विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति ८ बजे ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी उनको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।
विराटनगर –१५ मिल्स एरिया घर भएपनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।
‘सुरुमा श्वासप्रश्वासमा समस्या भयो भनेर ल्याइएका कारण आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो,’ उनले भने, ‘रिपोर्ट पोजेटिभ आउन साथ शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइकन महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् ।