खोटाङ । मेलमिलापकर्ता उत्पादनका लागि खोटाङको रावाबेँसी गाउँपालिकामा सम्वन्धी तालिम सञ्चालन गरिएको छ । हरेक वडामा मेलमिलापकर्ता उत्पादन गर्दै स्थानीय स्तरमा न्यायीक प्रणालीलाई सहज र सहज बनाउने लक्ष्यका साथ रावाबेँसी गाउँपालिका र मानव अधिकार मञ्च नेपाल ईलामको सहजीकरणमा ८ दिवसिय तालिम आयोजना गरिएको हो ।
प्रत्येक वडामा मेलमिलापकर्ता उत्पादन गर्ने तथा स्थानीय न्यायीक प्रणालीलाई सरल र सहज बनाउँदै न्यायमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक समला राईले बताईन् ।
मेलमिलाप तालिममा मेलमिलाप परिषदबाट स्वीकृत पाठ्यक्रम विवाद, मेलमिलाप, मेलमिलाप सम्बन्धी कानुनी प्रावधान लगायतका विषयमा छलफल गरिएको छ । बुधबार समापन गरिएको ४८ घण्टे तालिममा रावाबेँसी गाउँपालिकाका ६ वटै वडा र न्यायिक समितिका गरी २२ जनाको सहभागीता रहेको थियो ।
मानव अधिकार मञ्च नेपालका सहजकर्ता मनकुमार बराईली र अर्पण मगरले तालिममा सहजीकरण गरेका थिए । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, न्यायिक कार्यविधि ऐन, मेलमिलाप सम्बन्धी कानुनमा हरेक स्थानीय तहमा न्यायिक समितिले सुचीकृत मेलमिलापकर्ता मार्फत विवाद व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ ।
तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एबं न्यायिक समितिका संयोजक राईले तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई सूचीकृत गर्ने, वडा स्तरिय मेलमिलाप केन्द्र स्थापना गर्ने, समुदाय सचेतनाका लागि सार्वजनिक स्थानमा मेलमिलाप सम्बन्धी होर्डिङ बोर्ड राख्ने, जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गर्ने, मेलमिलाप कार्यविधि पास गरि कार्यान्वयन गर्ने लगायतका योजनाका बारेमा जानकारी दिएकी छन् ।