दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु 

दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु 

रोदिक खबर

३, फाल्गुण २०७७
  • 3.2K
    SHARES
  • दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु 

    खोटाङ । खोटाङ–काठ्माण्डौं पर्यटक बस उद्घाटन गरिएको छ । त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई लक्षित गर्दै देश दर्शन बस सेवाले दिक्तेल–हलेसी–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो ।

    दिक्तेलको होटल शुभदिन अगाडि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काट्दै दिक्तेल–काठ्माण्डौं पर्यटक बस सेवा उद्घाटन गरेका हुन् ।

    धार्मिक तथा पर्यटकीयस्थल हलेसीसँगको ‘कनेक्टिभिटी’ स्थापित गर्दै जिल्लाको पर्यटन प्र्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ पर्यटक बस सुरु गरिएको हो । उद्घाटन लगत्तै होटल शुभदिनदेखि रत्नपार्क (किरातचोक) सम्म अतिथिलाई यात्रा गराइएको थियो । 
    पर्यटक बस दिक्तेलबाट दैनिक बिहान ७ बजे र हलेसीबाट ९ बजे छुट्ने छन् । यस्तै, काठ्माण्डौंको सोर्‍हखुट्टे (नयाँबजार), चावहिल र कोटेश्वरबाट दैनिक विहान ७ बजे खोटाङका लागि पर्यटक बस छुट्ने देश दर्शन बस सेवाका अध्यक्ष सिएन पाण्डेले बताए ।

    देश दर्शन बस सेवाले १० औं गन्तव्य स्थानका रुपमा दिक्तेल–काठ्माण्डौं पर्यटक बस सेवा सुरु गरेको हो । ३० सिटको बस निर्धारित समयमा छुट्ने र निर्धारित समयमा गन्तव्यमा पुग्ने पाण्डेले बताए । 

    तालिम प्राप्त चालक र सह–चालक, आरामदायी सिट, एसी लगायतका सेवा सहितको बस आकस्मिक काममा बाहेक बिच बाटोमा नरोकिने जनाइएको छ । हलेसीमा केही समयपछि हेलीकोप्टर चार्टर सेवा समेत उपलव्ध गराउने लक्ष्य राखेको देश दर्शन बस सेवाले जनाएको छ ।

    ‘हामीले सेवा दिन थालेको यो दशौं गन्तव्य हो । यसबाट जिल्लाको पर्यटकीय स्थल पुग्ने कनेक्टिभिटी स्थापना गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ,’ पाण्डेले भने, ‘सम्पदा र उत्पादनबिचमा पनि कनेक्टीभिटी कायम हुन्छ ।

    स्थानीयको आयआर्जनमा टेवा पुग्ने छ ।’ देश दर्शन बस सेवाले हलेसी घुमफिरका लागि प्याकेज सेवा समेत उपलव्ध गराउने जनाएको छ । 

    पर्यटक बस उद्घाटनकाक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ लगायतले शुभकामना दिएका थिए । पर्यटक बस सेवाले निरन्तरता पाउने विषयमा भने आशंका गरिएको छ । 

    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २२:००:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको