शुक्रवार, भाद्र २६ गते २०८३

दैलेखमा चितुवा र रेडपाण्डाको छालासहित आठ जना पक्राउ

दैलेखमा चितुवा र रेडपाण्डाको छालासहित आठ जना पक्राउ

रोदिक खबर

१४, चैत्र २०७७
  • 2.1K
    SHARES
  • दैलेखमा चितुवा र रेडपाण्डाको छालासहित आठ जना पक्राउ

    दैलेख । प्रहरीले दैलेखमा  चितुवा  र रेडपाण्डाको छालासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई शनिबार विहान ३ बजेतिर नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसार–पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा दैलेखको नारायण नगरपालिका वडा नं. ३ खुर्सानीबारी पिपल चौतारा नजिकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राति पक्राउ गरेको दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

    दैलेखको नौमुले गाउँपालिका–२ बाट दैलेख बजार आउँदै गरेको ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपलाई चेक चाज गर्दा वन्यजन्तुको छाला बरामद गरी पक्राउ परेका आठ जनालाई डिभिजन वन कार्यालय दैलेखमा बुझाइएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा नौमुले गाउँपालिका– ३ नाउँले बस्ने बर्ष ५१ को धन बहादुर मगर, वडा नं.–१ लेली बस्ने बर्ष ३३ को कबिराम अधिकारी, वडा नं.– ४ बस्ने बर्ष १९ को गाडीको चालक रोशन बस्नेत, वडा नं.– २ बस्ने डिल बहादुर पुरीको छोरा बर्ष ३३ को धन बहादुर पुरी, वडा नं.– ३ बस्ने बर्ष २२ को दल बहादुर खत्री, २ मै बस्ने बर्ष ४५ को हस्त बहादुर थापा रहेका छन् ।

    यस्तै भगवतीमाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को गोबिन्द थाप र २ नम्बर वडामा बस्ने बर्ष ५६ को धन बहादुर रावतलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट ३ फिट ३ इन्च लम्बाई ११ ईन्च चौडाई भएको रातो कालो रङको रेडपाण्डाको जस्तो देखिने जनावरको छाला, ५ फिट ९ इन्च लम्बाई, १ फिट ५ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाइ १ फिट ६ इन्च गोलाई भएको छाला र ३ फिट १ इन्च गोलाई भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला बरामद गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १५:१७:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको