काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञाको दोस्रो हप्ता बिहीबारदेखि सुरु भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणमा लिनका लागि सावधानिकको प्रयास स्वरुप सुरुमा एक हप्ताका लागि लागु गरिएको निषेधाज्ञाको समय बुधबार राति सकिनुअघि नै तीनै जिल्लामा थप एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय प्रशासनले गरेको थियो । अब भदौ १७ गतेसम्म निषेधाज्ञा लागु रहने छ ।
निषेधाज्ञा थप कडाईका साथ लागु गर्ने प्रशासनले जनाएको छ । निषेधाज्ञा थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेका छन् ।नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।
त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ । त्यस्तै अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ ।
तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरणको काम भएको छैन। उपत्यका बाहिर जाने सवारी साधन भने खासै छैनन् । भक्तपुर तर्फको साँगा नाकामा पनि प्रहरीले कडाई गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी साधन कम छन् । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।