खोटाङ । सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन् । दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा दुर्घट्ना हुँदा चालक गम्भीर घाईते भएका हुन् ।
घट्नास्थलबाट उद्धार गरिएका चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
दुर्घटनाग्रस्त बोलेरो जीपबाट उद्धार गरिएका घाईते चालकको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि एम्बूलेन्समार्फत काठ्माण्डौं पठाउने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक चिमरियाले बताए । हलेसीभन्दा केहीमाथिको टर्निङबाट जीप करिब ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसैबीच, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बार्लाङमा प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । प्रहरीचौकी याम्खाबाट खटिएको प्रहरीको गस्तीले बार्लाङको जंगलमा लुकाएर राखेको एक थान भरुवा बन्दुक फेला पारेको हो । अवैध चोरी सिकार गर्नेले प्रहरीलाई देखेपछि बन्दुक लुकाएको हुनसक्ने अनुमान गरिएको प्रनाउ चिमरियाले बताए ।