्रतिवद्धता जनाएका हुन् ।
गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्वन्धित डिई साह र निर्माण व्यवसायी थापालाई काठ्माण्डौंमा माघ २६ गते एक ठाउँमा भेला गरेका थिए ।
गाउँपालिका अध्यक्ष राईकै कारण पुलसँग सम्वधित डिई र निर्माण व्यवसायीबिचमा झन्डै १० महिना पछि भेट हुन पुगेको बताइएको छ । छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र बिम र स्ल्याव ढलान गर्ने, वर्षा याम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको अध्यक्ष राईले बताए ।
पुल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउनका लागि दवाव सिर्जना गर्ने प्रयास स्वरुप गत माघ २४ गते स्थलगत निरिक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठ्माण्डौं पुगेका थिए । फागुन १० गतेभित्र पुलको बिम र स्ल्याव ढलान गर्ने प्रतिवद्धता पूरा हुनेमा भने आशंका गर्न थालिएको छ ।
दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पुर्वीशहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए ।
पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भए लगत्तै निर्माण व्यवसायी थापा बुधबार फोक्सिङटार पुगेका छन् । पुल निर्माणको काममा आगामी दिनमा पनि निरन्तर दबाब र निगरानी राख्ने गाउँपालिका अध्यक्ष राईले बताए । ‘खोटाङ पछि परेको होईन, पारिएको हो ।
निर्माण व्यवसायीले फागुन १० गतेभित्र बिम र स्ल्याव ढलान गर्ने, वर्षामा बेलिब्रिज निकालिँदा पनि तुईन लगाएर पुलको कामलाई निरन्तरता दिने प्रतिवतद्धा जनाउनु भएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘पुलको कामलाई तिव्र गतिमा सञ्चालन गर्ने सहमती अनुसार निर्माण व्यवसायी फोक्सिङटार पुगेको खबर छ ।
निरन्तर दबाब र निगरानी राख्ने छौँ । फेरी पनि भन्छु, हामी खोटाङ्गेको सुख र खुखी खोस्ने अधिकार कसैलाई छैन ।’ करिब १९ करोड ६० लाखमा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यान्तै सुस्त छ । खोटाङलाई पुर्वी शहरसँग जोड्ने पुलको पहिलोपल्ट थप भएको म्याद पुस १३ गते नै सकिइसकेको छ ।