• ट्रेण्डिङ:

दिक्तेल नगरपालिकाद्वारा विद्यार्थीलाई दिवा खाजा, टिफिन क्यारी र सेनिटरी प्याड वितरण शुरू

दिक्तेल नगरपालिकाद्वारा विद्यार्थीलाई दिवा खाजा, टिफिन क्यारी र सेनिटरी प्याड वितरण शुरू

रोदिक खबर

२६, फाल्गुण २०७७
  • 4.3K
    SHARES
  • दिक्तेल  नगरपालिकाद्वारा  विद्यार्थीलाई दिवा खाजा, टिफिन क्यारी र सेनिटरी प्याड वितरण शुरू

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका विद्यालयमा दिवा खाजा, टिफिन क्यारी तथा स्यानिटरी प्याड वितरण शुभारम्भ गरेको छ ।

    नेपाल सरकारको घोषित कार्यक्रम अन्तरगत नगरपालिकाभित्र सञ्चालित ९३ विद्यालयका पाँच हजार ४७८ विद्यार्थीका लागि दिवा खाजा, टिफिन क्यारी कार्यक्रम लागू गरेको छ भने ३५ विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

    १५ वडा रहेको उक्त नगरपालिकाको वडा नं.– ६ नेर्पास्थित कालिका माविमा बुधबार औपचारिक कार्यक्रम गरेर उक्त तीन वटै कार्यक्रम एकैसाथ लागू गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न संघीय सरकारबाट आर्थिक वर्ष २०७७/२०७८ मा प्राप्त भएको रकममध्ये करीब  १६ लाख बराबरको रकमबाट सेनिटरी प्याड खरिद गरेर ६५ हजार प्याकेट ल्याइएको नगरपालिकाले जनाएको छ ।

    छात्राहरुलाई रजश्वाला (महिनावारी) भएको समयमा पनि नियमित विद्यालय गएर पढाइमा निरन्तरता दिउन भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरिएको नगर उपप्रमुख विणादेवी राईले बताइन् ।

    यस नगरपालिकमा १४ निमावि र २१ वटा माध्यमिक विद्यायलका तीन हजार ३१० जना छात्रालाई सेनिटरी प्याड वितरण गरिने जनाइएको छ । यता, दिवा खाजा कार्यक्रमका लागि ९२ लाख छुट्टिएकोमा मङ्सिर र पुसको लागि  २५ लाख ५० हजार निकासी गरेर पाँच हजार ४७८ जना विद्यार्थीलाई वितरण गर्ने तयारी गरिएको शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताए । नियमित विद्यालय पठाउने उद्देश्यकासाथ यो तीनवटै कार्यक्रम लागू गरिएको नगरपालिकाले जनाएको छ ।

    विद्यालयमा टिफिन क्यारी र दिवा खाजा कार्यक्रमको व्यवस्था गर्दा विद्यार्थीको मनोबलसमेत उच्च हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । दिवा खाजा कार्यक्रम बापतको रकम प्रति व्यक्ति दैनिक १५ को दरले विद्यार्थीको अभिभावकलाई वितरण गरिने जनाइएको छ ।

    विद्यालय उपस्थित भएर अनिवार्य हाजिरी भएका विद्यार्थीलाई मात्र दिवा खाजा कार्यक्रमको रकम प्रदान गरिने नगरप्रमुख रिजालले बताए । कालिका माविका छात्राहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजाल, उपप्रमुख राईले सेनिटरी प्याड वितरण गरेका थिए । 

    कालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा मनिषा दाहलले विद्यालयमै सेनिटरी प्याड पाउँदा खुशी व्यक्त गरिन् । छात्रा दाहालका अनुसार सेनिटरी प्याड अभावमा क्लासमा बस्न असहज हुने, विद्यालय छोड्नुपर्ने र नआउनुपर्ने समस्या सधैको लागि हटेको छ ।

    दिवा खाजा बापतको रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई एकमुष्ट प्रदान गरिएको नगरपालिकाले जनाएको छ । दिवा खाजा, टिफिन क्यारी र सेनिटरी प्याड वितरण कार्यक्रमले विद्यार्थीहरु समेत उत्साहित भएको जनाइएको छ ।

    जिल्लामा कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम बापतको रकम प्रदान गर्ने गरिएको छ । सेनिटरी प्याड भने कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रालाई प्रदान गर्ने गरिएको जनाइएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक सरोज कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक गोविन्द साह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का वडाध्यक्ष माधव राई, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

    प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - २१:३६:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको