बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा स्थानीय १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका छन् । ‘वाइ विट्नेस’, घटना हुँदाको समयमा दिनेशको लोकेसन र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिनेशले प्रहरीसँगको बयानमा हत्या अभियोग स्वीकारे पनि बलात्कार नगरेको बताएका छन् ।
धकेलेर तल खसालेपछि हत्या गरेको तर बलात्कार नगरेको बयान दिनेशले दिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । ‘आरोपीले प्रारम्भिक बयानका क्रममा पाइन्ट घुँडासम्म खोलें तर त्यत्तिकै छाडें भनेर बयान दिएका छन्,’ डीआईजी सुवेदीले भने । तर जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमको रिपोर्टमा भने बलात्कारपछि हत्या भएको देखिएको थियो ।
के भएको थियो घटनाको दिन ?
भागरथीको हत्या भएको दिनको घटनाक्रमबारे आरोपी दिनेश भट्टसँगको बयानको प्रारम्भिक तथ्य प्रहरीले बाहिर ल्याएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएअनुसार भागरथीको शव लबलेक जंगलमा बाटोभन्दा ३० मिटर तल फेला परेको थियो ।
प्रहरीले मुचुल्का उठाउँदा टाउको चोट, घाँटीमा दबाएको चोट, खुट्टाको औँलामा निलडाम, योनीमा रगत देखिएको थियो । बिहान १० बजे भागरथी अध्ययनका लागि सनातन धर्म मावि पुगेको देखिएको छ ।
आरोपी दिनेश भट्ट पनि सो दिन विद्यालय गएका थिए । दिनेश अन्तिम क्लास नलिई विद्यालयबाट बाहिरिएको देखिएको छ । उनी भागरथीभन्दा पहिले नै विद्यालयबाट बाहिरिएका थिए । घर फर्किने क्रममा सिल्ला गाउँमा भागरथीसँग भेट भएको दिनेशले प्रहरीलाई बताएका छन् ।
प्रहरीका अनुसार घटनास्थलमा उनी भागरथीभन्दा अगाडि गएका थिए । उनी भागरथी आउने प्रतिक्षामा बसेका थिए । उनी आएपछि दिनेशले बाटोबाट तल धकेले । भागरथी लडेपछि दुई हातले घाँटी थिचेर हत्या गरेको दिनेशले बयान दिएका छन् । त्यसलगत्तै भागरथीको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेको र सडकको बायाँ हुँदै आफ्नो घर गएको दिनेशले प्रहरीलाई बताएका छन् ।
भागरथी भट्टको हत्या आरोपीलाई ३ वटा प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले चारैतर्फको दबाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए ।
‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’ प्रहरीले अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताएको छ ।
‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने । निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ । ‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’
भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टविरुद्ध भागरथीका दाजु केशव भट्टले किटानी जाहेरी दिएका छन् । केशवले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
आरोपीलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमा राखिएको छ । दिनेशविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दा चलाइने प्रहरीले जनाएको छ । भागरथीका दाजु केशवले अपराधीलाई हदैसम्मको कारवाही भएको हेर्न चाहेको बताएका छन् ।