खोटाङ । न्यायिक प्रकृयामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ । गाउँ–गाउँ र जनजनसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालतले शुक्रबार दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो ।
अदालतको न्यायिक प्रकृयाका बारेमा जनतालाई सुसूचित गर्दै जनता र अदालतबिचको दुरी कम गर्ने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादवले बताए ।
पञ्च माविमा कानून विषय अध्ययनरत विद्यार्थी, अभिभावक लगायतलाई सहभागी गराएर समुदायमा अदालत कार्यक्रम गरिएको हो । कार्यक्रममा अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहका प्रकृया एबं अदालतप्रति समुदायको जिज्ञासाका बारेमा छलफल गरिएको थियो ।
न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पुर्याएर न्यायिक प्रकृयालाई प्रभावकारी बनाउनका लागि समुदायमा अदालत कार्यक्रम आयोजना गरिएको श्रेष्तेदार यादवले वताए ।
‘न्यायप्रतिको नागरिकको गुनासो सुन्ने, जनताको न्यायमा पहुँच पुर्याउने र न्यायलाई पारदर्शी बनाउने लक्ष्यका साथ समुदायमा अदालत कार्यक्रम गरिएको हो,’ श्रेष्तेदार यादवले भने, ‘बिचौलिया नियन्त्रण गर्ने, न्याय सम्पादनका बारेमा समाजको धारणा बुझ्ने, जनता र अदालतबिचको ग्याप पूर्ति गर्ने, न्यायप्रति आस्था र विश्वास बढाउने हाम्रो लक्ष्य हो ।’
कार्यक्रममा जिल्ला अदालतबाट सम्पादन भएका सेवा, मुद्धा तथा रिटको फस्र्यौट एबं बाँकी विवरण, मेलमिलाप लगायतका बारेमा जानकारी दिइएको छ ।

न्याय प्रणाली सम्वन्धी जानकारी विद्यार्थीमार्फत अभिभावकसम्म पुर्याउने लक्ष्यका साथ अदालतले छात्र/छात्रालाई प्राथमिकतामा राखेर समुदायमा अदालत कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा श्रेष्तेदार यादव र जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता रमेश भट्टराईको प्रस्तुतीमाथि छलफल गरिएको थियो ।
अदालतको रणनीतिक योजना अनुसार समुदायमा अदालत कार्यक्रम गरिएको हो । क्रमशः जिल्लाका अन्य स्थानमा समुदायमा अदालत कार्यक्रम सञ्चालनको तयारी भइरहेको जिल्ला अदालतका न्यायधीश मातृकाप्रसाद आचार्यले बताए ।
प्रदेश नम्बर १ का सामुदायिक विद्यालयमध्ये पञ्च माविले पहिलोपल्ट कानून विषयको पठन–पाठन सुरु गरेको आधारमा अदालतले सोही विद्यालयमा समुदायमा अदालत कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, नेपाल बार एसोसिएसनका प्रतिनिधि कुवेरकाजी राई, वैतानिक वकिल देबराज थुलुङ, पञ्च माविका प्रअ भवकृष्ण ढकाल, अधिवक्ता ओमप्रकाश घिमिरे लगायतले बोलेका थिए ।