काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दा झेलिरहेका चार पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतमा सोमवार (आज) लिखित जवाफ पेश गरेका छन् ।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशिला कार्की र अनुपराज शर्माले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । पूर्वप्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ र कार्कीले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका छन् भने शर्माले छुट्टै जवाफ पेश गरेको बताइएको छ ।
अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध उनीहरुबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
चार पूर्व प्रधानन्यायाधीशहरुले गत पुस २४ गते संसद विघटनविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेका थिए । उक्त विज्ञप्तिमार्फत पूर्व प्रधानन्यायाधीशहरुले आ-आफ्नो धारणा राखेका थिए ।
त्यस्तै आफूहरुले संसद विघटनविरुद्धको विज्ञप्तिको प्रतिवद्धता कायम नै रहेको भन्दै उक्त मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् ।