बिहिवार, कार्तिक १३ गते २०८३

काम सुरु नहुँदै खानेपानी आयोजनामा विवाद 

काम सुरु नहुँदै खानेपानी आयोजनामा विवाद 

रोदिक खबर

८, चैत्र २०७७
  • 4.0K
    SHARES
  • काम सुरु नहुँदै खानेपानी आयोजनामा विवाद 

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा खानेपानी आयोजनाको काम सुरु नहुँदै विवाद चुलिएको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि सुरु गर्न लागिएको माथिल्लो खानेपानी योजना विवादमा फसेको हो ।

    वडाध्यक्ष सन्तबीर तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयले विरोध सुरु गरेपछि आयोजनाको काम अलमलमा परेको छ । 


    बाकाचोल सहित ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क र ऐसेलुखर्क गाउँपालिका–७ माक्पासम्म खानेपानी विस्तारका लागि डिपिआर तयार पारिएको खानेपानी आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत चालु आर्थिक वर्ष ५० लाख बजेट प्राप्त भएको छ ।

    तर, वडाध्यक्ष तामाङले समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरिएको भन्दै असन्तुष्ट स्थानीयले चैत ४ गते वडा कार्यालयमा ताला लगाएका छन् । वडा कार्यालयमा लागेको ताला अझै खुलाइएको छैन ।

    वडा कार्यालयमा ताला लागिरहेकै समयमा शनिबार काठ्माण्डौंमा बसिरहेका बाकाचोलबासीले मित्रलाल पुरीको संयोजकत्वमा गत असार २० गते गठन गरिएको संघर्ष समितिलाई हेरफेर तथा विस्तार गरेको छ ।

    बिरोध तथा चरणवद्ध आन्दोलनका लागि गठित १७ सदस्यीय संघर्ष समितिले खानेपानी मन्त्रालय, संघीय संसद, प्रदेश संसद र जिल्ला समन्वय समितिलाई ज्ञापन–पत्र बुझाउने निर्णय गरेको बाकाचोल बहुउद्धेश्यीय सहकारी संस्थाका सचिव तुलसीराम पुरीले बताए । 

    स्थानीय जनतासँग समन्वय नगरी तथा आयोजनाबाट पर्ने तत्कालिन तथा दिर्घकालीन असरलाई बेवास्ता गर्दै आयोजनाको काम अगाडि बढाइएको संघर्ष समितिको ठहर छ । बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा चार करोडको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत आयोजनालाई अशर पर्ने उनीहरुको दावी छ ।

    यस्तै, साविकको बाकाचोल–२ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालिन अशर पर्ने, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा सञ्चालित लघुजलविद्युत योजना र सिँचाईमा प्रत्यक्ष अशर पर्ने असन्तुष्ट पक्षको दावी छ । 

    ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाको पहलमा माथिल्लो खानेपानी योजनाको काम अघि बढाइएको हो । तर विवादको हल नभए करौडौं लागतको माथिल्लो खानेपानी योजना नै गुमाउनु पर्ने अवस्था निम्तिने देखिएको छ । सोलुखुम्बुमा पर्ने दियाले खोला र बिस्खाम खोलामध्ये बिस्खाम खोलाको पानी विस्तारका लागि डिपिआर गरिएको थियो ।

    डिपिआर गर्दा स्थानीयसँग समन्वय नगरे पनि बजेट परेपछि समन्वय गर्नेगरी रमेश राजभण्डारीको संयोजकत्वमा पालिकास्तरिय समन्वय गठन गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    ‘बजेट परेपछि उपभोक्तासँग समन्वय गर्ने भनेर डिपिआरको काम गरियो । बजेट परेपछि समन्वय समिति गठन गरिएको छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘सहमती भए योजनाको काम अघि बढाउने, नभए बिकल्पको खोजी गर्ने लक्ष्य हो । तर पानी बेच्यो भनेर भाषण गर्नु उचित होईन ।’ 

    वडा कार्यालयमा लफडै लफडा 

    वडा कार्यालय बाकाचोलमा तेश्रो पटक चैत ४ गते ताला लगाइएको हो । वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ साल जेठ २८ गते र २०७६ साल पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो ।

    वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष तामाङले आफुखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

    यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै २०७६ साल पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाएका थिए । 

    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १३:१०:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको