खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसीको शिवलिंगलाई चाँदीको आवरणले ढाकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको साँढे २२ लाखको बजेटमा शिवलिंगलाई २३ केजी चाँदीको आवरणले ढाकिएको हो । प्राकृतिक रुपमा बनेको शिवलिंगको संरक्षणका लागि चाँदीको आवरण बनाएर ढाकिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।
रामनवमीको अवशरमा प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले शिवलिंगलाई चाँदीको चतुर्भुज आकारको आवरणले ढाकेकी हुन् । पूजाआजाका क्रममा दर्शनार्थीले अर्घ र जल चढाउनेक्रममा प्राकृतिक शिवलिंग खिउने वा कमजोर हुने भएकाले शिवलिंगकै आकारको चाँढीको आवरणले ढाकिएको कार्यकारी निर्देशक भुजेलले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ विनियोजित पूँजीगत बजेटबाट हलेसीको शिवलिंगलाई चाँदीको आवरणले ढाकिएको हो । रामनवमीको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया लगायतको उपस्थितिमा शिवलिंगलाई चाँदीको आवरणले ढाकिएको हो ।
किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको त्रिधार्मिकस्थल मानिने हलेसी दर्शन बाहेक चट्टानले बनेका अलौलिक प्राकृतिक गुफा तथा आकृति अवलोकनका लागि प्रसिद्ध छ । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको आधारमा त्रिधार्मिकस्थल मानिएको हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीहरुले ४/५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।
किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे र हिन्दुधर्म गुरु शंकराचार्यको आगमन भइसकेको भनिएको हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तिज, बैशाखे पूर्णिमा, बोलबम लगायतका चाडपर्वमा दर्शनार्थीको बाक्लो घुईचो लाग्ने गरेको छ ।
हलेसीमा दर्शन एबं भ्रमणका लागि नेपाल बाहेक भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । कतिपय दर्शनार्थी हेलीकोप्टरबाट हलेसी आउने गरेका छन् ।