• ट्रेण्डिङ:

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 

रोदिक खबर

१४, चैत्र २०७७
  • 5.4K
    SHARES
  • प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला 

    खोटाङ । खानेपानी योजनामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले खोटाङको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

    साकेला गाउँपालिका–३ खिदिमा मुहान भएको सौरे घट्टेखोला खानेपानी योजनाको पारदर्शीतामाथि प्रश्न उठाउँदै कांग्रेस क्षेत्रीय सभापति तीर्थराज भट्टराई नेतृत्वको टोलीले शुक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत रविन मगरको कार्यकक्षमा ताला लगाएका हुन् ।

    साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित हुपापु र नौलाखर्कका उपभोक्ताका लागि सञ्चालन गरिएको खानेपानी योजनामा पारदर्शीता कायम नभएको पाइएकाले दिउँसो २.१० बजेदेखि २.४० बजेसम्म ताला लगाइएको कांग्रेस क्षेत्रीय सभापति भट्टराईले बताए । कार्यकक्षमा ताला लगाउनेक्रममा प्रमुख प्रशासकीय अधिकृत मगर भने कार्यालयमा थिएनन् । 

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको ७६ लाख १६ हजार ८५६ मध्ये ६६ लाख ३४ हजार १८३ रुपैयाँ निकासा भएको योजनामा लाखौं भ्रष्टाचार भएको ताला छेउमा टाँसिएको विज्ञाप्तिमा उल्लेख छ ।

    अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीलाई स्मरण–पत्र बुझाउँदा समेत बेवास्ता गरिएकाले पहिलो चरणको आन्दोलन स्वरुप प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आधा घण्टा तालाबन्दी गरेर सांकेतिक विरोध सुरु गरिएको सभापति भट्टराईले बताए । 

    योजना सञ्चालनका लागि ७५ एमएम र ६३ एमएमको ९ हजार ७९ मिटर पाइप प्रयोग हुने स्टिमेट भएपनि ३ हजार ७७० मिटर मात्र प्रयोग भएको र बाँकी ५ हजार ३०९ मिटर पाइप बेपत्ता बनाइएको कांग्रेसको आरोप छ । कांग्रेसले १५ दिनभित्र सम्वन्धित निकायबाट छानविन गरी भ्रष्टाचारीलाई कारबाही र क्षतिपूर्ति समेत असुल उपर गर्न माग गरेको छ ।

    कांग्रेसले वडा कार्यालय मात्तिम मानेभञ्ज्याङलाई जानकारी नदिई मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको, योजना सञ्चालन सुरु गर्दा र फरफराक गर्दा वडा कार्यालयको सिफारिस नलिइएको, सार्वजनिक सुनुवाई नगरिएको, आयोजनासँग सम्वन्धित होर्डिङ बोर्ड नराखेको, अनुगमन समितिको सिफारिस बिनै बजेट निकासा गरी मिलेमतो गरेर फरफारक गरेको भन्दै छानविन गर्न माग गरेको छ ।

    गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का संयोजकत्वको अनुगमन समितिले गत माघ २३ गते गाउँपालिका समक्ष बुझाएको प्रतिबेदनमा पनि गलत प्रकृया अपनाएर योजनाको काम गरिएको उल्लेख छ ।

    पाँच पृष्ठ लामो प्रतिबेदनमा आयोजना सञ्चालनका क्रममा ७ बुँदे कमजोरी भएको र ५ बुँदे सुझाव समेटिएको छ । यद्यपि सो प्रतिवेदनमा आर्थिक अनियमितता भएको बुँदा भने उल्लेख छैन । 

    साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले भने राजनैतिक ‘इस्यू’ का लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको प्रतिक्रिया दिएका छन् । ‘यो गाउँपालिकाको बजेट होईन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको बजेट हो ।

    उपभोक्ता समिति गठन गर्ने, सम्झौता गर्ने र फरफारक गर्ने उसकै काम हो । हामीले प्राविधिक मूल्यांकनको आधारमा फस्र्यौट गरिदिन भनेर सिफारिस दिएका हौँ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘यो योजना गाउँपालिकासँग टच नै छैन ।

    काम गर्नेक्रममा सम्वन्धित कार्यालय प्रकृयामा चुकेको देखिन्छ तर बदनियतपूर्ण तरिकाले गाउँपालिकामा ताला हाल्ने काम भएको छ । यसमा राजनीति घुसेको छ । ताला हाल्नु राम्रो होईन ।’ 

    चालु आर्थिक वर्ष सोही योजनाका लागि थप ३९ लाख १७ हजार ३६८ बजेट प्राप्त भएको छ । क्रमागत योजना भएकाले खानेपानी आयोजनाको बाँकी काम सोही बजेटबाट पुरा गरिने जनाइएको छ ।

    स्थानीयले खानेपानी आयोजनामा पारदर्शीताको प्रश्न उठाएपछि तत्कालीन निर्माण उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष बिक्रम चौंलागाईको ठाउँमा भीमबहादुर खड्कालाई राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

    यस विषयमा प्रतिक्रिया लिनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनलाई सम्पर्क गर्दा फोन उठेन । 

    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १७:५७:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको