शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

४ मेगावाटको तल्लो मध्य रावाखोलाको काम सुरु 

४ मेगावाटको तल्लो मध्य रावाखोलाको काम सुरु 

रोदिक खबर

२४, चैत्र २०७७
  • 2.5K
    SHARES
  • ४ मेगावाटको तल्लो मध्य रावाखोलाको काम सुरु 

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका र स्थानीयको शेयर लगानीमा जलविद्युत आयोजनाको काम सुरु भएको छ । स्थानीय सरकार र विशेषगरी गैर–आवासिय नेपालीको लगानीमा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा ४ मेगावाट क्षमताको तल्लो मध्य रावाखोला जलविद्युत आयोजनाको काम सुरु गरिएको हो ।

    करिव ८० करोड लागतमा आगामी दुई वर्षभित्र सम्पन्न हुने आयोजना आइतबार ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले शिलान्यास गरेका छन् ।

    रावाखोलाको नोक्सेमा ईन्टेक बनाएर पेनस्टक पाईपबाट ४ किलोमिटर पर पानी लगेर १४० मिटर तल पिपिचाफेदीमा राखिने टरबाईनमा खसाएर विद्युत उत्पादन गर्ने लक्ष्य छ । उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिने तल्लो मध्य रावाखोला जलविद्युत उत्पादन प्रालिले जनाएको छ । 

    गैर–आवासिय नेपालीको लगानीमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात २ करोड ५० लाख शेयर लगानी गर्ने सम्झौता छ ।

    २०७६ साल कात्तिक ३ गते गाउँपालिका अध्यक्ष निरौला र तल्लो मध्य रावाखोला जलविद्युत उत्पादन प्रालिका अध्यक्ष घिमिरेबीचमा शेयर लगानी सम्वन्धी सम्झौता भएको थियो ।

    तल्लो मध्य रावाखोला जलविद्युत उत्पादन प्रालिले शेयर लगानी गरेर अपनत्व ग्रहण गर्नका लागि आग्रह गरेकाले गाउँपालिकाले क्रमागत शेयर लगानी गरेको अध्यक्ष निरौलाले बताए । जलविद्युत आयोजनाका लागि आर्थिक वर्ष २०७७÷०७८ मा ५० लाख विनियोजन गरेको छ । 

    तल्लो मध्य रावाखोला जलविद्युत आयोजना शिलान्यास कार्यक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - १६:४८:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको